१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रोशन जनकपुरी
२०७७ कार्तिक १९ बुधबार ०९:४३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अन्धविश्वासमा जकडिएको पर्व

Read Time : > 5 मिनेट
रोशन जनकपुरी
२०७७ कार्तिक १९ बुधबार ०९:४३:००

निकटताले कोरोना महामारी सर्छ भन्ने थाहा भएर पनि मानिस मन्दिरहरूमा बोका बलि चढाउन तँछाडमछाड गर्न पछि परेनन्

 एकजना मित्रले फेसबुकमा स्ट्याटस लेखे– कोरानाको उपेक्षा नगरौँ, यो अत्यन्तै ज्याद्रो हुन्छ । उनले कोभिड–१९ बाट एकजना आफन्त गुमाएपछि यो स्ट्याटस लेखेका थिए । तर, यसपटकको दसैँमा दुर्गा–भगवतीका मन्दिर र दुर्गामेलामा मानिसहरूले मास्क र सोसल डिस्ट्यान्सिङको उपेक्षा गरेको दृश्य देखियो, त्यसले आमजनमानसमा गहिरिएर बसेको धार्मिक भिडुपनाको संकेत दिन्छ । कति जड ? निकटताले कोरोना महामारी सर्छ र यो भयानक रोग हो भन्ने थाहा भएर पनि मानिस मन्दिरहरूमा पूजा र प्रसाद चढाउन, बोका बलि चढाउन तँछाडमछाड गर्न पछि परेनन् । कोरोना महामारीको संवेदनशीलतालाई देखेर सरकारले मन्दिरहरूमा खुलापूजा र बलि प्रदानमा रोक लगाउनु पनि औपचारिक मात्र देखियो ।

जनकपुरको राजदेवी मन्दिरमा आठ हजारभन्दा बढी बोका बलि चढाइए । जनकपुरमा प्रशासनले यस वर्ष बोका बलि नहुने, बरु जिल्ला प्रशासनले क्षमापूजा गर्ने घोषणा गरेको थियो । तर, आयोजक स्थानीय क्लबहरूले चौतर्फी दबाब सिर्जना गरेर अन्ततः बोका बलि प्रदान गर्ने निर्णय गराइछाडे । यो एउटा उदाहरण मात्र हो, होइन भने देशका प्रायः हरेक भगवती मन्दिरमा भक्तजनहरूले कोराना महामारीबाट बच्ने निर्देशिकाहरूको कुनै न कुनै रूपमा उपेक्षा गरिरहे । यसले हाम्रो पारम्परिक चेतनाको जडता तथा पछौटेपनाले एक्काइसौँ शताब्दीमा पनि हामीलाई रीतिरिवाज र सामन्तवादी धार्मिकताका निम्ति वैज्ञानिक तथ्यहरूलाई उपेक्षा गर्न कसरी प्रेरित गर्छ भन्ने देखाउँछ । यतिसम्म कि हामी आफ्नो ज्यानको सुरक्षासमेतको उपेक्षा गरिरहेका हुन्छौँ । 

प्रथम दृष्टिमा दसैँ नारीशौर्यको अभ्यर्थनाको रूपमा व्याख्या गरिन्छ– ‘या देवी सर्वभूतेषु, मातृरूपेण संस्थिता’ । तर, यसमा निहित अन्तरवस्तुले यसलाई नारीविरुद्ध पुरुष चेतनालाई नै प्रोत्साहित गर्छ । दसैँको अवसरमा तराई मधेसमा महिषासुरमर्दिनी दुर्गा र नवदुर्गाका प्रतिमाहरूको स्थापना र मेलाहरू यत्रतत्र लाग्ने गर्छन् । दुर्गामेलाको यो रूप समाजमा पुँजीको प्रभाव बढ्दै गएपछि अधिकतम् तीन सय वर्षभित्र विकसित भएको हो । हामीतिर त झन् धेरै पछि यो चलन आएको हो । 

