मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार १६:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरभणेबीच भेट : पारस्परिक समानता र सम्मानका आधारमा दुई देशको सम्बन्ध अगाडि बढ्नुपर्ने प्रमको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार १६:५९:००

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाली सेनाको मानार्थ महारथी सम्मान पाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका नरभणेले आज प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् । 

भेटमा दुवै देशका सेनाप्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गरिँदै आएको परम्पराले दुई देशको विशिष्ट सम्बन्धको उदाहरण प्रस्तुत गर्ने प्रधानमन्त्री ओलीले बताए । 

हरेक हिसाबले नेपाल–भारत नजिकका छिमेकी भएको स्मरण गर्दै ओलीले दुई देशको सम्बन्ध सुमधुर होस् भन्ने चाहना आफ्नो रहेको बताएका थिए । 

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले पारस्परिक समानता र पारस्परिक सम्मानका आधारमा दुई देशको सम्बन्ध अगाडि बढ्नुपर्ने पनि बताएको जानकारी दिए । 

दुवै देशबीच सीमालगायत अन्य कतिपय विषयमा समस्या भए पनि वार्ताको माध्यमबाट ती समस्या हल गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए । 

वार्ता र संवादको माध्यमबाट विगतदेखि रहेका समस्या समाधान गर्दै सम्बन्धलाई समयानुसार अगाडि लिएर जानुपर्ने ओलीले बताएको भट्टराईले जानकारी दिए । 

भारतीय सेनाप्रमुख नरभणेले नेपाल–भारत सम्बन्धमा राम्रो हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेको कुरा बोकेर भारत फर्किन लागेको बताए । 

डा. भट्टराईका अनुसार नरभणेले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको शिष्टाचार भेटमा दुवै देशका सेनाबीच एक–आपसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी पनि प्रधानमन्त्रीलाई दिएका थिए । 

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बढेको सीमा–विवाद समाधानका लागि यस्ता औपचारिक भेटवार्ताहरूले सहयोग पुग्ने डा. भट्टराईले बताए । 

विगत एक वर्षदेखि बढ्दै गएको दुई देशबीचको सीमा समस्या समाधानका लागि पटक–पटक वार्ताको प्रस्ताव गर्दा पनि सफल हुन नसकेको सन्दर्भमा नियमित कुराहरूलाई निरन्तरता दिन सके सीमा समस्या समाधानका लागि औपचारिक वातावरण बनाउँदै समस्या समाधान हुने मान्यता रहेको डा. भट्टराईले बताए । 

भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए । 

त्यस्तै, भेटमा नरभणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।