मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ कार्तिक १९ बुधबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लम्बिन सक्छ अमेरिकी चुनावी परिणाम, सन् २००० दोहोरिने सम्भावना

हुलाकमार्फत पठाइएका मतको विषयले न्यायिक समस्या निम्त्याउने जोखिम

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १९ बुधबार १८:००:००

अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावको मतपत्र गन्ती चलिरहेको छ । दुई प्रमुख उम्मेदवार डोनाल्ड ट्रम्प र जो वाइडेनबीच निक्कै कडा प्रतिस्पर्धा हुने देखिएको छ । ४१ राज्यको मतपरिणाम आइसक्दासमेत कसैको जित सुनिश्चित भएको छैन ।

अमेरिकामा मतदाताले प्रत्यक्ष रूपमा राष्ट्रपतिलाई मत हाल्दैनन् । मतदाताले राज्यबाट इलेक्टोरल भोट छान्छन् र जुन उम्मेदवारले दुई सय ७० वा त्यसभन्दा बढी इलेक्टोरल भोट पाउँछन्, उही अमेरिकाको राष्ट्रपति हुन्छ ।

यसपटक चुनावअघिका अधिकांश मत सर्वेक्षणले बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । मतगणना भने मतसर्वेक्षणको अनुमानविपरीत निक्कै प्रतिस्पर्धात्मक देखिएको छ । स्विङ स्टेटमध्येका सबैभन्दा ठूला राज्य टेक्सास र फ्लोरिडामा जित हासिल गरेपछि ट्रम्प बलिया देखिएका छन् ।

 अमेरिकाका ५० राज्यमध्ये अधिकांशले धेरैजसो एउटै पार्टीलाई जिताउने भएकाले केही राज्यमा मात्र मुख्य प्रतिस्पर्धा हुन्छ । कहिले एउटा पार्टीले त कहिले अर्कोले जित्ने भएकाले यी राज्यलाई स्विङ स्टेट भनिन्छ । यो निर्वाचनमा १३ राज्यलाई स्विङ स्टेट मानिएको छ । चुनावी परिणाम तिनै राज्यले निक्र्योल गर्ने भएकाले खास चुनावी अभियान यही एक दर्जन राज्यमा केन्द्रित हुन्छ ।

टेक्सस विगतमा रिपब्लिकनको गढ भए पनि यसपटक बाइडेनले यसलाई आफ्नो पोल्टामा पार्न धेरै मेहनत गरेका थिए, तर सफल भएनन् । अब स्विङ स्टेटमध्ये पनि बढी इलेक्टोरल भोट भएका पेन्सिलभेनिया, मिचिगन र विस्कन्सिन राज्यमा धेरैको नजर गएको छ ।

यी राज्यका हुलाकी मतको गन्ती ढिलो सुरु भएकाले पुरा मत परिणाम आउन ढिलो हुने भएको छ । हुलाकी मतको ठूलो हिस्सा बाइडेनको पक्षमा आएको अनुमान छ । यसैले विश्लेषकहरूले यी राज्यमा बाइडेनको जितको अपेक्षा गरेका छन् । ट्रम्प भने यसलाई विवादमा तान्न खोज्दैछन् । उनका पछिल्ला ट्विटले यो विषय सर्वोच्च अदालतमा जाने संकेत गरेको छ ।

यसपटक हुलाकी मत (पोस्टल ब्यालेट) बारेमा पहिलेदेखि नै बहस थियो । अमेरिकामा हुलाकबाट मत हाल्नु नयाँ होइन । सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा कुल मतदानमध्ये एकचौथाइ हुलाकी मत थिए । तर, यो वर्ष कोभिड १९ महामारीका कारण धेरै अमेरिकी घरबाट बाहिर निक्लिन हिच्किचाइरहेका थिए । सोहीकारण हुलाकी मतको प्रयोग ह्वात्तै बढ्यो ।

केही राज्यमा मेल–इन ब्यालेट आउनासाथ गणना सुरु भएको थियो । केहीले भने चुनावको एक दिन पहिले मात्र गणना सुरु गरे । जब कि, बाँकीमा चुनावको दिनसम्म गणना सुरु भएको थिएन । वाइडेन र ट्रम्पबीच प्रमुख प्रतिस्पर्धा देखिएको दुई राज्य पेन्सिलभेनिया र विस्कन्सिनमा ब्यालेटको गणना चुनावको दिन सुरु भयो । यो मतको गणना सामान्य मतगणनाभन्दा लामो समय लाग्छ ।

