टेकु अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा
गरिब तथा विपन्न नागरिकले टेकु अस्पतालले निःशुल्क उपचार गर्छ भनेर महामारीका वेला ठूलो भसोसा गरेका थिए । कोरोनाको उपचारमा शुल्क तोकेर अस्पतालले उनीहरूको उपचारको बाटो बन्द ग¥यो, होइन ?
हामीले यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत गरेका थिएनौँ । सरकारले ३ कात्तिकमा निर्णय गर्दा निःशुल्क सेवा दिने अस्पताल टेकु मात्रै थियो । हामीले टेकुलाई यही अवस्थामा राख्न चिकित्सक, निर्देशक सबैले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेका हौँ, तर दुर्भाग्य हाम्रो कुरा सुनुवाइ भएन । निर्णय गर्दा एक वचन पनि सोधिएन ।
स्वास्थ्य मन्त्रालयले गरेको उक्त निर्णय टेकुका हकमा पुनर्विचार होला भनेर एक हप्तासम्म हामीले निर्णय लागू गरेनौँ । यसबीचमा पनि तारन्तार मन्त्रालयबाट दबाब आएपछि बाध्य भएर यस्तो निर्णयमा पुगेका हौँ । यसले हामी सबैलाई मर्माहत बनाएको छ ।
निजी अस्पतालले जस्तो बिरामी भर्ना गर्नुअघि नै धरौटी रकम किन मागियो ?
उपचार सुरु गर्नुअगाडि नै धरौटी नलिएको खण्डमा बिरामीले पछि रकम तिर्दैनन् । रकम तिराउनका लागि धरौटीको व्यवस्था गर्नुपरेको हो । जुन निर्णय टेकु अस्पतालले गरेको छ, त्यो राज्यले सिर्जना गरेको बाध्यता हो । टेकु अन्य अस्पतालजस्तो होइन, त्यसैले अझै पनि हामी चाहन्छाँै कि यस अस्पतालका लागि बेग्लै निर्णय हुनुपर्छ ।
टेकु अस्पतालमा यसअघि सबै सेवा निःशुल्क थिए होइन ?
हो । यो अस्पताल देशको एक मात्रै केन्द्रीय सरुवारोग अस्पताल हो । त्यसमा पनि कोभिड डेडिकेटेड पहिलो अस्पताल हो । अन्य अस्पतालमा हुने निर्णय र हाम्रोमा हुने निर्णय बिलकुल फरक हुनुपर्ने थियो ।
सरकारले निःशुल्क बेडको नाममा १२ लाख रुपैयाँ दिँदै आएको छ । विशेषगरी एचआइभी संक्रमितको उपचार हुने भएकाले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले पनि खर्च दिन्छ । केन्द्रले अस्पताललाई सवा करोड दिन बाँकी छ । सबै सेवा–सुविधा मन्त्रालयले कटाएको छ । वैशाखसम्मको जोखिम भत्ता, सुरक्षाका उपकरण छुट्टै दिएको थियो । तर, अब केसअनुसार रकम लिएर आफैँले व्यवस्थापन गर्नू भनेपछि त्यो सेवा पनि कटेको छ । बाध्यताले हामी यस्तो निर्णय गर्ने अवस्थामा पुगेका हौँ ।
निःशुल्क बेडमा ३५ सय, पाँच सय तिर्दा हुनेमा सात हजार पाँच सयचाहिँ किन तोक्नुभयो ?
सरकारले ‘आफैँ उठाएर अस्पताल चलाउनू’ भनेपछि शुल्क लिने निर्णयमा पुगेका हौँ । कोभिडको खर्च ज्यादै महँगो भएकाले सरकारले साथ नदिएपछि धान्न समस्या हुने देखेर निःशुल्कका बेडको पनि रकम लिने निर्णय भएको हो । अस्पतालमा पाँच बेड क्याबिनको विगतमा दैनिक पाँच सय र आइसियू–भेन्टिलेटरमा राखेको पाँच हजार लिने गरिन्थ्यो । तर, अहिले त्यही रकम लिँदा धान्न नसकिने भएपछि बढाइएको हो । एकजना बिरामीले मिनेटको १५ लिटरसम्म अक्सिजन खाने गरेको छ । सबै जोड्दा अझ हामीले सस्तोमा नै सेवा दिएका छौँ ।