मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १९ बुधबार ०७:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङमा ढकमक्क फुले सयपत्री तिहारसम्म जोगाउनै मुस्किल

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १९ बुधबार ०७:५६:००

लमजुङका विभीन्न ठाउँमा घरआँगन, डिल, बारी, कान्लामा सयपत्रीका फूल ढकमक्क फुलेका छन् । तर, तिहारमा विशेष महत्व हुने यी फूल जोगाउन नसकिने हो कि होइन भन्ने चिन्तामा स्थानीय पिरोलिएका छन् । 

आँगनीडिलमा फुलेका सयपत्री र गुर्दौली फूलले बेँसीसहर नगरपालिका–८ की चन्द्रकला थापालाई लोभ्याएको छ । ढकमक्क फूलले उनलाई तिहार आएझैँ आभास भएको छ । घरमै फुलेका फूलको मालाले यसपालि तिहारमा आफ्ना दाजुभाइकोे ‘गला’ सजाइदिने उनको योजना छ । तिहारका वेला बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फुलेका, आफ्नै हातले टिपेर–गाँसेर बनाएका माला दाजुभाइलाई लगाइदिँदाको खुसी छुट्टै हुने उनको बुझाइ छ । यस वर्ष भने तिहार ढिला परेकाले फूल सुक्ने चिन्ता उनमा पलाएको छ । 

थापालाई मात्र होइन, बेँसीसहर–११ की कृष्णमाया श्रेष्ठको आँगनीडिलमा पनि ढकमक्क सयपत्रीका फूल फुलेका छन् । उनी भन्छिन्, ‘घरमा फुलेको फूल टिपी माला गाँसेर यसपालिको तिहारमा भाइहरूलाई लगाइदिनेछु । तर, यस वर्ष तिहार ढिला भएकाले बोटमै फूल सुक्ला कि, बोट भाँचिएला कि ! भन्ने चिन्ताले सताएको छ ।’

बेँसीसहर नगरपालिका–२ बोहोराबेँसीमा ६ वर्षदेखि पुष्प व्यवसाय गरेकी हुमा गुरुङलाई तिहारका लागि लगाइएको सयपत्री फुलिसकेकाले तिहारसम्म काम नलाग्ने गरी सुक्छ कि भन्ने चिन्ताले पिरोलेको छ । चिसो बढ्दै गएकाले फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उनले बताइन् । 

कोरोनाका कारण विभिन्न सभा तथा कार्यक्रम भएका छैनन्, त्यसैले फूल र मालाको माग न्यून छ । गुरुङ भन्छिन्, ‘तिहारसम्म फूल नओइलाए केही आम्दानी हुने आशा छ ।’ तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट हुमाले अघिल्लो वर्ष ६ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् । 

पहिले काम चलाउन बारीका कान्लातिर मात्र रोप्ने गरेको फूल ३ वर्षअघिबाट व्यावसायिक रूपमै खेती सुरु गरेको उनको भनाइ छ । यस वर्षको तिहार अधिकमासका कारण झन्डै एक महिना पछाडि धकेलिएको र कोभिड–१९ को महामारीका कारण सभा तथा कार्यक्रम हुन नसक्नु नै पुष्प व्यवसायीका लागि ठूलो क्षति बन्ने सम्भावना देखिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।