१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १६ आइतबार ०८:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा चल्ने सवारीसाधनमा भाडा लिस्ट नटाँसे कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १६ आइतबार ०८:११:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही गर्ने अभियान थालेको छ । सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

‘यात्रु ठगिनबाट रोक्नका लागि सबैले देखिने ठाउँमा भाडादरको लिस्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको हो,’ उनले भने । सवारीसाधनले त्यस्तो लिस्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने उनको भनाइ छ । 

महाशाखाले शुक्रबारदेखि अभियानकै रूपमा सवारीसाधनको चेकजाँच थालेको छ । यात्रुबाहक सवारीसाधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गरेको गुनासो आएपछि काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । 

सडक र सवारी प्रयोगकर्ताहरूलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । त्यस्तै महाशाखाले सवारीसाधनमा ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने, हर्न बजाउने, ढोका खुला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई यसै अभियानमार्फत कारबाही गरिरहेको जानकारी दिएको छ ।