मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १३ बिहीबार ०७:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मकवानपुरमा बढ्यो बलात्कारका घटना 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १३ बिहीबार ०७:५५:००

मकवानपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । तीन वर्षको तथ्यांक तुलना गर्दा यस्तो देखिएको हो । आर्थिक वर्ष ०७४/७५ मा २२ वटा बलात्कारका घटना दर्ता भएको मकवानपुरमा ०७५/७६ मा ३२ र ०७६/७७ मा ३६ वटा पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ०७७/७८ को असोज दोस्रो सातासम्म १० वटा बलात्कारका घटना थप दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । 

यो अवधिमा एक हाडनाता करणी मुद्दा दर्ता भएको छ । बलात्कार प्रयासका घटना तीन आर्थिक वर्षमा बराबर रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव ०७४/७५ मा १०, ०७५/७६ र ०७६/७७ मा समान आठ–आठवटा बलात्कार प्रयासका घटना दर्ता भएको प्रहरीले जनाएको छ । 

बालयौन दुरुपयोग पनि बढ्यो

यो अवधिमा बालयौन दुरुपयोग पनि बढेको छ । आव ०७५/७६ मा सात र आव ०७६/७७ मा आठवटा बालयौन दुरुपयोग भएको प्रहरीको तथ्यांक छ । बितेको तीन वर्षमा जातीय छुवाछुत र अप्राकृतिक मैथुनका घटना दर्ता भएको छैन । प्रवक्ता रानाले जनचेतना अभिवृद्धि गर्नु नै यौनजन्य हिंसा न्यूनीकरणको प्रमुख उपाय भएको बताए । उनले बलात्कारका घटना शून्य नहुने भन्दै यसलाई न्यूनीकरण गर्न सचेतना फैलाउने, आत्मरक्षाका लागि तालिम लिनेलगायतका थुप्रै उपाय अपनाउनुपर्ने उनको भनाइ छ ।

मानिसको मानसिक खराबीकै कारण बलात्कार बढेको भन्दै यसलाई न्यूनीकरण गर्न जनचेतना बढाउनुपर्नेमा सबै निकायको ध्यान पुग्नुपर्ने रानाले बताए । डिएसपी रानाले बलात्कारको घटना मात्रै नबढेको र विगतमा भन्दा अहिले नागरिकमा सूचना प्रविधिको सहज पहुँच भएकाले लुकेका घटना बाहिर आएको धारणा राखे । विगतमा डर, त्रास र सामाजिक प्रतिष्ठाका कारण पनि धेरैले घटना गुम्स्याएर राख्ने गरेको स्मरण गर्दै हाल पीडा लुकाएर बस्ने बालिका तथा महिला कम भएको उनले बताए ।