दार्चुलाको तिङ्करदेखि कञ्चनपुरको ब्रह्मदेवसम्म बन्ने महाकाली करिडोरलाई दक्षिण सुक्खा बन्दरगाह चाँदनीसम्म जोड्ने सडकखण्ड विस्तारको काम सुरु भएको छ । उत्तर महाकाली करिडोर र दक्षिण सुक्खा बन्दरगाह निर्माणस्थललाई जोड्न बिहीबारदेखि सडक विस्तार सुरु भएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए । उनले भने, ‘अहिले हामीले ट्र्याक खोल्ने काम सुरु गरेका छौँ, दीर्घकालीन रूपमा सडक थप विस्तार हुन्छ ।’
सीमा क्षेत्रमा भारतीय पक्षले अवरोध गरेपछि स्थानीयको सहमतिमा सडक विस्तारमा जुटेको उनले बताए । भीमदत्त नगरपालिकाले यसअघि नै स्थानीयको यातायात समस्या मध्यनजर गर्दै सडक विस्तारका लागि पहल थालेको मेयर विष्टको भनाइ छ । ‘भीमदत्त नगरपालिकाले बाहिरी चक्रपथका रूपमा विस्तार गर्ने सडक योजनामा भारतीय पक्षबाट अवरोध भयो, ‘मेयर विष्टले भने, ‘स्थानीयले १० मिटर जमिन दिने सहमतिसँगै बीचगाउँबाट सडक विस्तार हुन्छ ।’
वषौँदेखि सडकको पहुँचबाट टाढा भएका सीमावर्ती गाउँका स्थानीयसमेत सडक विस्तार हुने भएपछि हर्षित भएका छन् । स्थानीय जनकबहादुर चन्दले भने, ‘पहिला दशगजा भएर हिँडडुल गर्नुपथ्र्यो, अब सीधै जनताले नेपाल टू नेपाल सडक पाउनेछन् ।’ सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्वराज्यमन्त्री प्रकाशबहादुर रावलले हाललाई १० मिटर सडक निर्माण हुने बताए । ‘करिडोर र सुक्खा बन्दरगाहसँगै जोड्ने सडक विस्तार हुँदा मुआब्जाका लागि प्रदेशका तर्फबाट सहयोग गर्छौँ,’ उनले भने, ‘अहिलेका लागि गड्डाचौकी ब्रह्मदेव जोड्ने सडक मात्रै विस्तार हुन्छ ।’
गड्डाचौकीदेखि ब्रह्मदेवसम्म १४ किलोमिटर सडक स्तरोन्नतिका लागि संघीय सरकारबाट ३ करोड ७० लाख बजेट आएको छ । प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले सो सडक कालोपत्रेका लागि बहुवर्षीयमा ठेक्का लगाइने बताए । ‘उत्तर चीनदेखि दक्षिण भारत जोड्ने महाकाली करिडोरलाई बीचमा कहाँबाट जोड्ने भन्ने थियो, दक्षिणबाट गड्डाचौकीसम्म ६ लेन सडक आइसकेको छ,’ उनले भने, ‘ब्रह्मदेवदेखि उत्तर महाकाली करिडोरको समेत काम सुरु भएको छ, अब गड्डाचौकीदेखि ब्रह्मदेव जोड्ने सडक विस्तार हुन्छ ।’ महाकाली करिडोरको काम सुरु भइसकेको बताउँदै प्रतिनिधिसभा सदस्य भट्टले महाकाली नदीमा पक्की पुल, चाँदनीमा सुक्खा बन्दरगाह र महाकाली करिडोरसँगै त्रिदेशीय नाका विस्तार गरिने बताए ।