मिसिगन राज्यका अधिकारीले पनि सम्पूर्ण मत गन्न शुक्रबारसम्म समय लाग्ने बताएका थिए । ट्रम्पले भने यही ढिलाइलाई इंगित गर्दै आफ्नो मत चोरिन सक्ने दाबी गरेका छन् । कसरी उनको मत चोरी हुनेछ भन्ने विषयमा भने उनले कुनै प्रमाण पेस गरेका छैनन् । विभिन्न राज्यमा भएको अध्ययनले अन्य झमेला आए पनि मतपत्र चोरिनेजस्ता धाँधली अमेरिकामा नदेखिने बताएको छ ।

ट्रम्पले भने मतगणना चलिरहेको समय ट्विट गरेका थिए, ‘हामी अगाडि छौँ, तर उनीहरू चुनावी परिणाम चोर्न चाहन्छन् । हामी तिनलाई यस्तो गर्न दिनेछैनौँ । चुनावको समय सकिएपछि मत हाल्न सकिँदैन ।’ यस ट्विटमा ट्विटरले एक सन्देश लेखेर ट्विटका केही अंश वा सम्पूर्ण कुरा भ्रामक हुन सक्ने चेतावनी दिएको छ ।

उता चुनावी परिणाम आइरहँदा डेमोक्र्याट उम्मेदवार जो वाइडेनले पनि सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा वाइडेनले अन्तिम मतपत्र गणना नभएसम्म चुनाव अन्त्य भएको मान्न नहुने बताए ।

‘मेरो विश्वासमा हामीले जितिरहेका छौँ । तर, धैर्य गर्नुस् । हुलाकमार्फत आएको मत पनि गन्नुपर्ने भएकाले अन्तिम नतिजा आउन समय लाग्नेछ । कसले जित्छ भन्ने कुरा ट्रम्पले घोषणा गर्ने कुरा होइन, त्यो कुरा अमेरिकी नागरिकले तय गर्नेछन् ।’

हुलाकी मतको विषयले भने कानुनी विवाद निम्त्याउने जोखिम पनि छ । हुलाकमार्फत डेमोक्र्याटहरूको मत बढी आउने डरमा चुनावअघि नै ट्रम्पले कैयौँ राज्यमा हुलाक मत सीमित गर्ने प्रयास गरेका थिए ।

ट्रम्पको यस प्रयासविरुद्ध डेमोक्र्याटहरू अदालत जानुपरेको थियो । अहिले पनि उनले पोस्टल ब्यालेटमार्फत आफूलाई हराउन धाँधली हुने भन्दै पछिल्लो समय आएका मतलाई गन्न नहुने बताउन थालेका छन् । यसविरुद्ध उनी सर्वोच्च अदालत जाने सम्भावना अत्यधिक छ । विभिन्न मिडिया रिपोर्टअनुसार हार–जितको अवस्थामा झिनो अन्तर भएमा ट्रम्पले न्यायिक लडाइँ लड्न वकिलको समूह तयार पारिसकेका छन् ।

बिबिसी विश्व सेवासँग कुरा गर्ने क्रममा अमेरिकी वकिल ब्यारी रिचर्डले हुलाकी मतको विषय अदालतमा जान सक्ने बताए । पछिल्लो समय सन् २००० मा राष्ट्रपतीय चुनावको मतगणनामा विवाद आएपछि कानुनी लडाइँ भएको थियो । ब्यारी त्यो समय जर्ज डब्लु बुसका वकिल थिए । बिबिसीसँगको कुराकानीमा ब्यारीले यसपटकको परिस्थिति सन् २००० को भन्दा फरक भएको बताए । ‘सन् २००० मा फ्लोरिडाको ब्यालेटका डिजाइनमा गडबडी भेटिएको थियो । यस्तै, अन्य कानुनी गल्तीले मुद्दामामिला भयो । यसपटक सर्वोच्च अदालतले यो मुद्दालाई सहजै स्वीकार्ने देखिँदैन ।’

-एजेन्सीको सहयोगमा