मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ कार्तिक १७ सोमबार १२:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकामा भिडियो एक्सरे सेवा सुरु

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ कार्तिक १७ सोमबार १२:३२:००

पूर्वी पहाडी जिल्ला संखुवासभाको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकाको ताम्कु अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ ।

भौगोलिक रूपमा विकट र अहिलेसम्म सदरमुकाम खाँदबारीदेखि सीधा यातायातको सुविधाले नछोएको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा रहेको अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको हो ।

एकजना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि उक्त अस्पतालमा भौगोलिक कारणले कर्मचारी तथा स्वास्थ्यकर्मीहरू नै बस्न मान्दैनन् । अधिकांश समय उक्त अस्पतालमा अहेब र अनमीले अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । 

पाँचवटा वडा रहेको उक्त गाउँपालिकामा हालसम्म एक सयभन्दा बढी गर्भवती महिलाले भिडियो एक्सरे सेवा लिएका छन् । 

गत साताबाट सुरु भएको एक्सरे सेवा ग्रामीण क्षेत्रमा अत्यन्तै प्रभावकारी भएको छ । एक गैरसरकारी संस्थाले पाँच लाखबराबरको युएसजी मेसिन र २१ दिने तालिम सहयोग गरेपछि ताम्कुको उक्त अस्पतालमा सेवा सुचारु भएको हो । 

उक्त संस्थाको सहयोगमा झापाको आम्दा अस्पतालमा २१ दिने तालिम लिएर फर्किएकी अनमी इन्द्रकुमारी राईले गाउँमा नै यस्तो सेवा प्रवाह गर्न थालेकी हुन् । 

२१ दिने तालिम लिएर फर्किएपछि फेरि गाउँमा नै आएर सेवा गर्न पाएकोमा खुसी लागेको अनमी राईले बताइन् ।  

उक्त सेवामार्फत आमा र बच्चाको मृत्युदरमा समेत कम हुने गाउँपालिकाले विश्वास लिएको छ । दुई दिनसम्म पैदल यात्रा र धेरै खर्च गरेर सदरमुकाम खाँदबारी गएर भिडियो एक्सरे गरेर बच्चाको अवस्थाबारे जानकारी लिनुपर्ने बाध्यतासमेत हटेको स्थानीयको भनाइ छ । 

गर्भवती महिला गाउँमा नै यस्तो सेवा पाएकोमा खुसी देखिएका छन् ।

गाउँपालिकामार्फत गाउँपालिका क्षेत्रमा नै सेवा प्रवाह गर्नका लागि धेरै प्रयासपछि यो सफलता हात परेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको प्रत्येक वडाको स्वास्थ्य संस्थामा गएर प्रत्येक दुई–दुई महिनामा नियमित शिविर सञ्चालन गरिने सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले बताए । 

यो सेवामार्फत आमा र बच्चाको अवस्थाबारे भिडियो एक्सरेबाट पत्ता लगाउन सजिलो हुने कुलुङले बताए ।