मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७७ कार्तिक १७ सोमबार ०७:२७:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

युरोपेली शिष्टाचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७७ कार्तिक १७ सोमबार ०७:२७:००

यो घटना त्यो वेलाको हो, जतिखेर भारतमा बेलायतको शासन थियो । त्यस समयमा पण्डित ईश्वरचन्द्र विद्यासागर संस्कृत कलेजका आचार्य थिए । एकपटक उनले कुनै कामले प्रेसिडेन्सी कलेजका अंग्रेज आचार्य केरसँग भेट गर्न जानुपर्‍यो । भेटका क्रममा केर जुत्ता लगाएरै टेबलमा खुट्टा फैलाएर बसिरहेका थिए ।

विद्यासागर त्यहाँ पुग्दा पनि उनी त्यसैगरी बसिरहे । उनले त्यहाँ विद्यासागर आएको चाल पाएर पनि चाल नपाएजस्तो गरे । यो कुरा विद्यासागरलाई राम्रो लागेन । तैपनि उनले चुपचाप यो अपमान सहे । उनले त्यहाँ कुनै विरोध वा प्रतिवाद गरेनन् । त्यस घटनाको केही दिनपछि कुनै कामविशेषले केर ईश्वरचन्द्र विद्यासागरकोमा जानुपर्ने भयो । 

केरलाई देखेर विद्यासागरले चप्पलसमेतको आफ्नो खुट्टा उठाएर टेबलमा फैलाए र आरामसँग कुर्सीमा बसिरहे । उनले केरलाई बस्नसमेत भनेनन् । उनले केरलाई नदेखेझैँ गरे । उनको यो दुव्र्यवहार केरलाई मन परेन । उनले यसको गुनासो लिखित रूपमै शिक्षा परिषद्का सचिव डा. मुआटसँग गरे । डा. मुआट ईश्वरचन्द्र विद्यासागरकोमा गए र कुराकानी गरे । उनले केरको गुनासोबारे विद्यासागरसँग बुझ्न चाहे ।

डा. मुआटको जिज्ञासा सुनिसकेपछि नम्र शैलीमा ईश्वरचन्द्र विद्यासागरले भने, ‘हामी भारतीय आमरूपमा तपाईं अंग्रेजहरूबाटै युरोपेली शिष्टाचार सिक्छौँ । जब म उहाँसँग भेट गर्नका लागि उहाँको निवासमा गएको थिएँ, तब त्यहाँ उहाँ यसैगरी बस्नुभएको थियो ।

यस्तै व्यवहार गर्नुभएको थियो । त्यो देख्दा मलाई युरोपेली शिष्टाचार यही रहेछ जस्तो लाग्यो । यसैले मैले त्यसको अनुसरण गरेको मात्र हुँ । उहाँलाई रिस उठाउने मेरो कुनै मनसाय थिएन ।’ विद्यासागरको यस्तो जवाफ सुनेपछि डा. मुआट र केर दुवैले त्यसपछिका दिनमा उनीसित आँखा जुधाउनसमेत सकेनन् ।