दसैँको प्राकृतिक रूप हिन्दू सामन्तशाहीभित्र ब्राह्मणीय मान्त्रिक प्रक्रियाबाट सिद्धपीठहरू राजदेवी र कोतघरमा शक्तिपूजा तथा ग्रामीण जनसमुदायमा भूत, बोक्सी, धामी, ओझा र वनदेवीहरू र ग्रामदेवताहरूको लोकपरम्पराअनुसार बोका, परेवा आदि बलि, रक्सी (तपाओन) चढाएर र धामीहरूले ‘भगतै’ गाएर अमान्त्रिक पूजापाठ र गाथागायन हुन्छ । यस समग्र विधिले दुर्गा–देवीहरू पुरुष धामी–झाँक्री र ओझाहरूको मन्त्रअनुसार चल्ने र बोक्सी र चुडैल (किचकिन्ने)हरूको कोपबाट रक्षा गर्ने अन्धविश्वासलाई नै पुष्ट गर्छ । 

तराई मधेसमा ‘झिझिया’ सांस्कृतिक कलाको रूपमा प्रसिद्ध छ । असंख्य प्वाल परेको घैँटोभित्र एउटा बलिरहेको दीप बालेर अँध्यारो रातमा नारीसमूहको गायनमा कलात्मक रूपमा नाचेको हेर्नु आनन्दप्रद नै हो । एउटा कलाको रूपमा यसको संरक्षण गर्नु राज्य र समाजको दायित्व पनि हो । तर, यसमा निहित प्राचीन कबिला चेतनाका अन्तर्वस्तुहरू हेर्दा यसलाई म्युजियम (संग्रहालय)मा राख्नुपर्ने देखिन्छ । झिझियामा गाउने गीतहरूले बोक्सी (डाइन)हरूले मन्त्र–तन्त्र र टुनामुना गरेर हाम्रा सन्तानलाई रोगी बनाउँछे, मारेर उसलाई भूत र प्रेत बनाएर आफूसँग राख्छे र दुःख दिन्छे, त्यसैले सामाजिक हितका निम्ति उनीहरूलाई दण्डित र बहिष्कृत गर्नुपर्छ भन्ने भाव प्रसारित गर्छ ।

अर्कोतर्फ अभिजात्य र सम्पन्न जातिहरूको मान्त्रिक कर्मकाण्डीय दुर्गा भगवतीको पूजामा पनि यही भाव मिसिएको हुन्छ । नारीप्रतिको यस सामाजिक हेयभावले गर्दा मन नपरेको र केही असामान्य बानीव्यहोराकी निर्धो आइमाईलाई सामान्य निहुँमा नै सहजै बोक्सी घोषित गरिदिन सकिन्छ । तन्त्र र मन्त्रको यस रुढ र अन्धविश्वासी तर्क र मान्यताले ग्रस्त पारम्परिक समाजमा आफ्नै आमासम्मलाई बोक्सी मान्न मनोवैज्ञानिक रूपमा प्रेरित र बाध्य गराउँछ । यस प्रकारका तर्कहरूको स्रोत हाम्रा प्राचीन र मध्यकालीन ग्रन्थहरू र लोकगाथाहरू छन् । ती पुरातन ग्रन्थहरू र लोकगाथाहरू तत्कालीन सीमित ज्ञान र विश्वासका परिणाम हुन्, जसले देव, राजा, ब्राह्मण र पुरुषलाई श्रेष्ठ, ज्ञानी, योग्य र अधिकार सम्पन्न मान्छ । 

बोक्सीका निम्ति व्याप्त अन्धविश्वासहरू भयावह छन्– मारण, उच्चाटन, मसान जगाएर भूत र प्रेतलाई दास बनाउने, मान्छेको मासु खाने, रुख हाँक्ने, कति हो कति ! तर बोक्सीको रूपमा आरोपित आइमाईहरू हमेसा प्रायः निमुखा र निरीह, एकल, वृद्धा वा मानसिक रूपमा असन्तुलित हुने गरेको पाइएको छ । यसलाई विडम्बना नै मान्नुपर्छ कि हिन्दू समाजमा कैयौँ शिक्षित विद्वान्हरूले पनि यी रुढ अन्धविश्वासी धारणाको वकालत र तर्कले सिद्ध गर्ने प्रयत्न गरिरहेका हुन्छन् । 

