१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक १८ मंगलबार ०८:४३:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अतिक्रमित सार्वजनिक जग्गामा पार्क बनाउँदै महानगर

Read Time : > 4 मिनेट
२०७७ कार्तिक १८ मंगलबार ०८:४३:००

सार्वजनिक जग्गा र खुला क्षेत्र संरक्षण गर्न चार दर्जन पार्क निर्माण गर्ने योजना, यस वर्ष २५ पार्कका लागि २७ करोड विनियोजन

ओखलढुंगाका रामप्रसाद भट्टराईले ०२१ को नापीअनुसार धोबीखोलाले चर्चेको भत्केको पुलनजिकैको ३६ रोपनी ४ आना जग्गामा आफू मोही भएको दाबी गरे । सर्वोच्च अदालतले पनि ९ फागुन ०७२ मा काठमाडौं महानगरपालिका–४, ५ र ७ मा पर्ने त्यो जग्गा भट्टराईकै हुने फैसला गर्‍यो । तर, काठमाडौं–५ का वडाध्यक्ष रमेश डंगोलले खोला बगेको सार्वजनिक जग्गा व्यक्तिको हुनै नसक्ने दाबी गर्दै जग्गाको सर्जिमिन मुचुल्का गरेनन् ।

सर्वोच्चको फैसलाकै आधारमा त्यो जग्गा भट्टराईका नाममा नामसारी गर्न कहिले मालपोतको पत्र आउँछ त कहिले कर्मचारी नै पुग्छन् । तर, वडाध्यक्ष डंगोलले भने सार्वजनिक जग्गा व्यक्तिका नाममा जान नदिने र संरक्षण गर्ने अडान लिँदै आएका छन् । ‘नापी हुँदा यो जग्गा खोलाको हो, त्यसवेला मोही पनि उल्लेख छैन,’ वडाध्यक्ष डंगोल भन्छन्, ‘उहाँको यहाँ आसपास जग्गा छैन, यहाँको मान्छेसमेत उहाँ होइन । ओखलढुंगामा जन्मिएको मान्छेले यहाँको जग्गा कहिले खनजोत गर्नुभयो ? कसरी मोही कायम हुनुभयो ?’

फर्जी कागज जुटाएर सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजाने चलखेल रोक्न आफूले अडान लिएको उनको भनाइ छ । ‘अदालतले ओखलढुंगाका मान्छेलाई मोही कायम गरिदिएको छ, उनी कहिले यहाँ आएर खनजोत गरे ? म पनि स्थानीय नै हुँ, मैले अहिलेसम्म देखेको छैन । यो अनधिकृत कार्य मैले जानाजानी गर्न कसरी दिनु ?,’ वडाध्यक्ष डंगोल भन्छन् ।

उनका अनुसार यो जग्गामध्ये पाँच रोपनी ११ आना जग्गा गुठीको नाममा दर्ता गरेर पूर्णबहादुर थापा र कृष्णबहादुर थापा मोही बसेका छन् भने एक रोपनी जग्गामा उद्धव केसीले घर बनाएका छन् । उनीहरूको समेत त्यहाँको जग्गा हडप्ने कुनै आधार नभएको उनको भनाइ छ । सार्वजनिक जग्गामा व्यक्तिको आँखा लाग्न थालेपछि वडाले उपत्यका विकास प्राधिकरणसँग समन्वय गरी पर्खाल लगाएर संरक्षण गरेको छ ।

अब काठमाडौं महानगरले त्यही जग्गामा महानगर ज्येष्ठ नागरिक पार्क, नरबुद्ध विहार पार्क र महानगर बाजेबज्यै पार्क निर्माण गर्ने भएको छ । यस्तै अन्य अतिक्रमित सार्वजनिक जग्गामा महानगरले पार्क बनाउने भएको छ । वडैपिच्छे सार्वजनिक जग्गा र खुला क्षेत्र संरक्षण गर्न चार दर्जनभन्दा बढी पार्क निर्माण गर्ने योजना अघि सारिएको छ । व्यक्तिले हडपेका सरकारी सार्वजनिक जग्गा फिर्ता ल्याएर तिनको संरक्षण र हरियाली प्रवर्द्धनका लागि पार्क निर्माणको योजना अघि सारिएको मेयर विद्यासुन्दर शाक्यले बताए । काठमाडौं–१८ को विष्णुमती नदीकिनारमा बनेको पुष्पलाल स्मृति पार्क उद्घाटन गर्दै मेयर शाक्यले भने, ‘सयौँ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेका छन् । तिनको खोजी गरी फिर्ता ल्याउने काम भइरहेको छ, सबै सरकारी जग्गा र सार्वजनिक स्थलको संरक्षण हुन्छ ।’ 

आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत महानगरले इन्जिनियरिङ र आर्किटेक्ट विद्यार्थीलाई सामेल गराएर करियर क्याम्प सञ्चालन गरेको थियो । क्याम्पबाट महानगर क्षेत्रका सार्वजनिक क्षेत्रमा ६५ वटा पार्क निर्माण गर्न इस्टिमेट तयार भएको छ । तीमध्ये आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को बजेटबाट चार दर्जनभन्दा बढी पार्कमा बजेट विनियोजन भएको महानगरको पूर्वाधार महाशाखाका प्रमुख राम थापाले बताए । ‘केही पार्कको निर्माण सकिएको छ । अरू दुई दर्जन पार्क सम्झौता भएर कार्यान्वयनको चरणमा छन्, यो वर्षको बजेटमा थप २५ वटा पार्क निर्माण गर्ने योजना स्वीकृत भएको छ,’ महाशाखा प्रमुख थापाले भने, ‘सबै पार्कका लागि करिब ६० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।’

