१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ कार्तिक १९ बुधबार ०५:१०:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाका गम्भीर बिरामी बढ्दै, तर अस्पतालहरूमा छैन अक्सिजन प्लान्ट

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १९ बुधबार ०५:१०:००

मन्त्रालय भन्छ– रकम पठायौँ, तर सबै फ्रिज भयो

कोरोनाको लक्षणसहितका बिरामी र सिकिस्त हुनेहरूको संख्या दिनदिनै बढिरहेको छ । तर, अस्पतालहरूमा बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको भने अभाव हुँदै छ । देशभरका नौ अस्पतालमा मात्रै अक्सिजन प्लान्ट छ । 

चिकित्सकहरूका अनुसार अहिले कोरोना संक्रमितहरूलाई आइसियू, भेन्टिलेटरभन्दा पनि मेडिकल अक्सिजनको आवश्यकता धेरै छ । त्यसको अभाव हुन नदिन अस्पतालमा अक्सिजन प्लान्टको आवश्यकता महसुस गरिएको छ । तर, सरकारले नयाँ प्लान्ट थप्नु त परको कुरा भएका प्लान्टको पनि मर्मतसम्भार गरेको छैन । वीर र पाटन अस्पतालको प्लान्ट बिग्रेर काम नलाग्ने भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उपत्यकाभित्र टेकु अस्पताल, वीरेन्द्र सैनिक, अल्का, ग्रान्डी, नर्भिक र शिक्षण अस्पतालमा मात्रै अक्सिजन प्लान्ट छ । उपत्यकाबाहिर धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज र चुरेहिल अस्पताल अस्पतालमा प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्ता प्लान्टबाट पाइपमार्फत बिरामीको शय्यासम्मै अक्सिजन आपूर्ति गरिएको हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका अस्पतालमा दुई हजार आठ सय ४४ सिलिन्डर छन् ।

चिकित्सकका अनुसार कोरोना संक्रमितलाई भाइरसले मुख्य गरी फोक्सोमा निमोनिया गराउने र सास लिने क्षमतामा ह्रास ल्याउँछ, जसले गर्दा अक्सिजनको बढी आवश्यकता पर्छ । ‘सामान्यतया अरू बिरामीको रगतमा अक्सिजन स्याचुरेसन ९० पुग्दा अक्सिजन दिने गरिन्छ भने कोरोनाका बिरामीमा ९५ तिर पुगेपछि दिने गरिन्छ,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने । उनका अनुसार एक संक्रमितलाई प्रतिमिनेट १५ देखि ६० लिटरसम्म अक्सिजन दिनुपर्छ । कोरोना संक्रमितलाई अब सिलिन्डरको माध्यमबाट अक्सिजन दिएर पुर्‍याउन नसकिने भन्दै टेकु अस्पतालले केही महिनाअघि लिक्विड प्लान्ट जडान गरेको छ । 

कोरोना संक्रमणबाट हुने मृत्युलाई कम गराउन अब अक्सिजन जेनेरेटर प्लान्ट वा लिक्विड अक्सिजन प्लान्ट अनिवार्य चाहिने चिकित्सकहरू बताउँछन् । जेनेरेटर प्लान्टले दिनमा २५ वटासम्म सिलिन्डर भर्न सकिन्छ । तर, एक सयदेखि पाँच सयसम्म सिलिन्डर खपत हुने अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट चाहिन्छ । यसले एकैपटकमा ५० बिरामीलाई अक्सिजन दिन सक्छ ।

पाटन अस्पतालका चिकित्सक यज्ञराज पोखरेलले पनि आइसियू–भेन्टिलेटरमा भन्दा पनि अब अक्सिजन प्लान्ट निर्माणमा जोड दिनुपर्ने बताए । उनले सबै ठूला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरी वितरणमा सहजता ल्याउनुपर्ने बताए । 

स्वास्थ्य मन्त्रालयले भने आर्थिक वर्ष ०७६/७७ मा अक्सिजन प्लान्ट व्यवस्थापन गर्न २१ अस्पताललाई दुई करोड ६० लाख पठाएको, तर कसैले पनि काम नगर्दा रकम फ्रिज भएको जनाएको छ । ‘हामीले रकम पठाउँछौँ, तर सम्बन्धित अफिसको लेखाले सार्वजनिक खरिद ऐन पल्टाउँछ र मिल्दैन भन्दिन्छ । अख्तियारमा बयान दिन जाने झन्झटले खरिद नगरेको पाइयो । टेकु अस्पतालले मात्रै निर्माण गरेको छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने । 

स्वास्थ्य मन्त्रालयका अनुसार अक्सिजन प्लान्ट निर्माणका लागि कर्णाली स्वास्थ्य विज्ञानलाई ६० लाख दिइएको थियो । त्यस्तै, कोसी अस्पताल, मेची, जनकपुर, नारायणी, सगरमाथा, पाटन अस्पताल, टेकु अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, भरतपुर अस्पताल, धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पताललाई १०–१० लाख दिइएको थियो । 

हालसम्म देशभर ३७ जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ । उनीहरूमध्ये अधिकांशको मेडिकल अक्सिजन नपाउँदा निधन भएको चिकित्सकहरूले बताउँदै आएका छन् । मंगलबारसम्म देशभर ३० हजार ६ सय ९४ संक्रमित होम आइसोलेसनमा छन् । ६ हजार सात सय ८२ संक्रमित मात्रै संस्थागत आइसोलेसनमा चिकित्सकीय निगरानीमा छन् । 

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । पाँच प्रतिशत गम्भीर अवस्था र १५ प्रतिशत लक्षणसहितका हुन्छन् । चिकित्सकहरूले बताएअनुसार ती २० प्रतिशत बिरामीलाई कुनै पनि वेला अक्सिजन दिनुपर्ने हुन सक्छ । 

कोरोनाबाट मृत्यु हुनेको संख्या १००४ पुग्यो 
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार पुगेको छ । पछिल्लो २४ घन्टामा २० जनाको मृत्यु भएपछि कुल मृत्यु हजार नाघेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ९ माघयता १४ लाख ८० हजार नौ सय ७८ नमुनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्ये एक लाख ७९ हजार ६ सय १४ जनामा संक्रमण देखिएको थियो । एक लाख ४१ हजार एक सय ३४ जना भने निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार चार सय ७६ छ । पछिल्लो २४ घन्टामा तीन हजार एक सय १४ संक्रमित थपिएका छन् । सक्रिय संक्रमितमध्ये तीन सय ७२ जना आइसियू र ६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।