Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार २०:२५:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

वाट्सनद्वारा सबैखाले क्रिकेटबाट सन्न्यास

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार २०:२५:००

अस्ट्रेलियाका अलराउन्डर सेन वाट्सनले सबै किसिमको क्रिकेटबाट सन्न्यास लिएका छन् । २० वर्षको गर्विलो क्रिकेट करिअरबाट विश्राम लिएको वाट्सनले मंगलबार टि्वटरमार्फत जानकारी दिएका हुन् । 

सन् २०१६ मा वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रबाट सन्न्यास घोषणा गरेका थिए । त्यसयताको चार वर्ष उनी केवल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा व्यस्त भए । 

गत वर्ष उनले अस्ट्रेलियामै आयोजना भएको बिग बासबाट पनि सन्न्यास लिएका थिए । उनको सन्न्याससँगै चेन्नई सुपर किंग्सले ठूलो क्षति व्यहोरेको छ । यद्यपि यसपटकको १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा वाट्सनको प्रदर्शन सम्झन लायक छैन । गत अक्टोबर २९ को दिन कोलकाता नाइट राइडर्सविरुद्धको खेल नै उनको अन्तिम टी–२० फ्रेन्चाइज खेल रह्यो । 

आइपिएलमा उनले यसपटक १२१.०५ को स्ट्राइकमा दुई सय ९९ रन मात्र बनाए । आफ्नो अन्तिम आइपिएल लिगमा उनले कोलकाताविरुद्ध १४ रन मात्र जोड्न सके । ‘वाट्सनले पाँच वर्षको उमेरदेखि नै क्रिकेट पछ्याएका थिए । त्यसैताका उनले आफ्नी आमालाई भविष्यमा अस्ट्रेलियन क्रिकेट टोलीबाट प्रतिस्पर्धा गर्ने बताएका थिए । 

वाट्सन भन्छन्, ‘मेरो क्रिकेट करिअर पाँच वर्षको हुँदादेखि नै सुरु भएको हो, जब म बच्चामा टेस्ट खेल हेर्दै आमालाई भन्थेँ, एक दिन म अस्ट्रेलियाको जर्सीमा देखिनेछु र त्यो सपना पूरा गर्छु ।’ आधिकारिक रूपमै क्रिकेट छाड्दा दुःख र सुख दुवै लागेको उनको भनाइ छ ।

‘आधिकारिक रूपमा मैले आजबाट सबै किसिमको क्रिकेटबाट बिदा लिएको छु, यो निर्णय पागलपन हो, कसैलाई पनि खेल छाड्न मन लाग्दैन,’ भावुक हुँदै उनले भने, ‘अस्ट्रेलियन टोलीबाट खेल्नु पाउनु मेरो भाग्य हो, मैले बाल्यकालमा देखेको सपना पूरा गर्न पाएँ, त्यो नै सबैभन्दा खुसीको क्षण हो ।’

उनले चेन्नईमा रही प्रतिस्पर्धा गरेको हरेक क्षण स्मरणीय भएको बताए । चेन्नईले राम्रो र नराम्रो फर्ममा रहँदा पनि आफूमाथि विश्वास गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘पछिल्लो तीन वर्षमा चेन्नईले ममाथि धेरै विश्वास गऱ्याे, यद्यपि राम्रो र नराम्रो हुँदा पनि सधैँ मेरो साथ नै थियो, सन्न्यास लिनुपर्ने समय आएको थियो ।’ 

अन्तर्राष्ट्रिय क्रिकेटमा वाट्सनलाई एक राम्रा अलराउन्डरका रूपमा लिने गरिन्छ । चाहे टेस्ट वा एकदिवसीय किन नहोस् उनले आफूलाई सधैँ अगाडि नै राखेका छन् । टेस्टमा उनले ओपनिङ गर्दै तीन हजार सात सय ३१ रन बनाएका छन् । उनले यसक्रममा चारपटक शतकीय इनिङ्स खेले । 

टेस्टमा उनले तीनपटक पाँचभन्दा बढी विकेट लिएका छन् । समग्रमा उनले टेस्टमा ७५ विकेट आफ्नो नाममा लेखाए । सेतो बलमा खेलिने एकदिवसीय खेलमा वाट्सन डरलाग्दा अलराउन्ड नै हुन् । उनले यसमा महारथ हासिल गरेका छन् । एकदिवसीयमा ४०.५४ को औसतमा पाँच हजार सात सय ५७ रन उनले बताएका छन् । यसमा नौ शतक समावेश छ । 

वाट्सनले अस्ट्रेलियन टोलीबाट दुईपटक एकदिवसीय विश्वकप उपाधि उचालेका छन् । सन् २०१५ मा अस्ट्रेलियाले एकदिवसीय विश्वकप उपाधि उचाल्दा वाट्सन नै टोलीका मुख्य हतियार थिए । सन् २००७ मा उनी पहिलोपटक विश्व च्याम्पियन बनेका थिए । २००६ र २००९ को च्याम्पियन्स ट्रफीमा उनी म्यान अफ दी म्याच भएका थिए । 

टी–२० खेलमा उनले १४५.३२ को स्ट्राइकमा एक हजार चार सय ६२ रन जोडेका छन् । साथै उनले ७.७६ को रनरेटमा ४८ विकेट हात पारेका छन् । सन् २०१२ को श्रीलंकामा सम्पन्न टी–२० विश्वकपमा उनी म्यान अफ दी सिरिज भएका थिए । सो विश्वकपमा वाट्सनले २४९ रन बनाउँदा एक सय ५० को स्ट्राइक राखेका थिए । सो विश्वकपमा उनी ११ विकेटका साथ सर्वाधिक विकेट लिने पंक्तिमा दोस्रो स्थानमा रहे ।

आइपिएलको पहिलो सिजनमै उनी म्यान अफ दी सिरिज भएका थिए । २००८ को पहिलो आइपिएल सिजनमा उनी राजस्थान रोयल्ससँग आबद्ध थिए । राजस्थानले पहिलो संस्करणको आइपिएल जित्दा वाट्सनले चार सय ७२ रनको योगदान दिएका थिए । साथै उनले १७ विकेट पनि हात पारे ।

राजस्थानबाट २००८ देखि २०१५ सम्म वाट्सनले ७८ खेल खेले । त्यसपछि उनी रोयल्स च्यालेन्जर्स बेंग्लोरमा आबद्ध भए । पछिल्लो दुई सिजनदेखि उनी चेन्नई सुपर किंग्समै छन् ।