मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २३ बुधबार ०८:५१:००
Read Time : > 2 मिनेट
अर्थ

नेपाल टेलिकम १६औँ वर्षमा : अब प्रिपेडमा पनि रोमिङ प्रयोगकर्तालाई उपहारैउपहार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २३ बुधबार ०८:५१:००

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले प्रिपेडमा रोमिङ सुविधा साथै विभिन्न प्याकेज र योजनासमेत अगाडि सारेको छ । टेलिकमले यसअघि जिएसएम पोस्टपेडमा मात्र उपलब्ध अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रिपेड मोबाइलमा समेत सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मंगलबार ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको ‘सफ्ट लन्च’ गरेका हुन् । यसका लागि कुनै थप धरौटी राख्नुनपर्ने र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोगगर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

निकट भविष्यमा यो सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘प्रारम्भमा चीन र भारतबाट यो सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘क्रमिक रूपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना छ ।’ मंगलबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले निरन्तर अग्रस्थानमा रहेको टेलिकम अबका दिनमा चुनौतीविहीन रूपमा पहिलो स्थानमा कायम रहनुपर्नेमा जोड दिए । ‘कम्पनीले नाफा हुने घना आबादी भएको क्षेत्रमा मात्र नभई जनताको सहजतका लागि जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘त्यससँगै अबको दिनमा संस्कृतिसहितको कर्पोरेट संस्थाका रूपमा विकास गरेर लैजानुपर्ने हुन्छ ।’

कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगामी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा र सुरक्षामा केन्द्रित रही देशभर नेटवर्क विस्तार गरी विभिन्न सुविधासहितको सेवा उपलब्ध गराउँदै देशको अर्थतन्त्रमा महत्वपूर्ण  योगदान दिने संस्थाका रूपमा भूमिका खेल्नुपर्नेमा मन्त्री बाँस्कोटाले जोड दिए ।  सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले कम्पनीको भविष्य र प्रगति यसको आम्दानीसँग जोडिएको बताए । ‘कम्पनीलाई बजार हिस्सा बढाउने कार्यमा बढी ध्यान दिनुपर्ने देखिन्छ,’ उनले भने, ‘कम्पनीको फोरजी सेवा विस्तार तथा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्र गतिमा अगाडि बढाउनुका साथै नयाँ अतिरिक्त सेवामा समेत ध्यान दिनुपर्छ ।’

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक  अधिकारीले कम्पनीको समग्र अवस्थाबारे जानकारी गराउँदै व्यावसायिक दक्षता, बजार विस्तार, राजस्व वृद्धि र उच्च कार्यदक्षतासहित कम्पनीलाई निरन्तर अग्रणी स्थानमा राख्नका लागि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । कम्पनीको भ्वाइस सेवामा कम्पनीको ग्राहक आधार २ करोड १० लाख ९८ हजार र डाटामा १ करोड २० लाख ४ हजार पुगेको छ ।कार्यक्रमका अवसरमा कम्पनीको कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल र द हिमालयन टाइम्स दैनिकका पत्रकार सुजन ढुंगानालाई जनही ४० हजार रुपैयाँ नगदसहित ‘नेपाल टेलिकम पत्रकारिता पुरस्कार’समेत प्रदान गरेको छ । त्यसका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवापदक तथा प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

देशभर फोरजी सेवा
कम्पनीले सेवा क्षेत्रबाट हुने आय वृद्धिका लागि एक वर्षभित्र चौथो पुस्ताको मोबाइल फोरजी तथा एलटिई सेवा देशभर गर्दै डाटाको खपत बढाउने योजनामा छ । एफटिटिएचद्वारा एडिएसएल विस्थापन अप्टिकल फाइबरमार्फत प्रदान गरिने एफटिटिएच ब्रोडब्यान्ड सेवाको देशभर विस्तार गरी परम्परागत एडिएसएल प्रतिस्थापन गर्दै थप सेवा विस्तार गर्ने कम्पनीको तयारी छ ।

वार्षिकोत्सवमा टेलिकमका उपहार
- २२ फागुनसम्म नेपाल टेलिकमको एनटी मोबाइल एप डाउनलोड तथा रजिस्टे«सनमा निःशुल्क सय एमबी डाटा ।
- जिएसएम पोस्टपेड ग्राहकलाई ९ सय रुपैयाँको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सय रुपैयाँ ब्यालेन्स ।
- २३ माघदेखि ८ फागुनसम्म रजिस्टर हुने जिएसएम पोस्टपेड मोबाइलका नयाँ ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना बोनसका रूपमा १ जिबी डाटा र सय मिनेट भ्वाइस ।
- टुरिस्ट प्याकेजमा ५ सय रुपैयाँमा ५ जिबी डाटा, ५० मिनेट भ्वाइस, ५० एसएमएस र सय रुपैयाँको अन्तर्राष्ट्रिय कल । हजार रुपैयाँमा १० जिबी डाटा, सय मिनेट भ्वाइस, सय एसएमएस र २ सय रुपैयाँको अन्तर्राष्ट्रिय कल ।
- २२ माघदेखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १ सय ५० रुपैयाँमा ४५ मिनेट र ५ सय रुपैयाँमा १ सय ६५ मिनेट भ्वाइस ।
- असार ०७४ सम्मको बक्यौता बाँकी रहेका ग्राहकले आउँदो असारसम्म बक्यौता बुझाए जरिवाना छुट ।
- एक वर्षदेखि एडिएसएल सेवा लिइरहेका तथा ३ महिनाको एफटिटिएच प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क सिपिई । 
- नेत्रहीन संघको सिफारिसमा नेत्रहीनलाई मोबाइलमा ५०, २ सय र ३ सयको डाटा प्याकेज खरिदमा शतप्रतिशत बोनस तथा २ सयको भ्वाइस प्याकेजमा ५० प्रतिशत बोनस ।
- एमपोसबाट रिचार्ज गर्दा पाँच प्रतिशत बोनस ।