१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
माथिल्लो तामाकोसीले निर्माण गरेको चरिकोटस्थित तल्लो खण्डको बाइपास सडक । तस्बिर : नयाँ पत्रिका
२०७७ कार्तिक १९ बुधबार ०९:३४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

माथिल्लो तामाकोसीको बाइपास सडकमा लाखौँ अनियमितता

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १९ बुधबार ०९:३४:००

एउटै सडकमा दुईवटा निकायको बजेट, कामै नगरी भुक्तानी 

बजार क्षेत्रबाट ठूला सवारीसाधन सञ्चालन गर्न नमिलेपछि चरिकोट बजारभन्दा तल्लो भागबाट निर्माण गरिएको बाइपास सडकमा वर्षौँदेखि लाखौँ रुपैयाँ बजेट अनियमितता भएको तथ्य खुलेको छ । चरिकोटस्थित गौरीशंकर बालगृहदेखि तिखातलसम्मको साढे चार किलोमिटर सडकमा डेढ वर्षदेखि मर्मतका नाममा मासिक दुई लाख रुपैयाँ खर्च भए पनि उक्त बजेट कामै नगरी अनियमितता भएको तथ्य सार्वजनिक भएको हो ।

माथिल्लो तामाकोसी आयोजनाले आयोजनास्थल लामाबगरसम्म पुग्ने प्रवेशमार्गअन्तर्गत दोलखादेखि सिँगटी बजारसम्मको सडक यसअघि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरे पनि बालगृहदेखि तिखातलसम्मको साढे ४ किलोमिटर सडक भने आफैँले मर्मत गर्ने भन्दै यथास्थितिमै राखेको थियो । आयोजनाले उक्त सडक मर्मतसहित नियमित सञ्चालनका लागि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कम्पनीलाई मासिक दुई लाख रुपैयाँ भुक्तानी गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठको भनाइ अनुसार डेढ वर्षको अवधिमा मासिक दुई लाखको दरले हालसम्म ३६ लाख रुपैयाँ रकम सिनो हाइड्रोका नाममा भुक्तानी भइसकेको छ । तर, काम भए–नभएको अनुगमन तथा मूल्यांकन नै नगरी निरन्तर भुक्तानी गरेको र सो रकम दुरुपयोग भएको आरोप आयोजनालाई लागेको छ । उक्त रकम एकैपटक खर्च गरे झन्डै दुई किलोमिटर सडक कालोपत्रे हुने कतिपय प्राविधिकको तर्क छ ।

कामै नगरी डेढ वर्षदेखि भुक्तानी : स्थानीय
आयोजनाले उक्त सडकमा घाम लागेको समयमा धुलो उड्न नदिन नियमित पानी हाल्ने, खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्ने, वर्षात्को समयमा पहिरो झरे पन्छाउनेजस्ता कामका लागि महिनैपिच्छे रकम भुक्तानी गरे पनि ठेकेदार कम्पनीले अहिलेसम्म त्यस्ता कुनै काम नगरेको स्थानीयको भनाइ छ । स्थानीय टहल थामीले डेढ वर्षदेखि सडकमा केही महिलाले पेटी सफा गरेकोभन्दा बाहेक अन्य मर्मत तथा पानी हाल्ने काम नभएको बताए । उनले मर्मतको काम नहुँदा दिनहुँ समस्या भएको गुनासो गरे । 

उक्त सडकको सरोकार समितिका पूर्वअध्यक्षसमेत रहेका स्थानीय अगुवा धु्रव केसीले सडक मर्मतका नाममा सरकारी रकमको दुरुपयोग भएको गुनासो गरेका छन् । उनले माथिल्लो तामाकोसी आयोजनाले प्रभावकारी अनुगमन नगरी नियमित रूपमा रकम भुक्तानी गरेको बताए । अर्का स्थानीय अर्जुन थापाले तीनजना महिलाले सडकको पेटी सफा गर्नुबाहेक अन्य कुनै काम नभएको बताए । थापाले सदरमुकामको मुख्य बाइपास सडक हुँदा पनि अनेकन बहानामा सो सडक उपेक्षामा परेको गुनासो गर्दै हालसम्म कति बजेट आयो, कुन शीर्षकमा खर्च भयो भन्ने स्थानीय बासिन्दालाई कुनै जानकारी नभएको बताए । उनका अनुसार वर्षौँदेखि उक्त सडकमा मर्मतका कुनै पनि काम हुन सकेको छैन । 

