मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २० बिहीबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवादबीच ओलीसँग निर्णायक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २० बिहीबार १२:५८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखापरेका समस्या तथा समसामयिक विषयमा निर्णायक छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

नेकपा स्थायी कमिटीको गत २६ भदौकाे निर्णय कार्यान्वयन हुन नसक्दा नेकपाभित्र विवाद झन उत्कर्षमा पुगेको छ।

स्राेतका अनुसार आजको छलफलमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग पार्टीभित्रका समस्याबारे निर्णायक वार्ता गर्ने छन् । यसअघिको संवादमा अध्यक्ष ओलीले पार्टी विभाजन गर्नुपर्ने प्रस्ताव गरेको कुरा प्रचण्डले आफूनिकटका नेताहरूसँगको छलफलमा बताएका थिए । 

आजको छलफल पार्टीभित्र देखिएको विवाद र सचिवालय बैठक बोलाउने विषयमा केन्द्रित हुने स्राेतले बतायो । प्रचण्डले विवादको समाधान गर्न सचिवालय बैठक बोलाउनुपर्ने माग गरेका छन् । 

अघिल्लाे सचिवालय बैठकमा भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि विवाद झन् चर्किएको थियो । यही विवादबीच नेकपा कर्णालीको संसदीय दलमा अध्यक्ष ओली समर्थक सांसदहरूले पूर्वमाओवादी समूहका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि दुवै अध्यक्षबीच फरक मत देखा परेको थियो । 

उक्त प्रकरणपछि दुवै नेताबीच सार्थक संवाद हुन सकेको छैन । ११ दिनकाे संवादहीनतापछि गत साता बालुवाटारमा केपी ओली र प्रचण्डबीच संवाद भए पनि त्यसले कुनै परिणाम ल्याउन सकेको थिएन । 

यद्यपि, अध्यक्ष ओलीले भने सचिवालय बैठकको साटो दुवै अध्यक्षबीच सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् ।आजको बैठकमा दुवै अध्यक्षबीच सहमति जुट्न नसकेको अवस्थामा नेकपाको विवाद झनै जटिलतातर्फ जाने अनुमान गरिएकाे छ । 

बुधबार मात्रै अध्यक्ष ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताउँदै कठोर कदम चाल्नसक्ने संकेत गरेका थिए ।