नेपालभरमा हालसम्म ३८ हजार पाँच सय ८४ जना कोभिडका सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितहरूले नेपालभरका सरकारी र निजी अस्पताल र होम आइसोलेसनमा उपचार गराइरहेका छन् । कोभिड संक्रमितको संख्या दिनानुदिन बढ्न थालेसँगै लक्षणसहितका बिरामी पनि बढ्न थालेका छन् । यसकारण पछिल्लो समय कोभिड संक्रमितका लागि सघन उपचार सेवा (आइसियू)को आवश्यकता बढ्दै गएको देखिन्छ । सामान्यतया दीर्घरोगी, ओ पोजेटिभ रगत समूह भएका व्यक्ति, वृद्धवृद्धालाई भेन्टिलेटरजस्ता सघन उपचार सेवाको आवश्यकता बढ्दै गएको छ । शनिबारसम्मको तथ्यांकअनुसार नेपालभरमा ६९ जना कोभिड संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सामान्यतया शरीरमा हुने कुनै गडबडीका कारण श्वासप्रश्वासमा समस्या भए त्यस्ता बिरामीलाई भन्टिलेटरमा राखिन्छ । स्वस्थ व्यक्तिले वातावरणमा भएको अक्सिजन लिन्छ र शरीरलाई नचाहिने तत्व (कार्बनडाइअक्साइड) बाहिर फाल्छ । कतिपय अवस्थामा शरीरमा कार्बनडाइअक्साइड बाहिर निकाल्न नसकेर श्वासप्रश्वासमा गडबडी आउने गर्छ । यस्तो अवस्थामा शरीरलाई आवश्यक अक्सिजन प्रदान गर्न र शरीरबाट उत्पादित कार्बनडाइअक्साइड बाहिर फाल्न बिरामीलाई भेन्टिलेटर (यन्त्र)मा राखिने गरिन्छ । अस्पतालमा अप्रेसन थिएटर र आइसियूका बिरामीलाई सामान्यतया शरीरमा अक्सिजन सहज बनाउन भेन्टिलेटरमा राखिन्छ ।
यसकारण राखिन्छ भेन्टिलेटरमा
कोरोना भाइरस संक्रमण हँुदा एक्कासि फोक्सोमा असर पु¥याउने गरी निमोनिया हुने गर्छ । जसले गर्दा रक्तचाप, श्वासप्रश्वास र अक्सिजन प्रवाहमा समस्या हुन्छ । फोक्सोमा संक्रमण हँुदा श्वासप्रश्वासमा समस्या आएर मस्तिष्क तथा अन्य अंगमा अक्सिजनको कमी हुन जान्छ । बिस्तारै शरीरका अंगहरूले काम गर्न छाड्छन् र मृत्युको जोखिम रहन्छ । तसर्थ, शरीरमा अक्सिजनको आपूर्ति सहज बनाउन बिरामीलाई भेन्टिलेटरमा राखी उपचार गरिन्छ ।
कोरोना संक्रमणले फोक्सोको दुवै भागमा एकैपटक असर गर्ने, श्वासप्रश्वासमा समस्या आउने, छाती दुख्ने, निमोनिया हुनेजस्ता जटिलता सिर्जना गर्छ । बिरामीको अवस्था सहज बनाउन कोभिडका बिरामीलाई भेन्टिलेटर सेवाको आवश्यकता बढ्दै गएको छ । कोभिडका बिरामीलाई स्वास्थ्य अवस्थाका आधारमा बाहिरी र भित्री भेन्टिलेटरमा राखिन्छ । बिरामीको अवस्था अलि सामान्य भएमा एनआइभी अर्थात् ननइनभ्यासिभ भेन्टिलेटरमा राखिन्छ । यो भेन्टिलेटर पनि दुई किसिमको हुन्छ । एन आइभी मास्क र हुड एनआइभी । यो भेन्टिलेटर सिस्टममा राखेर उपचार गरिरहेका संक्रमित पुनः निको हुने सम्भावना धेरै रहन्छ । मास्कको प्रयोग गरेर श्वासप्रश्वासका सबै काम भेन्टिलेटर मेसिनले नियन्त्रण गर्छ । जसले श्वासप्रश्वास सहज बनाउनुका साथै शरीरका अंगहरूले सहज ढंगले काम गर्ने वातावरण निर्माण गर्छ । हाल नेपालमा सघन उपचार गराइरहेका अधिकांश बिरामीमा ननइनभ्यासिभ भेन्टिलेटर प्रयोग भइरहेको छ ।
बिरामीको अवस्था गम्भीर भएमा इनभ्यासिभ अर्थात् मेकानिकल भेन्टिलेटरको प्रयोग गरिन्छ । बिरामीको मुखमा पाइप छिराएर भेन्टिलेटरमा जडान गरिएको हुन्छ । यस्तो भेन्टिलेटरमा उपचार गराइरहेका बिरामी पुनः सामान्य अवस्थामा फर्कन निकै गाह्रो हुन्छ । सामान्यतया १० जनामध्ये एकजना व्यक्ति पुनः सामान्य हुने सम्भावना रहन्छ । हाल लक्षण देखिएर सघन उपचारमा रहेका बिरामीको करिब तीनदेखि चार प्रतिशत बिरामीलाई भेन्टिलेटरको आवश्यकता हुन थालेको छ । सामान्यतया ६० वर्षभन्दा माथि उमेरका व्यक्ति, मधुमेह, दम, ब्रोङकाइटिस, ओ–पाजेटिभ रगत समूह, निमोनियाका बिरामी आदिमा गम्भीर समस्या देखिन थालेको छ । सामान्यतया एनआइभी मास्क र हुड एनआइभी प्रयोग गरिरहेका बिरामी करिब ८० प्रतिशत निको हुने सम्भावना रहन्छ । सामान्यतया बिरामीको शारीरिक अवस्थासँगै बिरामीको मनोविज्ञानले पनि निको हुने दरमा फरक पारिरहेको छ ।
(कुराकानीमा आधारित)