१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक २१ शुक्रबार ०५:२३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय नेतृत्वलाई राष्ट्रपति  विद्या भण्डारीको सन्देश : संवाद सुरु गरौँ 

Read Time : > 3 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार ०५:२३:००

सेनाध्यक्ष नरभणेले भने– सन्देश पुर्‍याउँछु

राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अवरुद्ध दुई देशबीचको औपचारिक संवाद सुरु गर्न भारतसँग आग्रह गरेकी छिन् । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेमार्फत उनले यस्तो सन्देश पठाएकी हुन् । नरभणेले पनि आफ्नो देशको राजनीतिक नेतृत्वसमक्ष सन्देश पुर्‍याउने बताएका छन् । 

राष्ट्रपति भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेलगत्तै नरभणेले उनीसँग शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्ने, उच्चस्तरीय भ्रमण र संवाद निरन्तर हुनुपर्नेमा जोड दिइन् । दुई देशबीच रोकिएको औपचारिक संवाद पनि चाँडै सुरु हुने विश्वास उनले व्यक्त गरेकी छिन् । 

राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालका अनुसार सम्बन्ध थप सुदृढ गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइलाई समर्थन गर्दै भारतीय सेनाध्यक्ष नरभणेले यो सन्देश दिल्लीमा पुर्‍याउने जवाफ दिएका थिए । ‘द्विपक्षीय कूटनीतिक शिष्टाचार आदान–प्रदान भयो । सम्बन्ध थप सुदृढ गर्नुपर्छ, बलियो बनाउनुपर्छ भन्ने राष्ट्रपतिज्यूको भनाइमा उहाँले सहमति जनाउनुभयो,’ ढकालले भने ।

गत वर्ष भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि दुई देशबीच औपचारिक राजनीतिक र कूटनीतिक संवाद ठप्प छ । संवादका लागि नेपालले पटक–पटक गरेको प्रयासमा पनि भारतले चासो देखाएको छैन ।

भारतको बाह्य मामिला हेर्ने गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएर फर्किएको दुई सातामै आएका सेनाध्यक्ष नरभणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच पनि बिहीबार नै जंगीअड्डामा औपचारिक वार्ता भएको छ । दुई सेनापतिबीचको शिष्टाचार भेटपछि नेपाली सेनाका उपत्यकास्थित विभागीय प्रमुखसहितको भेटवार्तामा पनि नेपाल–भारत सम्बन्धबारे छलफल भएको थियो । भेटवार्तामा दुवै देशको आपसी सुरक्षा चासो, अहिलेको क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरणबारे छलफल भएको स्रोतहरूले बताएका छन् । एक सैन्य अधिकारीका अनुसार दुई देशबीच थाती रहेका विषयहरू संवादबाट हल गर्नुपर्छ र सम्बन्ध सुदृढ बनाउनुपर्छ भन्नेमा भारतीय सैन्य नेतृत्व पनि सहमत छ ।

नरभणेले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । दुई देशबीच राजनीतिक र कूटनीतिक तहमा औपचारिक संवाद ठप्प भएका वेला सेनाध्यक्ष नरभणेले काठमाडौंमा गरिरहेको भेटवार्तालाई दुवैतिर महत्वका साथ हेरिएको छ । नरभणेको भ्रमणअघि नै दुई देशबीच औपचारिक संवादको परिस्थिति बनेको कूटनीतिक स्रोतहरूको भनाइ छ । 

मंसिरभित्रै दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्ने तयारी भएको छ । ‘रअ प्रमुख सामन्त गोयल र सेनाध्यक्ष नरभणेको भ्रमणपछि दुई देशबीच औपचारिक कूटनीतिक च्यानलमा संवादका लागि अनुकूल अवस्था सिर्जना भएको छ,’ एक भारतीय कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो । यसबीचमा भारतको नेसनल डिफेन्स कलेजमा नेपालसहित केही छिमेकी मुलुकबाट अध्ययन गर्न जाने सैनिक अधिकृतहरूको सिटसंख्या पनि थपिएको छ ।

