मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ कार्तिक १५ शनिबार ०५:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दसैँमा अपराध : मदिराको नसामा प्रेमिकाबारे विवादले साथीको हत्या

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ कार्तिक १५ शनिबार ०५:३४:००

दसैँ अष्टमीको साँझ भक्तपुर–१ दुवालटोलवासी इष्टमित्रसँगै पर्व मनाउन मस्त थिए । सोही टोलमा बस्थे, भारत उत्तरप्रदेश मुरादावादका साहिव हुसेन (३५ वर्ष) र सलमान खान (२३ वर्ष) । उनीहरू दुवै स्थानीय दुवाल मेटल उद्योगमा काम गर्थे । नजिकको इन्द्रेणी मेटल उद्योगमा काम गर्थे, उत्तरप्रदेश मुरदावादकै सानु अन्सारी (१९ वर्ष) । साहिवले सानुलाई कोठामा बोलाए । त्यही भेट नै साहिवको ज्यान जाने कारक बन्यो ।

प्रहरीले भोलिपल्ट बिहान भक्तपुर–२ इँटापाखास्थित तिरतिरे खोल्सामा साहिवको शव फेला पा¥यो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार मदिरा पिएका दुईबीच प्रेमिकाको विषयमा भएको विवाद नै हत्याको कारण देखिएको छ ।

घटनाको कारण मदिरा

सानु र सलमानले प्रहरीलाई दिएको बयानअनुसार तीनैजना मदिरा खोज्दै इँटापाखास्थित भट्टीमा छिरे । भट्टीमा घरेलु मदिरामा ह्विस्की मिसाएर पिएको उनीहरूले बयान दिएका छन् । रात छिप्पिँदै गएपछि उनीहरू भट्टीबाट निस्किए । डेरातिर अगाडि बढ्दै गर्दा आफूले गाउँकै आफ्नी प्रेमिकाको प्रसंग झिकेको बयान सानुले दिएका छन् । गाउँ फर्केर उनैसँग बिहे गर्ने आफ्नो योजना मदिराले लठ्ठ परेका साहिवले मन नपराएको उनले प्रहरीलाई बताएका छन् । साहिवले युवतीको चरित्रमाथि प्रश्न उठाएपछि दुईजनाबीच केहीबेर भनाभन भयो । सँगै रहेका सलमानले दुवैलाई सम्झाउँदै डेरातर्फ अगाडि बढाए ।

सलमानले प्रहरीलाई दिएको बयानअनुसार सानु चुप नै थिए, तर साहिव उग्र बने । उनीहरू इँटापाखाकै बाँसघारीनजिकै रोकिए । सानु र साहिवबीचको विवादले उग्र रूप लियो । यत्तिकैमा साहिवले युवतीको चरित्रबारे टिप्पणी गरे, ‘तिम्रो गर्लफ्रेन्डलाई मैले जे पनि गर्न सक्छु । दिल्लीमा लगेर बेचिदिन्छु ।’

त्यस भनाइले सानुलाई उत्तेजित बनायो । भुइँबाट इँटा टिपेर टाउकोमा प्रहार गरे । घटनास्थलमै ढलेका साहिवको प्राण नजाउन्जेल टाउकोमा इँटाले प्रहार गरिरहे । ‘मृतकको टाउकोमा गहिरो चोट छ । धेरै रगत बगेको देखिन्छ । सोहीकारण उनको मृत्यु भएको अनुसन्धानबाट देखिएको छ,’ एसएसपी थापाले भने ।

कुकुरले फेला पार्‍यो अभियुक्त

सानु र सलमान मिलेर साहिवको शव तिरतिरे खोल्सामा फाले । र, कोठा पुुगेर शरीरमा लागेको रगत पखाले । बिहान अबेर मात्र ब्युुँझिए । उनीहरू ब्युँझिँदा नब्युुँझिँदै प्रहरी घटनास्थल पुगिसकेको थियो । शव सनाखतपछि प्रहरीले अनुसन्धान अगाडि बढायो । घटनास्थलमा तालिमप्राप्त कुकुर लगियो । पछ्याउँदै जाँदा कुकुर सानुको डेरामा पुुग्यो । भित्र छिरेर कुकुरले नै रगत लतपतिएका कपडा फेला पार्‍यो । सानु र सलमान दुवै पक्राउ परे ।

धापासीमा छुरा प्रहारबाट युवकको हत्या

धापासी हाइटमा गत शुक्रबार २५ वर्षीय आशिष मगरको हत्यामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय ग्यान्टे भनिने दिवस अधिकारी र रवि मगर छन् । प्रहरीका अनुसार उनीहरूले छुरा प्रहार गरी आशिषको हत्या गरेका थिए । उपचारका क्रममा चिरायु अस्पतालमा उनको मृत्यु भएको हो । घटनामा संलग्न अन्य दुई भने फरार रहेको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध महाशाखाका अनुसार छुरा प्रहारबाट आशिषको मुटुमा गम्भीर चोट लागेको छ । ‘मृतकको छातीमा छुरा प्रहार भएको छ । चोट मुटुसम्म पुगेकाले रगत धेरै बगेको देखिन्छ । उनलाई उपचारका लागि अस्पताल त लगियो, तर बचाउन सकिएन,’ महाशाखा प्रमुख एसएसपी थापाले भने । प्रहरीका अनुसार मृतक घरमा रंग लगाउने काम गर्थे । हत्यामा संलग्नहरू भने लागुऔषध दुर्व्यसनी रहेको खुलेको छ । घटनामा संलग्न अन्य दुई पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने एसएसपी थापाले बताए ।