मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २० बिहीबार १५:५०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उखु किसानको बक्याैता भुक्तानी दिलाउन सरकारलाई संसदीय समितिकाे निर्देशन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २० बिहीबार १५:५०:००

संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी दिन बाँकी रकम एक महिनाभित्र दिलाउने गरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकले श्रीराम सुगर मिल्सले किसानलाई उखु खरिदबापतको भुक्तानी नदिएर उत्पन्न समस्या एक महिनाभित्र समाधान गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । 

श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरेकाे करोडौँ रुपैयाँ भुक्तानी दिन बाँकी छ । केही महिनादेखि उद्योग बन्द गरी मजदुरको समेत मारिश्रमिक दिएको छैन । बैठकपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग मन्त्रालयलाई एक महिनाभित्र सबै निकायसँग समन्वय गरी समस्याको निकास दिई समितिलाई जानकारी दिन निर्देशन दिएको बताए ।

यस्तै चाडपर्वको समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदुरहरूलाई तत्काल राहतस्वरूप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको उनले जानकारी दिए । 

किसानलाई दिनुपर्ने भुक्तानी बाँकी रहेकै अवस्थामा गत ११ साउनमा श्रीराम सुगर मिल्सले सूचना प्रकाशन गरी उद्योग सधैँको लागि बन्द भएको जानकारी गराएको थियो । किसानहरूले उक्त मिलसँग करिब ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । यस्तै श्रमिक तथा कर्मचारीले पनि ६–७ महिनाको तलब भत्ता र कर्मचारी सञ्चय कोषमा रहेको करिब चार करोड रुपैयाँ पाएका छैनन् । चिनी मिलसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै दिन सक्ने जवाफ दिने गरेको किसानले गुनासो गरेका छन् ।