०७३ मा भारतले नाकाबन्दी गर्दा नेपाली सेनाले प्रधानमन्त्री ओलीको विश्वासमा नाकाबन्दी हटाउन र दुई देशबीच राजनीतिक संवाद सुरु गराउन पहल गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भारत भ्रमणका वेला २१ माघ ०७३ मा भारतले नेपाली नाकामा गरेको अवरोध हटाएको थियो । अन्य च्यानलहरूसँगै सैन्य कूटनीतिक च्यानलले त्यसवेला काम गरेको थियो भने नाकाबन्दी हटेपछि प्रधानमन्त्री ओलीले ०७३ फागुनको पहिलो साता भारतको राजकीय भ्रमण गरेका थिए । 

अहिले पनि प्रधानमन्त्री ओलीले भारतसँग औपचारिक संवादका लागि अन्य च्यानलसँगै सैन्य कूटनीतिक च्यानलको पनि उपयोग गर्न चाहेका छन् । त्यसैअनुरूप ओलीको विश्वासमा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय समकक्षीको भ्रमणको बन्दोबस्त मिलाएका हुन् । ‘नेपाल र भारतबीच संवादका अन्य ढोकाहरू खुलाउन यो भ्रमण यस समयमा भएको हो, दिल्लीमा काठमाडौंको सकारात्मक सन्देश जाओस् भन्नका लागि हामीले यो भ्रमणलाई उपलब्धिमूलक बनाउने अधिकतम प्रयास गरिरहेका छौँ,’ सैनिक स्रोतले भन्यो । 

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद समाधान गरेर सम्बन्ध थप सुढृढ गर्नुपर्ने नेपालको धारणासहितको सन्देश सेनाध्यक्ष नरभणेमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाउनेछन् । नेपालले भारतसँगको सम्बन्धलाई चीनबाट अलग गरेर हेर्नुपर्ने धारणा राख्दै आएको छ । यो सन्देश प्रधानमन्त्री ओलीले पुनः दोहोर्‍याउनेछन् । 

त्यस्तै, यथासम्भव चाँडो विदेशसचिवस्तरीय संयन्त्रको बैठक वा विदेशमन्त्री स्तरको संयुक्त आयोगको बैठक तय गर्न पनि प्रधानमन्त्री ओलीले सेनाध्यक्ष नरभणेमार्फत भारतीय नेतृत्वसमक्ष सन्देश पठाउनेछन् । ‘प्रधानमन्त्री ओलीले २१ अक्टोबरमा रिसर्च एन्ड एनालाइसिस विंग्स (रअ)का प्रमुख सामन्त गोयलसँग पनि यही सन्देश पठाएका थिए, अब भारतका स्थल सेनाध्यक्षसँग पनि त्यही सन्देश पठाउनेछन्,’ स्रोतले भन्यो, ‘भारत र चीनबीच वार्तामा नेपालले जोड दिनेछ, नेपाल दुई छिमेकीको विवादमा कहीँ पनि छैन भन्ने सन्देश पनि प्रधानमन्त्रीले पुनः पठाउनेछन् ।’ 

गत ५ कात्तिकमा सुटुक्क काठमाडौं आएका ‘रअ’ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । भेटमा दुवै पक्षका सुरक्षा संवेदनशीलता तथा सम्बन्धका विभिन्न आयामबारे छलफल भएको प्रधानमन्त्री ओलीका सल्लाहकारहरूले सार्वजनिक गरिसकेका छन् । 

गत १५ अगस्टमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद भए पनि त्यो औपचारिकतामा सीमित थियो । नेपालले विदेशसचिवस्तरीय वार्ताका लागि प्रयास गरे पनि सफल हुन सकेको छैन । 

नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्दले विगतमा जस्तै दुई सेनाबीचको सुदृढ सम्बन्धले यसपटक पनि राजनीतिक र कूटनीतिक औपचारिक वार्ताका लागि ढोका खुल्न सक्ने बताए । ‘नेपालले यो अवसरलाई उपयोग गर्नुपर्छ,’ उनले भने । 

सेनाका पूर्वउपरथी हिमालय थापाले भने, ‘दुवै छिमेकीसँग नेपालको राम्रो सम्बन्ध छ, दुवैको द्वन्द्वमा हामी फस्न चाहँदैनौँ र हामी कतै पनि ढल्किँदैनौँ भन्ने सन्देश पठाउने, स्पष्ट पार्ने यो अवसर हो ।’ ०७३ मा नाकाबन्दी हटाउने प्रयासका लागि सेनाका तर्फबाट थापाको नेतृत्वमा प्रतिनिधिमण्डल खटिएको थियो । उनी त्यसवेला सेनाको महत्वपूर्ण निकाय मानिने व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयका प्रमुख थिए । ‘भारतीय सेना प्रमुखको नेपाल भ्रमण एकदमै सकारात्मक पहलकदमी हो र दुवै पक्षले भ्रमणको क्रममा यस क्षेत्रको जियोस्ट्रेटजिक यथार्थ महसुस गर्नेछन् र औपचारिक संवादका सबै ढोका खुला गर्नेछन् भन्ने मलाई लाग्छ,’ थापाले भने ।

भारतीय सेनाध्यक्ष नरभणेले शुक्रबारै शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सम्बोधन पनि गर्दै छन् । त्यहाँ उनले दुई देशको राजनीतिक तथा सैन्य सम्बन्ध, द्विदेशीय एवं क्षेत्रीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । भारतको छिमेक प्रथम नीति, नेपालमा चासोका विषयमा सेनाध्यक्षले प्रधानमन्त्री मोदीका तर्पmबाट धारणा राख्ने नेपालको अपेक्षा छ । 

नेपाली सेनालाई फिल्ड अस्पताल, भारतीय सेनालाई मास्क
भारतीय सेनाध्यक्ष नरभणेले दुईवटा फिल्ड अस्पतालका लागि आवश्यक एक्सरे मेसिनसहितका सामग्री नेपाली समकक्षी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । त्यस्तै, प्रधानसेनापति थापाले नेपालमा बनेका एक लाख थान मेडिकल मास्क नरभणेलाई हस्तान्तरण गरेको जंगी अड्डाले जनाएको छ । 

जंगी अड्डामा भएको द्विपक्षीय वार्तामा भारतीय सेनाध्यक्ष नरभणेले नेपालसँग रक्षा साझेदारी सुदृढ बनाउने भन्दै सेनालाई ६० प्रतिशत अनुदानमा दिइने सैन्य सामग्रीको आपूर्ति चुस्त बनाउने वचन दिएका छन् । नेपाली सेनाका उच्च अधिकारीहरूले नेपाल–भारत सैनिक सामग्री आपूर्ति वेलावेलामा रोकिने गरेको र त्यसले नेपाली सेनालाई अप्ठेरो पर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । 

दुई देशका परराष्ट्र मन्त्रालयका सहसचिवले नेतृत्व गर्ने रक्षासम्बन्धी द्विपक्षीय परामर्श समितिको यसअघिको बैठकमा भएका सहमतिअनुसार भारतबाट आउन बाँकी सैनिक सामग्री नियमित गर्न नेपाली सैन्य अधिकारीहरूले आग्रह गरेका थिए । नेपाली सेनालाई भारतले ६० प्रतिशत अनुदानमा हतियार तथा सैनिक सामग्री दिँदै आएको छ । यो ढाँचाअन्तर्गतका सैनिक सामग्रीको आपूर्ति थप सहज बनाउने आश्वासन सेनाध्यक्ष नरभणेले दिएको सैनिक स्रोतले जनाएको छ ।