मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ कार्तिक १६ आइतबार ०९:४७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

पूर्वी नवलपरासीमा एकैदिन पाँच संक्रमितको मृत्यु

Read Time : > 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ कार्तिक १६ आइतबार ०९:४७:००

पूर्वी नवलपरासीमा एकैदिन पाँचजना कोभिड–१९ का संक्रमितको ज्यान गएको छ । गैँडाकोटका दुईजना, कावासोतीका दुईजना र विनयी त्रिवेणीका एकजनाको शनिबार मृत्यु भएको हो । 

मृत्यु हुनेमा कावासोती–६ का ६७ वर्षीय पुरुष, कावासोती–११ का ६३ वर्षीय पुरुष, गैँडाकोट नगरपालिका–२ की ७७ वर्षीया महिला, गैँडाकोट–१३ का ३८ वर्षीय पुरुष र विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासीकी ६४ वर्षीया महिला छन् । दुईजनाको होम आइसोलेसनमै र तीनजनाको चितवनमा उपचारका क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिए । 

उनका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार बिहान मृत्यु भएको हो । १३ कात्तिकमा कोरोना पोजेटिभ रिपोर्ट आएका उनी घरमै आइसोलेसनमा थिए । गैँडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको चापागाईंले बताए । उनीहरूका परिवारले भने उपचार अभावमा मृत्यु भएको गुनासो गरेका छन् ।

गैँडाकोट नगरपालिका–१३ का ३८ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा निधन भएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए । कावासोती–११ का ६३ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान निधन भएको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताए । सुगर, निमोनिया, दमका समेत रोगी रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि ११ कात्तिकमा उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो ।

विनय त्रिवेणी गाउँपालिका–१ दुम्कीवासकी ६४ वर्षीया महिलाको पनि चितवन मेडिकल कलेजमा शनिबार ज्यान गएको हो । अस्पतालका अनुसार ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सिओपिडी) भएर १२ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलाकी दीर्घरोगीसमेत भएकी उनको शनिबार बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए । उनको कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो । 

मृत्यु हुनेको संख्या २३ पुग्यो
शनिबारको समेत गरी नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । मृत्यु भएका अधिकांश कुनै न कुनै रोगका बिरामी छन् । कतिपय घरमै आइसोलेसनमा बसेकाले उपचार अभावमा ज्यान गएको छ त कतिपयले अस्पतालमा उपचारकै क्रममा प्राण त्यागेका छन् । 

यसैबीच, शनिबार होम आइसोलेसनमा निधन भएकाहरूको नारायणी नदी किनारका घाटमा जलाएर शव व्यवस्थापन गरिएको छ । चितवनमा निधन भएकाको भने चितवनमै अन्त्येष्टि गरी व्यवस्थापन गरिएको छ ।