देवी, दुर्गाको पूजा अर्चना र ‘मातृरुपेण संस्थिता’को नाममा भव्य र त्रासमयी दसैँमा विगतझैँ यस वर्ष पनि बोक्सीको नाममा नारी उत्पीडनका घटना देखिए । प्रहरीले दोषीलाई पक्राउ गरे पनि आममानसिकतामा बोक्सी र किचकन्नेको अन्धविश्वासले हाम्रो समाजको एक्काइसौँ शताब्दी अझै कैयौँ शताब्दी पछाडि नै छ भन्ने बोध गराउँछ । यस वर्षको दसैँमा धनुषा जिल्लाको औरही गाउँपालिका र सबैला नगरपालिकाको मुसहरी टोलमा बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको र कपाल खौरेर मलमूत्र खुवाउने प्रयास गरेको घटना स्थानीय मिडियामा आएको छ । त्यसैगरी यसै अवधिमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा आफ्नी ९० वर्षीया आमालाई बोक्सीको आरोपमा छोराले नै कुटपिट गरेको र मलमूत्र खुवाउने प्रयास गरेको घटना सामुन्ने आएको छ । दसैँ, दुर्गा, झिझियाले यस एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि प्रसारित गरिरहेका रुढ मनोविज्ञानको यसभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ?

हजारौँ वर्षको सामाजिक आरोह–अवरोहमा कैयौँ सामाजिक ढाँचाहरू फेरिए, तर यो धार्मिक अन्धविश्वास फेरिएन, बरु अनेक आवरण ओढेर झन्–झन् जड हुँदै गयो र नारी, निरीह र निर्धन समुदायमाथिको शोषण, उत्पीडन र अत्याचारका नयाँ तर्कहरू निर्माण गरिरह्यो ।

हजारौँ वर्षको सामाजिक आरोह–अवरोहमा कैयौँ सामाजिक ढाँचाहरू फेरिए, तर यो धार्मिक अन्धविश्वास फेरिएन, बरु अनेक आवरण ओढेर झन्–झन् जड हुँदै गयो र नारी, निरीह र निर्धन समुदायमाथिको शोषण, उत्पीडन र अत्याचारका नयाँ तर्कहरू निर्माण गरिरह्यो । माक्र्सले दक्षिण एसियाली समाज (माक्र्सका रचनाहरूमा भारतीय भनिए पनि उनले अहिलेको दक्षिण एसियालाई नै संकेत गरेका छन्) लाई ‘परिवर्तनहीन’ र ‘सरल’ प्रतिक्रियावादी समाज भनेका छन् । तत्कालीन भारतमा रहेका ब्रिटिस अधिकारीहरूको रिपोर्टमा आधारित माक्र्सको परिवर्तनहीन दक्षिण एसियाली समाजको यो धारणा पूर्ण रूपमा सत्य छैन । यसको आलोचना माक्र्सवादी विद्वान्हरूले समेत गरेका छन् । तर, यसमा निहित भाग्यवादी जडताबारे माक्र्सको सूक्ष्म दृष्टिको सत्यता वर्तमान हिन्दू समाजको जडताले पनि प्रमाणित गर्छ ।

यसलाई वर्तमान कोरोना महामारीबारे जड चेतनामा आधारित आमव्यवहार तथा बोक्सी र भूतप्रेतबारेका रुढ र अवैज्ञानिक विश्वासको निरन्तरतामा देख्न सकिन्छ । फेरि अन्धविश्वासको मामिलामा हिन्दू मात्र होइन, बौद्ध, जैन, मुस्लिम र इसाई सबै एउटै कित्तामा छन् । माक्र्सले एक ठाउँमा लेखेका छन्– ... यी मनोरम ग्राम समुदायहरू सधँै प्राच्य निरंकुशताका ठोस आधार रहँदै आएका छन् । मानवमनलाई ...अन्धविश्वासको विरोधहीन साधन र परम्परागत नियमहरूको दास बनाएर उनको सम्पूर्ण गरिमा र ऐतिहासिक ऊर्जाबाट वञ्चित गरिदिएका छन्... यी स–साना समुदाय जाति र दासताका भेदहरूले प्रदूषित रहँदै आएका छन् र मानिसलाई परिस्थितिहरूको स्वामी बन्नुको साटो बाहिरी परिस्थितिको दासमा परिणत गरिदिएका छन् । यसले एउटा स्वतः विकासशील सामाजिक संस्थालाई कहिल्यै नफेरिने भाग्यमा बदलिदिएको छ र यसरी प्रकृतिको पाशविक पूजालाई जन्म दिएको छ । यस तथ्यबाट प्रस्ट हुन्छ कि प्रकृतिको स्वामी मनुष्यले घुँडा टेकेर बाँदर हनुमान र गाय शबलाको पूजा गर्न थाल्यो ।’ धार्मिक र परम्परावादी समाजले माक्र्सलाई त्यसै खतरनाक भनेका होइनन् नि ! उनी धार्मिकताको नाभिकेन्द्रमा नै मारक प्रहार गर्छन् । 