सबकन्ट्र्याकमार्फत काम गराएका हौँ : सिनो हाइड्रो 
माथिल्लो तामाकोसीको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका डेपुटी मेनेजर बालाकृष्ण निरौलाले आफूहरूले सब कन्ट्र्याक्टरमार्फत काम गराएको जनाए । उनले सडक नियमित रूपमा सुरु गर्न आवश्यक काम गर्ने गरी स्थानीय निर्माण कम्पनीलाई कामको जिम्मा दिएको बताउँदै त्यसको मूल्यांकन तथा अनुगमन आयोजना आफैँले गनुपर्र्नेे बताए । निरौलाले नियमित रूपमा काम भएको जानकारीका आधारमा सम्झौताअनुसारको रकम दिइने गरेको बताए । उनले आयोजनाबाट सिनो हाइड्रोले लिने र आफूहरूले दिने रकमका विषयमा प्रतिक्रिया दिन चाहेनन् । उनका अनुसार कम्पनीले चारजना कर्मचारी नियुक्त गरी नियमित मर्मतको काम गरेको जनाउँदै पहिरो आउने समयमा जेसिबी स्ट्यानबाइ राखेको र गत वर्ष सडकमा नियमित पानी हालेको समेत दाबी गरेको छ । तर, सडक आसपासका स्थानीय बासिन्दाले भने डेढ वर्षदेखि सडकमा पानी हालेको, मर्मतको काम गरेको आफूहरूले नदेखेको बताएका छन् । सबकन्ट्र्याकको जिम्मा पाएका सडक सरोकार समितिका अध्यक्ष लीला केसीले सम्झौताअनुसार काम भएको दाबी गरे । उनले उक्त सडक तत्काल पक्की बनाइदिन मागसमेत गरे । 

सोही सडकमा डिभिजन सडकको ४० लाख
माथिल्लो तामाकोसीले मासिक दुई लाख रुपैयाँ खर्च गरिरहेको सडकमा डिभिजन सडक कार्यालयले नाला निर्माण गर्न भन्दै एक करोड रुपैयाँको लागतमा ठेक्का आह्वान गरेको थियो । पछि निर्माण व्यवसायीहरूको प्रतिस्पर्धाका आधारमा ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख विजय महतोले बताए । महतोले ठेक्का आह्वान गर्नुपूर्व माथिल्लो तामाकोसीलाई जानकारी पठाए पनि त्यसको जवाफ नआएको बताए । नाला निर्माणको जिम्मा पाएको कम्पनीले अहिले सडकको झन्डै ५० प्रतिशत क्षेत्रफलमा नाला बनाउन काम सुरु गरिसकेको छ । तामाकोसी आयोजनाले गरेको मर्मत खर्चबारे सडक डिभिजनलाई कुनै जानकारी नभएको डिभिजन प्रमुख महतोको भनाइ छ । राष्ट्रिय महत्वको यति ठूलो जलविद्युत् आयोजना र डिभिजन सडक कार्यालयबीच समन्वय नहुँदा डुब्लिकेसन हुन सक्ने भन्दै दोलखाका नागरिक अगुवाहरूले संवैधानिक निकायको ध्यान केन्द्रित हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रभावकारी अनुगमन हुन सकेन : आयोजना 
माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले उक्त सडकमा आयोजनाका तर्फबाट प्रभावकारी अनुगमन हुन नसकेको स्वीकार गरे । टेलिफोन संवादमा कुरा गर्दै उनले भने, ‘आयोजना स्थलभन्दा ६८ किलोमिटर टाढा रहेकाले पनि नियमित अनुगमन हुन सकेन ।’ कोभिडका कारण पनि आयोजनाको ध्यान अन्यत्र केन्द्रित भएकाले त्यसबारे तत्काल अध्ययन गरिने न्यौपानेको भनाइ छ । उनले डिभिजन सडकसँग समन्वय गरेको दाबी गर्दै डुब्लिकेसन हुन नदिने बताए । 
यता, आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले आयोजनाका ठूला उपकरण ढुवानीका लागि उक्त सडक प्रयोग गर्नुपर्ने भएकाले नियमित मर्मतका लागि सिनो हाइड्रोलाई दिइएको जानकारी दिए । उनले सडक कार्यालयसँगको समन्वयकै आधारमा काम गरेको दाबी गरेका छन् । आयोजनाबाट ठेकेदारलाई रकम भुक्तानी गर्दा कामको मूल्यांकन गरेरै रकम दिएको भन्दै बचाउसमेत गरे ।