मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपालीको  भिसा शुल्क घटाउँदै अमेरिका 

३६० तिर्नुपर्ने विद्यार्थी र २२० तिर्नुपर्ने पर्यटकले १६० डलर तिरे पुग्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०६:२०:००

अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ । 

‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिँदै आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसमा अमेरिकी पक्ष सकारात्मक छ ।’ पटक–पटक भएको छलफलमा अमेरिकी अधिकारीहरू अतिरिक्त शुल्क हटाउन सहमत भएपछि नै भिसा पारस्पारिकतासम्बन्धी प्रस्ताव अघि बढाइएको गृह मन्त्रालय स्रोत बताउँछ । अमेरिका शुल्क घटाउन तयार भएपछि नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको हो । 

अमेरिकाले अध्ययनका लागि भिसा प्रक्रियामा सहभागी नेपाली विद्यार्थीसँग भिसा नलागे पनि तीन सय ६० डलर लिँदै आएको छ । पारस्पारिकतापछि ठूलो राहत मिल्ने गृहका अधिकारी बताउँछन् । 

त्यस्तै, पर्यटक भिसामा जानेहरूले दुई सय २० डलर तिर्दै आएका छन् । भिसा पारस्पारिकतापछि उनीहरूले एक सय ६० डलर मात्र तिरे पुग्छ । 

अमेरिकीहरू ६ महिना बस्न पाउने 
हाल नेपालमा कुनै पनि देशको पर्यटक एक वर्षमा बढीमा पाँच महिना मात्र बस्न पाउँछन् । तर, भिसा पारस्पारिकतापछि अमेरिकी नागरिकहरू भने ६ महिनासम्म बस्न पाउँछन् । अमेरिकाले पनि पर्यटक भिसामा एक वर्षमा ६ महिना बस्न दिने सहमति जनाएको छ । 

त्यस्तै, पारस्पारिकतापछि नेपाल आउने अमेरिकी पर्यटकले ६ महिना बस्दा एक सय ६० डलर तिरे पुग्छ । अहिलेको अवस्थामा अमेरिकी पर्यटकले १५ दिनको २५ डलर, एक महिनाको ४० डलर तथा ९० दिनको सय डलर तिर्नुपर्ने व्यवस्था छ । त्यसभन्दा धेरै बस्न चाहे प्रतिदिन २ डलर र मल्टिइन्ट्री भिसा लिएको भए थप २० डलर तिर्नुपर्ने हुन्छ । भिसा पारस्पारिकतापछि लामो समय नेपाल बस्ने अमेरिकीलाई फाइदा हुन्छ । 

भिसा नलाग्नेको रकम फिर्ता गर्न मानेन अमेरिका
एक वर्षमा झन्डै एक लाख नेपालीले भिसाका लागि अमेरिकी दूतावासमा आवेदन दिने गरेका छन् । त्यसमध्ये करिब १५ प्रतिशतको मात्र भिसा लाग्ने गरेको छ । भिसा नलागेको अवस्थामा पनि दूतावासले शुल्क फिर्ता दिने गरेको छैन । भिसा नलागे शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गृह र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले गरेका थिए । तर, अमेरिकी प्रतिनिधि सबै शुल्क फिर्ता गर्न नमानेको गृहका एक अधिकारीले बताए । 

अमेरिकाले विश्वका सबै देशसँग भिसा पारस्पारिकताको निर्णय गरिसकेको छ । जसअनुसार गैरपर्यटक भिसामा यसअघि नै नेपालसँग पनि पारस्पारिकता भइसकेको छ । पर्यटक भिसामा पनि पारस्पारिकता हुन लागेको हो ।