१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १७ सोमबार १०:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संघीय संसद् भवन निर्माणमा एक हजार कामदार परिचालन गर्ने तयारी

अहिलेकै संसद्को अन्तिम अधिवेशन बस्ने गरी संघीय संसद् भवन निर्माण सक्न निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १७ सोमबार १०:०५:००

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन अहिलेकै संसद्को अन्तिम अधिवेशन बस्ने गरी सम्पन्न गर्न निर्देशन दिएका छन् । आइतबार निर्माणाधीन भवन अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले संघीय संसद्को अन्तिम बैठक यही भवनमा बस्ने बताए ।

‘गुणस्तरमा कुनै कमिकमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न र सम्पन्न गर्नका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको छ,’ उनले भने । मन्त्री श्रेष्ठले सबै इन्जिनियर, कर्मचारी र मदजुरलाई स्वास्थ्य मापदण्ड पालना गरी कुनै दिन पनि काम नरोक्न निर्देशन दिए । ‘सबै मजदुरको पिसिआर गरेर कार्यस्थलमै रहने गरी काम गर्नुस्, आवश्यकता परे मन्त्रालयले सहयोग गर्नेछ,’ उनले भने । 

संघीय सरकारको निर्माणाधीन संसद् भवनको कामलाई गति दिन चाँडै नै १ हजार कामदार परिचालन गर्ने तयारी गरिएको छ । संघीय संसद् भवन आयोजना प्रमुख प्रकृण तुलाधरका अनुसार छठलगत्तै करिब १ हजार मजदुर परिचालन गरी तोकिएकै समयमा निर्माण सम्पन्न गरिनेछ । ‘दुई सिफ्ट गरेर भए पनि २४ घन्टा काम गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने ।

केही प्राविधिक कठिनाइबाहेक अन्य कुनै समस्या नभएको उनको भनाइ छ । संघीय संसद् भवन आयोजना प्रमुख तुलाधरले कोभिड संक्रमणका कारण निर्माण सम्पन्न हुन केही ढिलो हुन सक्ने बताए । ‘तैपनि तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई दबाब दिइसकेका छौँ,’ उनले भने । 

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संघीय संसद् भवन निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने गरी योजना अघि बढिरहेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले कोभिडका कारण काम गर्न केही समस्या भएको स्विकार्दै अब जस्तो परिस्थिति भए पनि कामलाई निरन्तर रूपमा अघि बढाउने बताए । 

सिंहदरबारको पुतली बगैँचामा १ सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछन् । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ । संसद् भवन निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्नेछ । यो भवन टुडी सेक ज्वाइन्ट भेन्जरले निर्माण गरिरहेको छ ।

परियोजनाको अवधि २०७९ असोज १५ सम्म छ । अब दुई वर्षमा सबै काम सक्ने गरी २४सै घन्टा काम भइरहेको आयोजना प्रमुख प्रकृण तुलाधरको भनाइ छ । भवनको वर्ष दिनअघि १ असोजमा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । चालू आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भए पनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको आयोजना प्रमुख तुलाधरले जानकारी दिए । 

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आइतबार नै भैँसेपाटीस्थित मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास भ्रमण गरेर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । ‘समयमै सक्ने गरी थप मजदुरको व्यवस्थापन गर्नुस्,’ उनले भने । परियोजनाका साइट इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले कोभिडका कारण केही समय समस्या आए पनि हाल निर्माणमा सन्तोषजनक रहेको जानकारी दिए । 

गएको वर्ष २७ कात्तिकदेखि सम्झौता भएर आगामी वर्ष २७ कात्तिकमै सम्पन्न गर्ने गरी तयार गर्ने योजना छ । भैँसेपाटीमा बन्ने २४ वटा मन्त्रीनिवास, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्षको भवनको लागत १ अर्ब ३ करोड रहेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको लागत ७२ करोड ४७ लाख रुपैयाँ छ ।