तुलनात्मक रूपमा दसैँबारे सहरभन्दा गाउँमा बढी देखिने यस रुढ चेतनालाई आधुनिकताको सांस्कृतिक र बौद्धिक प्रतिष्ठामा परिणत गर्ने काम सहरले नै गरेको छ भन्नु अत्युक्ति नहोला । अब त यसमा नवसांस्कृतिक पुँजीवाद पनि सामेल भएको छ । अब सहर मात्रै होइन, गाउँहरूको दुर्गामेला पनि विलासी उपभोग्य वस्तुहरूको बजारमा परिणत हुन थालेका छन् । अब कोक, पेप्सी, भोडकाजस्ता अन्तर्राष्ट्रिय पेय र मदिरा उत्पादन र चकलेटदेखि फेसनेबल सौन्दर्य क्रिम र अत्तरहरूको विज्ञापन होर्डिङबोर्डहरू ग्रामीण बजारमा समेत व्यापक छ । कतै–कतै त यी उत्पादक कम्पनीले दसैँको अवसरमा पूजा र अन्य सांस्कृतिक कार्यक्रम नै प्रायोजन गरेका हुन्छन्, जसमा मन्त्रीदेखि स्थानीयस्तरका नेताहरूसम्मले पूजापाठ र देवी–देउताको महिमागान गर्दै भाग लिएका हुन्छन् । ‘यस वर्षको दसैँमा माता दुर्गाले तपाईंलाई सबै किसिमको अशुभबाट रक्षा गरून्’ र ‘यस वर्षको दसैँ फलाना पेयसँग मनाउनुको मज्जा’ भन्ने बोर्डमा भनिएको अशुभमा बोक्सीको अन्धविश्वास पनि निहित हुन्छ । यसबाट के देखिन्छ भने वर्तमानमा दसैँ, दुर्गापूजा, मेला, झिझिया र यसको विराट् सांस्कृतिक विभ्रमको संयोजनमा सामान्य मानिसको पुरातन मनोविज्ञान मात्र होइन, राज्य, धर्म र व्यापार पनि सामेल छ । अझ भनौँ, व्यापारको प्रायोजनमा धर्म र राज्य दुवै सामेल छ । 

जब धर्मनिरपेक्ष राज्यका राष्ट्रपति र प्रधानमन्त्रीहरूसमेत सांस्कृतिक संरक्षणको नाममा टीका थाप्छन्, यसले आमजनमा विद्यमान अन्धविश्वासलाई झन् बलियो बनाउँछ । जनसमुदायमा रहेका आस्थाको सम्मान गर्नुलाई एउटा हदसम्म उचित भनिए पनि राज्यका प्रतिनिधि आफँै त्यसमा सामेल हुनु धर्मनिरपेक्षताको सिद्धान्तप्रतिको उपेक्षाभाव नै हो । यसको पक्षमा जतिसुकै तर्क दिए पनि अन्ततः त्यसमा निहित अन्धविश्वासको संरक्षण नै हो । तर, आधुनिक चेतना र ज्ञान उल्टो दिशामा घुमेको र अनेक निहुँमा विज्ञानमाथि जड धार्मिक चेतनाको श्रेष्ठताको वर्चस्व रहेको स्थितिलाई प्रतिगामिताबाहेक अरू के नै भन्न सकिन्छ ! 

तर सत्य त सत्य हो, दसैँमा निहित सांस्कृतिक चेतना यस्तो सामाजिक मनोविज्ञानबाट जन्मेको हो, जो अहिले मृत अवशेष मात्र छ र यसलाई संग्रहालयमा राख्नु नै उचित हुनेछ । आधुनिक युगमा सांस्कृतिक उत्सवका नयाँ स्वरूप र युगानुकूल चेतनाको विकास नै युगसम्मत हुनेछ । होइन भने दसैँ र देवीपूजाको पुरातन चेतनामा आधारित नारीशोषण, उत्पीडन, बलात्कार र हत्या (नरबलि) सम्मको जघन्य घटनालाई महसुस गर्न नसक्नु कि ज्ञानशून्यता कि धूर्तता हो ।