यस वर्षको बजेटमा २० लाखदेखि ६ करोडसम्मका २५ वटाभन्दा बढी पार्क निर्माणका योजना समेटिएका छन् । ती पार्कका लागि महानगरले २७ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘काठमाडौँ महानगर घना बस्ती बसेको सहर हो, महानगरवासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन पनि त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्नुपर्ने अवस्था छ,’ महाशाखा प्रमुख थापाले भने, ‘पार्क निर्माणले जग्गाको संरक्षण पनि हुन्छ, हरियाली प्रवद्र्धन गरेर स्थानीय, ज्येष्ठ नागरिक र सर्वसाधारणलाई टहलिने ठाउँ पनि हुन्छ ।’

तीन पार्क तयार, एक दर्जनको निर्माण सुरु
काठमाडौं–२३ मा सहिद धर्मभक्त माथेमा पार्क, वडा नं. ३१ मा हनुमान पार्क, गणेश मन्दिर पार्क र लोकेश्वर महादेव मन्दिर पार्कको निर्माण पूरा भएको छ । यस्तै, अन्य वडामा टुँडालदेवी पार्क, टुसाल पार्क, मदन भण्डारी पार्क, सुकेधारा कृष्ण गल्ली पार्क, बाँसबारी इकोपार्क, न्ह्योखा पार्क, शान्ति नमुना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, रानीबारी पोर्पा अजिमा पार्कलगायत पार्क निर्माणको काम सुरु भइसकेको छ । 

आर्थिक वर्ष ०७७/७८ को बजेटमा महानगरले पार्क निर्माणका लागि करिब २७ करोड बजेट विनियोजन गरेको छ । विगतदेखि प्राथमिकतामा राखेको वडा नं. ३२ को तीनकुने बुद्ध पार्कका लागि यो वर्ष एक करोड रुपैयाँ विनियोजन भएको छ । यो बजेटले डिपिआर बनाउने योजना छ ।

सार्वजनिक जग्गाको विवरण छैन
महानगरले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान सुरु गरे पनि आफ्नो क्षेत्रमा कति सार्वजनिक जग्गा छ ? तिनको अवस्था कस्तो छ ? भन्ने यकिन विवरण महानगरसँग छैन । संविधानले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण गर्ने अधिकार स्थानीय तहलाई दिएपछि महानगरले वडाहरूलाई त्यस्तो जग्गाको विवरण तयार गर्न पटक–पटक पत्राचार गरेको छ । तर, छिटफुटबाहेक २० भन्दा बढी वडाले त्यस्तो विवरण उपलब्ध गराएका छैनन् ।

सार्वजनिक जग्गाको विवरण सबै वडासँग माग गरिए पनि केही वडाबाट मात्रै त्यस्तो विवरण प्राप्त भएको महानगरका अधिकारी बताउँछन् । ‘पुरानो तथ्यांकअनुसार धेरै जग्गा छ, तर हाल ती जग्गाको अवस्था कस्तो छ भनेर सबै वडालाई तथ्यांक उपलब्ध गराउन ताकेता गरेका छौँ,’ महानगरका एक अधिकारीले भने । महानगरले अतिक्रमण हटाउने र संरक्षण गर्ने कार्ययोजनासहित त्यस्तो जग्गाको विवरण वडा कार्यालयसँग पटक–पटक माग गरेको छ । तर, त्यस्तो विवरण यकिन गर्न वडालाई समेत सकस परेको छ ।

कुन पार्कमा कति बजेट ?
महानगरले डिजाइन तयार भइसकेका पार्क निर्माणका लागि पाँच–दश लाखदेखि चार करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको छ । महानगरले वडा नं. ५ मा निर्माण हुने नरबुद्ध विहार पार्कका लागि डेढ करोड, वडा नं. १५ को सहिद पार्कका लागि एक करोड र वडा नं. १४ को ज्ञानतीर्थ पार्कका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ । 

त्यस्तै, वडा नं. ८ को गुह्येश्वरीपारि पार्कका लागि २० लाख, कालोपुल र भत्केको पुलबीचमा आइल्यान्ड निर्माण गर्न ४० लाख, धुम्बाराही पार्कका लागि एक करोड, वडा नं. ४ मा शिवस्थली पार्कका लागि एक करोड, वडा नं. १४ को खड्का गाउँ पार्कका लागि ३० लाख, बालाजु पार्क र स्विमिङ पुलका लागि एक करोड तथा रानीपोखरी क्षेत्र पार्कका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । भृकुटी मण्डपमा निर्माण हुने मेघा हल परिसरमा समेत ६० प्रतिशत स्थान खुला राखेर पार्क बनाउने महानगरको योजना छ ।

महानगरपालिकाले दिएको जानकारीअनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत दुई करोड, वडा नं. ७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा नं. ३१ मा ज्येष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि बहुवर्षीय योजनामा दुई करोड, वडा नं. ३२ को कोटेश्वर महादेवस्थानमा पार्क निर्माणका लागि ५० लाख, जनमैत्री हरित उद्यान निर्माणका लागि एक करोड, महानगर ज्येष्ठ नागरिक पार्क निर्माणका लागि एक करोड, वडा नं. ११ को चेसपार्कका लागि ३६ लाख र वडा नं. ४ को महानगर बाजेबज्यै पार्कको बहुवर्षीय योजनाका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, वडा नं. १० मा स्ट्रिड फुटपार्कका लागि २५ लाख, सानो गौचरण पार्कका लागि एक करोड, मैतीदेवी पार्कका लागि ५० लाख, जागृति बाल उद्यानका लागि ५० लाख, मनोहरा नदी किनार पार्कका लागि ५० लाख, खुला योगशाला तथा पार्कका लागि ५० लाख र विशालनगर पार्कका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।