१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
वीरगन्ज महानगरपालिकाको सुरजीदेवी माविको कक्षाकोठामा विद्यार्थी । यो विद्यालयमा मंगलबारदेखि पढाइ सुरु भएको छ ।
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक २० बिहीबार ०७:०१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वीरगन्जमा धमाधम खुल्दै विद्यालय

आठ महिनापछि पठनपाठन सुरु, कक्षा ८, ९ र १० का विद्यार्थीको बाक्लो उपस्थिति

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २० बिहीबार ०७:०१:००

चार महिनाअघि कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगन्ज यतिवेला भने देशका अन्य सहरभन्दा सामान्य बनेको छ । सोमबारदेखि यहाँका सामुदायिक विद्यालय खुलेका छन् भने पठनपाठन सुरु भएको छ । 

वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले कक्षा ८, ९ र १० को पठनपाठन सुरु गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि महानगरका सबै सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा सोमबारदेखि विद्यालय खुल्न थालेका हुन् । केही विद्यालयले पठनपाठन सुरु गरेका छन् भने केही सुरु गर्ने तयारीमा रहेका छन् । आठ महिनापछि यहाँका कक्षाकोठामा विद्यार्थी देखिएका छन् । 

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु हुँदा वीरगन्ज जोखिममा रहेको थियो । असारमा त वीरगन्ज ‘हटस्पट’ नै बनेको थियो । स्थानीय सरकारको पलहकदमीले कोरोना नियन्त्रणमा आएको हो । वीरगन्ज सामान्य अवस्थामा फर्केपछि सरोकारवालाहरू विद्यालय खोल्ने निष्कर्षमा पुगेका हुन् । कोरोना संक्रमण कम भएपछि विद्यालयमा पठनपाठन सुरु गरिएको वीरगन्जका मेयर विजय सरावगीले बताए । स्वास्थ्य मापदण्ड पालना गरेर सुरुआतमा कक्षा ८, ९ र १० को पठनपाठन सुरु गरिएको मेयर सरावगीले बताए । 

पछिल्लो समय महानगरमा कम भएकाले विद्यालय खोलेको वीरगन्जको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख अरविन्दलाल कर्णका अनुसार सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो । कोरोना जोखिम बढेपछि गत ५ चैतदेखि विद्यालय बन्द गरिएका थिए । 

महानगरपालिकाले गरेको निर्णयअनुसार एउटा बेन्चमा दुईजना विद्यार्थी मात्रै बसालेर पठनपाठन सुरु गरिएको सुरजीदेवीका प्रधानाध्यापक नवीनकुमार मिश्राले बताए । त्यस्तै, विद्यार्थी, शिक्षक र कर्मचारीलाई मास्क अनिवार्य गरिएको छ । स्वास्थ्य मापदण्ड अपनाएर मंगलबारदेखि पठनपाठन गरिएको प्रधानाध्यापक मिश्राले बताए । 

पहिलो चरणमा कक्षा ८ भन्दा माथिका विद्यालय खुलेका छन् । एक साता अनुगमन गरिने भएको छ । त्यसको आधारमा कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा आवश्यक निर्णय गरिने मेयर सरावगीले बताए । कक्षा १ देखि ५ सम्मको पठनपाठन भने तत्काल सञ्चालन नगरिने भएको छ । 


विद्यालय खुलेपछि विद्यार्थी पनि खुसी 

लामो समयको लकडाउनले बन्द भएका विद्यालय खुलेपछि विद्यार्थी पनि खुसी भएका छन् । विद्यालयमा उपस्थित भएर पढ्न पाउँदा खुसी लागेको विद्यार्थीले बताएका छन् । लामो समयपछि स्कुल आउन पाउँदा खुसी लागेको सुरजीदेवी माविका कक्षा १० मा अध्ययनरत प्रिया सिंह राजपुतले बताइन् । संक्रमणबाट जोगिन घरबाट नै विभिन्न स्वास्थ्य सामग्रीसहित विद्यालय आउने गरेको उनले बताइन् । 

वीरगन्ज महानगरले पनि सामुदायिक विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  मास्क, साबुन र थर्मोगन महानगरले उपलब्ध गराउने भएको छ । त्यतिन्जेल विद्यालयलाई नै व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै, महामारीमा अभिभावकले स्कुल पठाउन नचाहेमा विद्यार्थीलाई घरमै पनि पठनपाठन गर्ने व्यवस्था गरिने भएको छ । अभिभावकको सहमतिअनुसार विद्यार्थी विद्यालय पुगेका छन् । घरपरिवारको सहमतिमै विद्यालय आएको अर्का विद्यार्थी कातिक मण्डलले बताए । विद्यालयमा पनि हात धुन साबुनपानीको व्यवस्था गरिएको छ भने अन्य स्वास्थ्य मापदण्ड पनि पालना गरिएकाले परिवारले सहमति दिएको उनले बताए । 

मापदण्डअनुसार विद्यालय सञ्चालन
सरोकारवालाहरूको निर्णयअनुसार २३ कात्तिकभित्र वीरगन्जका सबै सामुदायिक विद्यालयमा पठनपाठन सुरु हुनेछ । यसका लागि अभिभावकको अनुमति अनिवार्य गरिएको छ । साथै, सामुदायिक विद्यालयको हकमा आवश्यक पर्ने मास्क, साबुन र थर्मोगन महानगरले व्यवस्था गर्ने निर्णय पनि गरिएको छ । 
महानगरभित्र निर्देशिकाबमोजिम पठनपाठन जारी नै रहेको वीरगन्जको शैक्षिक महाशाखाले जनाएको छ ।

विद्यालयमा स्वास्थ्यको मापदण्डअनुसार प्रवेश गर्ने मूलगेटमा तापक्रम जाँच्ने र विद्यार्थीको शरीरमा औषधि छर्केर निर्मलीकरण गर्ने र मास्क लगाएर मात्रै प्रवेश गर्न दिने व्यवस्था गरिएको शैक्षिक महाशाखाका प्रमुख कर्णले बताए ।