मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १४ शुक्रबार ११:५४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

१६० घरधुरीलाई चार खानेपानी धारा, हरेक दिन पानी थाप्न हानथाप, वेलावेला झडप

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १४ शुक्रबार ११:५४:००

पानी हरेक नागरिकका लागि आधारभूत आवश्यकता हो । पिउन, सरसफाइ गर्न, खाना पकाउन पर्याप्त रूपमा पानीको पहुँच पुग्नु नागरिकको नैसर्गिक अधिकार पनि हो । 

नेपालको संविधानले हरेक नागरिकको स्वच्छ पानीको सुनिश्चितता गर्ने पनि जनाएको छ । 

तर, के गर्नु संविधानमा लेखिएर मात्र पनि नहुने रहेछ । जुम्लाको एक गाउँमा आजभोलि पनि एक गाग्री पानीका पनि दैनिक लडाइँ हुने गरेको छ । दिनमा बिहान–बेलुका गरी चार घन्टा मात्र धारामा पानी आउने गरेको छ ।  

जिल्लाको तातोपानी गाउँपालिका– २ जर्मी गाउँमा हरेक दिन एक गाग्री पानीका लागि लडाइँ हुने गरेको छ । यही विजयादशमी अर्थात् १० कात्तिकका दिन, खुसी बाँड्ने र चाड मनाउने दिन एक गाग्री पानीका लागि विवाद हुँदा महिला–पुरुषबीच झडप नै हुन पुग्यो । 

धारो सानो आउने, जनसंख्या बढी भएकाले पानी भर्न पालो गर्छन् । अघिपछि आएको भन्दै पालोमा कुरा नमिल्दा दसैँकै दिन पानीका लागि हात हालाहाल भएको जर्मी गाउँको तितो यथार्थता बन्यो । 

त्यस्तै १२ कात्तिकका दिन पनि धारामा पानी भर्ने क्रममै विवाद हुदा दुईजना बालबालिकाबीच झडप भयो । माग र आवश्यकता बढी, परिपूर्ति र विकास कम हुँदा संघीयता आइसक्दा पनि एक गाग्रीका लागि कुटाकुट गर्नुपर्ने अवस्था रहेको एक स्थानीयले बताए । 

पानीका लागि  झडप हात हालाहाल महिनाको ४–५ पटक भए पनि सामान्य भनाभन, एक–अर्काबीच गालीगलौज, तँ–तँ र म–म भने हरेक दिन हुने गरेको स्थानीय वीर बुढाले बताए । 

उनले भने, ‘स्थानीय सरकार आएपछि अन्त घरघरमा धारा पुगेको सुनिन्छ, तर हाम्रो गाउँमा हरेक दिन पानीका लागि लडाइँ हुन्छ । पानीको अभाव धेरै छ यहाँ ।’ 

चाँडै खानेपानी समस्याको समाधान नभए कुनै दिन ठूलै घटना हुने उनको भनाइ छ ।

‘ताबाडा, दमाईंबाडा र लहरबाडामा गरी एक धारो छ । एक गाग्री भर्न तीनदेखि पाँच मिनेट लाग्छ । एकैघरका ४–५ भाँडा (गाग्री) हुन्छन् । म अघि आको, मअघि आको भन्दै विवाद गरेर हानाहानसमेत हुन्छ,’ स्थानीय दत्त बुढाले भने । 

अहिलेकै पानीलाई छुट्याएर अर्काे धारा निर्माण गर्ने र सीमित समयमा पानी छोड्नुको विकल्प नरहेको उनको भनाइ छ । करिब एक सय ६० भन्दा बढी घरधुरी रहेको जर्मी गाउँमा चारवटा मात्रै पानीका धारा छन् । 

एक घर एक धारा निर्माण गर्न नसके पनि वडा सरकारले जर्मी गाउँमा रहेका ६ वटा टोलमा ६ धारा मात्रै निर्माण गरे पनि तत्कालका लागि समस्या समाधान हुने स्थानीयको भनाइ छ ।

जर्मीगाउँका चारबाडा र दमाईंबाडा, लहरबाडा गरी दुई धारा तत्काल निर्माण गर्नुपर्ने स्थानीयको माग छ । 

खानेपानी, सडक, सञ्चार, विद्युत्लगायतका क्षेत्रको द्रुत विकास हुने मर्मका साथ तीन तहका सरकार निर्माण भए पनि दुर्गम गाउँका पीडा ज्युँका त्युँ रहेका छन् । 

यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २ नम्बर वडाका सबै घरमा पानी पुऱ्याउने दाबी गर्छन् । 

उनले भने, ‘स्थानीय सरकारको पहिलो वर्षमै एक करोड विनियोजन गरी घरघरमा धारा पुऱ्याउने लक्ष्य थियो । तर, धौलिघाट बृहत् खानेपानी आयोजनाको पानी आएपछि डुब्लिकेसन हुन सक्ने भन्दै रोक्यौँ । पानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौँ ।’

चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २ नम्बर वडामा एक घर एक धाराका लागि ३० लाख पहिलो चरणको बजेट आएको अध्यक्ष न्यौपानेको भनाइ छ । 

धेरै पहलपश्चात् प्रदेशबाट क्रमागत खानेपानी योजना परेको छ । चालू आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्न वडा सरकारसँग समन्वय गरी अघि बढ्ने उनको भनाइ छ ।