मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ कार्तिक १६ आइतबार १७:०५:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

अन्तरदेशीय व्यापारसँग जोडिँदै सुदूरपश्चिम, सुक्खा बन्दरगाह निर्माणस्थल घोषणा   

Read Time : > 3 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ कार्तिक १६ आइतबार १७:०५:००

कञ्चनपुरको महाकाली नगरपालिका– १ चाँदनीमा सुक्खा बन्दरगाह निर्माणस्थल यकिन भएको छ ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माण हुने स्थानको औपचारिक घोषणा गर्दै बन्दरगाह र अन्तरदेशीय आर्थिक क्षेत्रको विकास द्रुतगतिमा अघि बढ्ने बताए । 

पश्चिमबाट विकासको ढोका खुलेको बताउँदै मन्त्री भट्टले भने, ‘जनताको स्वदेशमै रोजगारी पाउने र देशको आर्थिक समृद्धितर्फ अघि बढ्छौँ । हाम्रो एक सपना पूरा हुँदै छ ।’ 

मन्त्री भट्टले सुक्खा बन्दरगाह निर्माणसँगै समृद्धि सुदूरपश्चिम प्रदेशको नामबाट चिनाउनुपर्नेमाजाेड दिए । ‘अब सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ,’ मन्त्री भट्टले भने, ‘दुवै पक्षको हस्ताक्षर गरेर टेन्डर प्रक्रियासँगै काम अघि बढछ ।’ सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय आर्थिक क्षेत्रले नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए । 

आर्थिक विकासका लागि सो क्षेत्रलाई छनाेट गरिएको बताउँदै मन्त्री भट्टले औद्योगिक कोरिडोरकै रूपमा विकास गरिनुपर्नेमा जोड दिए । सुक्खा बन्दरगाहलाई महाकाली पुल,त्योसँगै उत्तर चीनसँग जोड्नुपर्ने बताए । सुक्खा बन्दरगाहको काम अघि बढेसँगै आर्थिक विकास र समृद्धिको अपेक्षा गरिएको छ ।

यसअघि ०६७ सालमा मन्त्री भट्ट वाणिज्य तथा आपूर्तिमन्त्री भएका वेला दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको योजना ल्याएका थिए । 

सुदूरपश्चिमको विकासका लागि जलविद्युत्, रणनीति सडक तथा सामाजिक विकासका लागि औद्योगिक ग्राम, विशेष आर्थिक क्षेत्र बनाइने दाबी गरे । उनले आयोजनाको काम अघि बढाउनका लागि स्थानीय जनता, सरकार र प्रदेश सरकारसहित सबै पक्षको साथसर्मथन आवश्यक रहेको बताए ।

दश वर्षअघि महाकाली नगरपालिका– ७ कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउन स्थान प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहको भारतसँग जोड्नका लागि कञ्चनपुरको कञ्चनभोज, दोधारा र चाँदनी तीन विकल्प थिए । 

(नेपाल–भारत) कनेक्टिभिटीकका लागि पारि भारतको मेलाघाट (खटिमा), चक्रपुर र बनबासा तीन विकल्प थिए । जसमध्ये उत्तम विकल्प चाँदनी तय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले तीन विकल्पमध्ये सबैभन्दा बढी उत्तम र भारतीय पक्षबाट समेत बनबासा–चाँदनी क्षेत्रमा एकिकृत जाँचचौकी निर्माणका लागि प्रस्ताव आएको बताए । ‘हामी दुवै पक्षले तीनवटै स्थानको अध्ययन गऱ्याैँ,’ सचिव अर्यालले भने, ‘तीनवटै स्थानमध्ये पारि बनबासा र वारि चाँदनी उपयुक्त स्थान छनाेट भएको छ ।’ 

गौरीशंकर र मायापुरी सामुदायिक मध्यवर्ती वनमा सुक्खा बन्दरगाह र अन्तरदेशीय आर्थिक क्षेत्र बनाइने सचिव अर्यालले बताए । 

भारतको राजधानी नयाँदिल्लीसँग नेपालको सबैभन्दा छोटो नाका तीन सय ८७ किलोमिटर दूरीमा रहेको महाकाली नगरपालिका ‘दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि ०६७ सालदेखि पहल थालिएको छ । सचिव अर्यालले प्राविधिक टोलीले गरेको अध्ययनअनुसार चाँदनी क्षेत्रका दुवै सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको स्थल छनाेट गरिएको बताए । ‘अब स्थान छनाेट भइसकेको छ,’ उनले भने, ‘डिपिआर बनाएर काम सुरु गर्छौँ ।’ 

सचिव अर्यालले छोटो दूरी, जमिन र बस्ती कम अधिकरण गर्नुपर्ने, बस्ती धेरै नभएको, काम गर्न सहज हुने भएकाले अन्तिम विकल्पमा चाँदनी नै छनाेट गरिएको बताए । ‘भारतीय पक्षबाट समेत सोही स्थानलाई छनाेटका लागि प्रस्ताव आयो,’ उनले भने, ‘हामीले प्राविधिक दृष्टिकोणबाट अध्ययन गर्दा पनि चाँदनी नै उपयुक्त हुन्छ ।’ 

सुक्खा बन्दरगाह निर्माणका लागि चार सय बिघा र अन्तरदेशीय आर्थिक क्षेत्रका लागि करिब साढे तीन सय बिघा जमिन उपभोग गरिने बताए । ‘भविष्यमा ठाउँ अपुग हुन नदिनका लागि बढी जमिन उभोग गर्दै करिब हजार बिघा जमिन उपभोग गर्छौँ,’ सचिव अर्यालले भने, ‘दुवै परियोजनाको संरचना निर्माणका लागि प्रसस्त जमिन छ ।’ 

