Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक १६ आइतबार १२:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायण नगरपालिका एक हप्ताका लागि सिल, प्रशासनले पनि अत्यावश्यक सेवा मात्र दिने

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १६ आइतबार १२:५७:००

बिहीबार नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्कासहित १२ जना र शुक्रबार वडा नंं. १ का कार्यालय सचिवलगायतका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले सबै सेवा बन्द गरिएको छ । 

आजदेखि एक साताका लागि नगरका ११ वटै वडाका काम बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले जानकारी दिए । 

पछिल्ला दिनमा जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलन नदिन सेवा बन्द गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले नगरवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरपालिकाले अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालयका सेवा पनि बन्द 

कर्मचारीमा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय, दैलेखले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेको छ ।

कर्मचारीमार्फत सेवाग्राहीसँग सहजै कोरोना संक्रमण फैलन सक्ने भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

दैलेख सदरमुकामभित्र काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यापारी र होटेल व्यवसायीमा तीव्र रूपमा कोरोना फैलिएको छ । सामान्य रुघाखोकी र ज्वरो आएका सबैमा शतप्रतिशत कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । 

सदरमुकाम दैलेख बजारलाई कसरी सुरक्षित गर्ने भन्नेबारेमा विभिन्न चरणमा छलफल भइरहेको प्रशासन कार्यालयले जनाएको छ । 

अनुशासन नबसेर समस्या भयो : प्रमुख जिल्ला अधिकारी

कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै सबै क्षेत्रमा अनुशासन नभएकोले समस्या बढेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । 

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरूले पनि घरमा अनुशासन पालन गर्न नसकेको सुनारको भनाइ छ।

‘दसैँका वेला भएको तीव्र आवतजावत र किनमेलमा समेत क्रेता र बिक्रेताले सावधानी अपनाउन सकेनन्,’ उनले भने, ‘सामान्य रुघाखोकी र ज्वरो आउनेबित्तिकै स्वास्थ्यको ख्याल गर्नुपर्नेमा कसैले पनि अनुशासन पालना गर्न नसकेका कारण कोरोना संक्रमणको दर दैलेखमा तीव्र बन्दै गयो ।’ 

दैलेख सदरमुकामभित्रै सक्रिय संक्रमितको संख्या दुई सय ५० पुगेको छ ।