मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक १८ मंगलबार ०१:४४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना संक्रमितलाई अस्पतालमा भर्ना पाउनै कठिन, तर उपत्यकाबाहिरका २३ अस्पतालमा १,२५८ बेड खाली

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १८ मंगलबार ०१:४४:००

देशैभर कोरोना संक्रमितले कोभिड अस्पतालमा सघन उपचार कक्ष आइसियू, भेन्टिलेटर मात्रै होइन आइसोलेसन बेडसमेत पाएका छैनन् । ‘बेड खाली छैनन्’ भन्दै अस्पतालले बिरामी भर्नामा आनाकानी गरिरहेका छन् । तर, उपत्यकामा मात्रै होइन बाहिरसमेत आधाभन्दा बढी बेड अहिले पनि खाली रहेको पाइएको छ । 

नयाँ पत्रिकाले सोमबार उपत्यकाबाहिरका सातै प्रदेशका २३ वटा कोभिड अस्पतालमा सम्पर्क गर्दा कोरोनाका लागि मात्रै उपचार गर्ने भनेर छुट्याइएको एक हजार आठ सय १० बेडमध्ये एक हजार दुई सय ५८ बेड खाली रहेको पाइएको छ । ती अस्पतालमा पाँच सय ५२ जना कोरोना संक्रमित मात्रै भर्ना छन् । तीमध्ये एक सय ४७ आइसियू र २३ जना भेन्टिलेटरमा छन् ।

यी २३ अस्पतालमा एक सय ९७ वटा आइसियू बेड रहेकोमा ५० बेड आइसियू अहिले पनि खाली छन् । ती अस्पतालमा ८२ वटा भेन्टिलेटरमध्ये ५९ वटा खाली नै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक उपलब्ध गराउन नसकेपछि नयाँ पत्रिका आफैँले अस्पतालमा सम्पर्क गरी कोरोना संक्रमित भर्ना र खाली बेडबारे जानकारी लिएको थियो । 

अस्पतालहरूबाट प्राप्त तथ्यांकअनुसार कोभिड उपचार हुनेमध्ये चारवटा अस्पतालमा मात्रै पूर्ण क्षमताअनुसार चाप छ । यता आइसियू बेडमा भने सातवटा अस्पतालमा पूर्ण चाप छ । धनगढी अस्पताल, सेती अञ्चल अस्पताल, विराट मेडिकल कलेज र भीम अस्पतालमा आइसोलेसन बेड भरिएका छन् । त्यसैगरी भरतपुर अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती अञ्चल अस्पताल, चितवन मेडिकल कलेज र विराट मेडिकल कलेजमा पूर्ण क्षमतामा आइसियूको चाप छ । 

काठमाडौं उपत्यकामा १४ कात्तिकसम्म १९ सय ५५ बेडमध्ये आधा संख्या अर्थात् एक हजार ६९ बेड खाली भएको सरकारी तथ्यांकले देखाएको थियो । उक्त अवस्था अहिले पनि उस्तै छ । 

देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन् । तर, संक्रमितहरू अस्पतालमा बेड नपाएर होम आइसोलेसनमै मर्न थालेका छन् । 

विशेषज्ञको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली

देशैभर ठूलो संख्यामा बेड खाली हुँदा पनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाउँदै आएका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा मूकदर्शक बनेको स्वास्थ्य मन्त्रालयले बल्ल अनुगमन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले अस्पतालहरूमा आइसोलेसन बेड, आइसियू र भेन्टिलेटरको संख्या र बिरामी भर्नाको अवस्थाबारे अनुगमन सुरु भएको बताए । गत १४ कात्तिकमा नयाँ पत्रिका दैनिकले कोभिडका लागि छुट्याइएका उपत्यकाका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ? भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण र नियमनका क्षेत्रमा विगतमा काम गर्दै आएका शाखा–महाशाखाको अधिकार खोसेर मन्त्रालयमातहत बाह्रौँ तहलाई काम गर्ने जिम्मेवारी दिएको छ । 

अनुगमन समितिका संयोजक डा. पोखरेलले जिम्मेवारी पाएसँगै काम सुरु गरेको बताए । उनले तथ्यांकमा बेडहरू थुप्रै खाली देखिएको, तर बिरामीले आइसियू, भेन्टिलेटर मात्रै होइन साधारण कोभिडका लागि आइसोलेसन बेडसमेत जनताले नपाएको कुरा बाहिर आएपछि आइतबारबाटै काम थालेको बताए । ‘हामीले अस्पतालको व्यवस्थापन, बेडहरूको अवस्था मात्रै होइन कति बिरामी भर्ना छन् भन्नेसम्म गहन रूपमा हेर्नेछौँ,’ डा. पोखरेलले भने, ‘सोमबार उपत्यकाका शिक्षण अस्पताल, वीर अस्पताल, आर्मी अस्पताल र सशस्त्र प्रहरी अस्पतालको अनुगमन भएको छ । बाँकी अस्पतालको अनुगमन मंगलबार हुनेछ ।’ उपत्यका मात्रै होइन, अब टोलीले उपत्यकाबाहिरका अस्पतालको अनुगमनका लागि केन्द्रबाट मौखिक जानकारी लिने र प्रदेशबाट फिल्डमा टिम पठाउनेछ । यसअघि जिम्मेवारीविहीन बनाइएका प्रमुख विशेषज्ञहरूलाई जिम्मेवारी तोकेर राम्रो कामको थालनी मन्त्रालयले गरेको छ । 

२४ घन्टामा २४ जनाको मृत्यु 

कोरोना संक्रमणका कारण मुलुकमा सोमबार २४ घन्टामा २४ जनाको मृत्यु भएको छ । आइतबार २३ जनाको मृत्यु भएको थियो । जसमध्ये १८ जना काठमाडौंका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा १३ हजार चार सय ४६ वटा नमुनाको पिसिआर परीक्षण गर्दा दुई हजार नौ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना भाइरस पुष्टि भएको जम्मा संख्या एक लाख ७६ हजार पाँच सय पुगेको छ । उनीहरूमध्ये एक लाख ३७ हजार नौ सय ९२ जना निको भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार अहिले ३७ हजार पाँच सय २४ जना सक्रिय संक्रमित छन् ।