सन २०१८  मा  गरिएको अध्ययनअनुसार सो क्षेत्रमा बाढीको जोखिम र एक सय ५० घरधुरी मात्रै विस्थापित हुने देखिएको थियो, तर अहिले दुवै सामुदायिक वनको जमिन उपभोग गर्दा कम बस्ती विस्थापित हुने बताए । दुई वर्षअघि गरिएको अध्ययनअनुरूप ६ अर्ब रुपैयाँ लागत गरिएको बताउँदै उनले करिब ८ देखि १० अर्ब लगानी लाग्ने बताए । 

उद्योग सचिव चक्रकुमार घिमिरेले सुक्खा बन्दरगाहसँगै निर्माण हुने अन्तरदेशीय आर्थिक क्षेत्रलाई सीधै भारतको गुजरात प्रदेशको मुन्द्रा बन्दरगाहसँग जोडिने बताए । ‘बन्दरगाह बनाएर मात्रै हुँदैन, नेपालले भारतलगायत अन्य मुलुकसँग वस्तु तथा सेवा आयात निर्यातका लागि बन्दरगाहसँग जोड्नुपर्छ,’ उनले भने, ‘विदेशबाट समेत कच्चा पदार्थ ल्याएर निर्यात आयात गर्नुपर्छ ।’

कृषि, खनिज, उत्पादनका वस्तु तथा सेवालाई भारतसँग मात्र नभई तेस्रो मुलुकसम्म निर्यात गरिने बताए । निजी क्षेत्रको समेत लगानी आवश्यक रहेको बताउँदै उनले अन्तरदेशीय आर्थिक क्षेत्रका लागि दैजी–जोगबुढा क्षेत्रको औद्योगिक क्षेत्र सुचारु गर्नुपर्ने बताए । सुक्खा बन्दरगाह निर्माणसँगै सिंगाे नेपालकै आर्थिक विकास हुने बताए । ठूलो परिमाणमा लगानी भित्रिने रोजगारीसमेत सिर्जना हुने बताए । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आयोजना परिचान गरेर लगानी गर्न प्रतिबद्धता जाहेर गरे । ‘आयोजनामा सहजीकरण, लगानी गर्छौँ,’ उनले भने, ‘आर्थिक विकासको मेरुदण्ड सुक्खा बन्दरगाहमा समेत लगानी गर्छौँ ।’ ०६८ सालमा स्थापना भएको लगानी बोर्डले निर्माणतर्फ तीन खर्ब र १४ खर्बको प्रतिबद्धता जाहेर गरिएको बताए । 

चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणसँगै स्थानीय हर्षित भएका छन् । स्थानीय एवं कञ्चनभोजमा सुक्खा बन्दरगाह निर्माण हुन हुँदैन भनेर आन्दोलनमा उत्रेका विनय सुनारले जनताले सोचेअनुरूपै सरकारले काम गरेको बताए । 

उनले भने, ‘हामीले पहिल्यै भनेका थियौँ, कञ्चनभोजमा नभई चाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन जहाँ बस्ती विस्थापित गर्नुपर्दैन ।’ आज आएर सरकारले जनताले नै भनेको स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्न थालेपछि स्थानीय हर्षित भएको बताए । कञ्चनभोजमा २० बिघा जमिन मात्रै सरकारी थियो, बाँकी बस्ती विस्थापित गर्नुपर्ने अवस्था थियो । अहिले जंगल क्षेत्रपनि कुकाठ हो । 

स्थानीय एवं नेकपा नेता भरत भट्टले सरकारले उत्तम स्थान छनाेट गरेको बताए । उनले स्थान छनौटसँगै काम अघि बढाइनुपर्ने बताए । कांग्रेस स्थानीय नेता धीरप्रसाद पाण्डेयले सुक्खा बन्दरगाहको काम कार्यान्वयनमा जोड दिए । 

महाकाली नगरका मेयर वीरबहादुर सुनारले सुक्खा बन्दरगाहको स्थान सारिँदा दोधारा क्षेत्रका स्थानीय निराश भएको बताए । ‘दोधाराका जनता निराश छन, ‘मेयर सुनारले भने, ‘कार्यान्वयनका लागि नगरपालिकाका तर्फबाट पहल गर्छु ।’

प्रदेश सभा सदस्य मानबहादुर सुनारले यस अघि सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गरिएको कञ्चनभोजबाट चाँदनी क्षेत्र उपयुक्त भएको बताए । ‘हामीले चाहेर मात्र हुँदैन,’ उनले भने, ‘भारतीय पक्षबाट समेत साथ सर्मथन चाहिन्छ ।’ चाँदनी क्षेत्रमा सीधै महाकाली पुलसँगै जोडिने ६ लेन सडकमा सुक्खा बन्दरगाह जोडिदा दूरी छोटो हुने बताए । 

प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्टले दक्षिण भारतसँगै उत्तरी चीनसँग जोड्ने बताए । ‘दक्षिणमा सुक्खा बन्दरगाह, महाकालीमा पक्की पुल हुँदै कोरिडोर चीनसम्म पुर्‍याउँछौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय व्यापार केन्द्र निर्माण गरेर आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्छ ।’ 

उनले सुक्खा बन्दरगाह, उत्तर–दक्षिण जोड्ने महाकाली कोरिडोर र महाकालीमा पक्की पुल निर्माण भएर देशकै कार्यापलट हुने बताए । एकीकृत सुरक्षा जाँच पोस्ट स्थापना गरेर सुदूरपश्चिम मात्र नभई देशकै आर्थिक विकास गर्नुपर्ने बताए ।