मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २३ बुधबार ०८:३९:००
Read Time : > 3 मिनेट
सेयर बजार

मंगलबार करिब ३ अंक बढ्यो बजार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २३ बुधबार ०८:३९:००

मंगलबार नेप्से परिसूचक करिब ३ अंक बढेर बन्द भएको छ । लामो समयदेखि ओरालो लागेको नेप्से, यस दिन बढेपछि लगानीकर्ताको मनोबल केही बढेको छ । बजार बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम १० करोडको हाराहारीमा घटेको छ । सेबोनले धितोपत्र दलालहरूलाई शाखा विस्तारको अनुमति दिने कुराले यस दिनको बजार प्रभावित भएको एक ब्रोकरले बताए । आपूर्ति अधिक भइरहेको बजारमा माग सिर्जना हुन नसक्दा बजार निरन्तर ओरालो लागेको हो । ब्रोकरहरूको शाखा विस्तारले बजारमा माग बढ्ने अपेक्षा गरिएको छ । माग सिर्जना भएपछि मात्र बजारले गति लिन सक्ने उनको भनाइ छ । 
 बजार सारांश
मंगलबार नेप्से परिसूचक २ दशमलव ८३ अंक बढेर १ हजार १ सय ४७ दशमलव १० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७४ अंक बढेर २ सय ४४ दशमलव शून्य २ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १९ अंक र सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २ प्रतिशत बढेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार ४ सय ८९ पटकको कारोबारमा २३ करोड १० लाख २२ हजार २ सय ३३ रुपैयाँबराबरको ७ लाख ३६ हजार ७ सय ६९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 
 प्राविधिक विश्लेषण
आरएसआईः यस दिन नेप्सेको २४ दिने आरएसआई ३५ दशमलव ८३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन १ दशमलव ३७ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये ८० कम्पनीको सेयरमूल्य बढेको छ भने ५८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, बुधबार नेप्सेले १ हजार १ सय ४३ दशमलव ४० बिन्दुमा पहिले टेवा पाउने देखिन्छ भने १ हजार १ सय ५० दशमलव १७ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्दछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय ३९ दशमलव ७१ बिन्दुमा दोस्रो टेवा पाउँछ भने १ हजार १ सय ५३ दशमलव २५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 
 अपरको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा अपर तामाकोसी अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन १ हजार ४९ पटकको कारोबारमा २ करोड ५५ लाख २ हजार ६ सय ६८ रुपैयाँबराबरको १ लाख ४ हजार ६ सय ८७ कित्ता सेयर खरिद–बिक्री भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १ दशमलव २१ प्रतिशत घटेर २ सय ४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नागरिक लगानी कोषको यस दिन १ करोड ४३ लाख र नेपाल दूरसञ्चार कम्पनीको १ करोड १७ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । 
 सामुदायिकको मूल्य करिब १० प्रतिशत बढ्यो
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९ दशमलव ८८ प्रतिशत बढेको छ । त्यसैगरी, बुटवल पावर कम्पनी र राधी विद्युत् कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएको पूर्णिमा विकास बैंक लिमिटेडको सेयरमूल्य यस दिन ४ दशमलव ३७ प्रतिशत घटेको छ । वरुण हाइड्रोपावर, सिटी एक्सप्रेस फाइनान्स र नयाँ नेपाल लघुवित्तको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ । 
 ८ कमाउने, २ गुमाउने
मंगलबार कारोबारमा आएका १० समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने २ समूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४७ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३७ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव २४ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत, जीवन बिमा र होटेल समूहको शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ९९ प्रतिशत घटेको छ भने वित्त समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत घटेको छ । 

बंगलादेश बैंकको नाफा ६९ प्रतिशत बढ्यो
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नेपाल बंगलादेश बैंकको खुद नाफा ६९ दशमलव ५४ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले ७९ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४६ करोड ७९ लाख रहेको थियो । खुद नाफा बढेसँगै बैंकको वितरण योग्य नाफा पनि बढेको छ । गत आवको तुलनामा बैंकको यस्तो नाफा ४१ दशमलव १३ प्रतिशत बढेर ६१ करोड ८२ लाख पुगेको छ । बैंकले सो अवधिसम्ममा ५२ अर्ब ४७ करोड निक्षेप संकलन गरी ५१ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । 

बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा २५ दशमलव शून्य १ प्रतिशत र कर्जा २२ दशमलव ७६ प्रतिशत बढी हो । पुस मसान्तसम्ममा बैंकको जगेडा कोष ३ अर्ब ५१ करोड २४ लाख पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा २१ दशमलव १६ प्रतिशत बढी हो । बैंकको चुक्तापुँजी सो अवधिसम्ममा ८ अर्ब ८ करोड ८२ लाख रहेको छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद ब्याज आम्दानी ६८ दशमलव ७९ प्रतिशत बढेर १ अर्ब ३९ करोड ६५ लाख पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने ५८ दशमलव ५० प्रतिशत बढेर १ अर्ब ५ करोड पुगेको छ । गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिका बैंकको प्रतिसेयर आम्दानी ८ दशमलव शून्य ५ रुपैयाँ बढेर १९ दशमलव ६२ रुपैयाँ पुगेको छ । गत आवमा बैंकको यस्तो आम्दानी ११ दशमलव ५७ रुपैयाँ रहेको थियो । गत आवमा २६ रहेको बैंकको मूल्य आम्दानी अनुपात चालू आवमा घटेर ९ दशमलव ६३ मा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ समीक्षा अवधिमा ८ दशमलव ४३ रुपैयाँ बढेर १ सय ४३ दशमलव ४३ पुगेको छ ।

लुम्बिनीको संस्थापक सेयर लिलाम बिक्रीमा
लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख ९७ हजार ५ सय ९६ दशमलव ४४ कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । लगानीकर्ताले माघ २७ गतेदेखि फागुन ३ गतेसम्ममा सो सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले २०७४, माघ १० गतेदेखि २०७४, फागुन २३ गतेसम्म १० बराबर १ अनुपातमा निष्कासन तथा बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर विक्री गर्न लागेको हो । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ । सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।