१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक १८ मंगलबार ०९:०७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चौरसिया हत्या घटनामा थप एकजना पक्राउ

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १८ मंगलबार ०९:०७:००

नेकपा पर्साको बिन्दबासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या आरोप लागेका थप एक फरार आरोपीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिन्दबासिनी गाउँपालिका–४ मधवल बस्ने ३२ वर्षीय उत्तम तिवारी भन्ने नीरञ्जन तिवारी रहेका छन् । 

हत्याको आरोप लागेका तिवारी फरार भई वीरगन्ज इनर्वामा लुकिछिपी बसिरहेको अवस्थामा आइतबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको हो । ६ कात्तिकमा शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते भएका मुकेशको उपचारका क्रममा ७ कात्तिकमा मृत्यु भएको थियो । 

त्यसमा घटनाका आरोपी नीरञ्जन तिवारी र चिन्टु तिवारी घाइते भएपछि उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना भएका थिए । प्रहरीका अनुसार मुकेशको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सूचना पाएपछि उपचार गराइरहेका उत्तम र उनका भाइ चिन्टु भागेका थिए । उत्तमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चिन्टु अझै फरार छन् । 

हत्या आरोपी नौजना अझै फरार
मुकेशको हत्यामा संलग्न रहेको आरोप लगाउँदै मृतकका भाइ महेशले दिएका जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि १३ कात्तिकमा सरकारी वकिल कार्यालयमार्फत १२ जनामाथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो । उनीहरूमध्ये नौजना भने फरार रहेका छन् । 

नेकपाका नेता एवं पूर्वसांसद राजकुमार गुप्ता, धीरज चौरसिया, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मिया देवान, देवा सहनी मलाह र जनार्दन चौहानविरुद्ध जाहेरी परेको हो । उनीहरूमध्ये हनिफ मिया देवान, उत्तम तिवारी र देवा सहनी मलाह प्रहरी नियन्त्रणमा छन् भने बाँकी सबै फरार रहेका छन् । जसमा देवान र मलाहलाई ६ कात्तिकमै पक्राउ गरिएको थियो । 

उनीहरूको खोजी तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयकी एसपी गंगा पन्तले बताइन् । घटनामा प्रत्यक्ष रूपमा देखिएका व्यक्तिलाई प्राथमिकतामा राखेर खोजी कार्य तीव्र रूपमा अगाडि बढेको उनको भनाइ छ ।