मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १०:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक खर्ब १३ अर्ब पुनर्कर्जा माग

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १०:०७:००

कोभिड–१९ का कारण आफ्नो व्यवसाय प्रभावित भएको भन्दै व्यवसायीहरूले १ खर्ब १३ अर्ब रुपैयाँबराबरको पुनर्कर्जा माग गरेका छन् । एकमुष्ट रूपमा प्रदान गरिने लघु, घरेलु तथा साना उद्यम कर्जा र साधारण तथा विशेष कर्जाअन्तगत ४४ बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीहरूले ७२ अर्ब रुपैयाँ पुनर्कर्जाको माग गरेका छन् । त्यस्तै, ग्राहकअनुसार अधिकतम २० करोड रुपैयाँसम्म प्रवाह हुने कर्जाअन्तर्गत २ सयभन्दा बढीले ४१ अर्ब रुपैयाँ माग गरेका छन् । 

राष्ट्र बैंकले असोज मसान्तसम्म पुनर्कर्जाका लागि बैंक तथा वित्तीय संस्थाबाट एकमुष्ट आवेदन माग गरेको थियो । एकल ग्राहकमा जाने पुनर्कर्जाका लागि भने बैंक तथा वित्तीय संस्थाले सोझै राष्ट्र बैंकमा माग आवेदन पेस गर्न सक्छन् ।

 एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जामा कोषको कुल रकमबाट ७० प्रतिशतसम्म र ग्राहकअनुसार भने कोषको रकमबाट २० प्रतिशतसम्म पुनर्कर्जा प्रवाह हुने व्यवस्था छ । कोषको १० प्रतिशत रकम भने लघुवित्त कम्पनीहरूबाट प्रवाह हुनेछ । यसको माग भने हाल गरिएको छैन । होटेल व्यवसायीहरूले मात्रै ८ अर्ब ७० करोड रुपैयाँको पुनर्कर्जा माग गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । बागमती प्रदेशबाट सबैभन्दा धेरै १८ अर्ब रुपैयाँको माग परेको छ । 

 कोषमा ४२ अर्ब ५० करोड
१ खर्ब १३ अर्बको पुनर्कर्जा मागमा सबै योग्य भएमा राष्ट्र बैंकले ७० अर्ब ५० करोड रुपैयाँ नगद छापेर नै वितरण गर्नुपर्ने हुन्छ । अहिले पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ मात्र छ ।

राष्ट्र बैंकले प्रणालीमा नरहेको, तर छापेर आइसकेको मुद्रा भएमा त्यसलाई बजारमा पठाउन सक्छ । त्यस्तै, पुनर्कर्जा कोषमा भएको रकमको पाँच गुणासम्म राष्ट्र बैंकले कर्जा लगानी गर्न सक्नेछ । हाल ४२ अर्ब ५० करोड रुपैयाँ रहेको कोषको आकार २ खर्ब १२ अर्बसम्म बनाउन सकिनेछ । ‘कोषमा भएको भन्दा बाँकी सबै रकम छाप्नैपर्छ भन्ने हुँदैन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘हाम्रा अन्य कोषहरूमा के–कति जम्मा हुँदै छ, त्यो पनि प्रयोग गर्न सकिन्छ ।’ 

गोदाममा रहेका वा छापेर नयाँ मुद्रा पठाउँदा भने दायित्व बढ्ने हुँदा त्यहीअनुसार सम्पत्ति राष्ट्र बैंकले राख्नुपर्ने हुन्छ । बजारमा थप मुद्रा पठाउँदा मुद्रा प्रवाहसमेत बढ्नेछ भने यसले मुद्राको अवमूल्यनसमेत हुनेछ र महँगी बढ्नेछ । विस्तृत मुद्रा प्रवाह भदौमा शून्य दशमलव ९ प्रतिशतले बढेर ४२ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । चलनचल्तीको मुद्रा भने २ प्रतिशतले बढेर ५ खर्ब रुपैयाँ छ ।  

पुनर्कर्जाका लागि आएको मागमा एकमुष्ट रूपमा प्रदान गरिने कर्जा बैंक तथा वित्तीय संस्थाले नै ग्राहकको अवस्थाअनुसार लगानी गर्न सक्नेछन् । ग्राहकअनुसार प्रदान गरिने कर्जाको भने राष्ट्र बैंकले समेत मूल्यांकन गर्नेछ ।   

लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि बैंकहरूले राष्ट्र बैंकबाट क्रमशः २, ३ र १ प्रतिशत ब्याजदरमा पुँजी पाउनेछन् । यसरी पाएको रकममा यी शीर्षकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले क्रमशः ५, ५ र ३ प्रतिशतमा कर्जा लगानी गर्नुपर्छ । एकल ग्राहक कर्जालाई साधारण पुनर्कर्जाअन्तर्गत राखिएकाले सोहीअनुसार ब्याजदर लागू हुन्छ ।