मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ११ मंगलबार १५:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनकारी मन : नौ करोडको जग्गा दान, अस्पताल र असहाय सदनको शिलान्यास 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार १५:३२:००

सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा पाँचजना श्रेष्ठ दाजुभाइले दिवंगत आमाबाबुको स्मृतिमा अस्पताल र असहाय वृद्ध सेवा सदनका लागि करिब नौ करोड मूल्य पर्ने २३ कट्ठा जग्गा दान गरेका छन् । 

दिवंगत बाबु शिवनाथ श्रेष्ठ र आमा सन्तमाया श्रेष्ठको स्मृतिमा छोराहरू केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा. विष्णु श्रेष्ठले अस्पताल र सदन निर्माणका लागि जग्गा दान गरेका हुन् । 

श्रेष्ठ दाजुभाइले १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि १५ कट्ठा १० धुर र सदनका लागि सात कट्ठा १० धुर जग्गा दान गरेका हुन् । 

दान गरिएको जग्गामा अस्पताल र सदन निर्माणको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिलान्यास गरेका छन् । 

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अपांगता र फरक शारीरिक क्षमताका व्यक्तिहरूलाई  सबलांगलाई झैँ दैनिक काममा सक्रिय बनाउने गरी काम अगाडि बढाइएको बताए । 

‘अब फरक क्षमता भएका व्यक्तिहरूका लागि पनि राज्यको तर्फबाट अवसरको सिर्जना गरिनेछ,’ मन्त्री श्रेष्ठले भने, ‘फरक क्षमताको कारणले परिवार र समाजबाट अपहेलित व्यक्तिहरूलाई विभिन्न आयआर्जन तथा सीपमूलक तालिमहरू दिई आर्थिक रूपले आत्मनिर्भर बनाइनेछ ।’

वृद्धावस्थामा अरूको आश्रयमा बस्नुपर्ने बाध्यता भएका ज्येष्ठ नागरिकहरूलाई जीवन निर्वाहमा सघाउ पुग्ने गरी कार्ययोजना बनाउन मातहतका कार्यालयलाई निर्देशन दिइएको र चाँडै काम अगाडि बढ्ने उनले बताए । 

‘अपांगता भएका व्यक्तिको जीवन निर्वाह, महिला हिंसा, बालबालिकाको शिक्षा, वृद्धवृद्धाले सम्मानपूर्वक बाँच्ने अधिकारलगायतका विषयमा विज्ञसँग गहन छलफल गरी ठोस कार्ययोजना ल्याउँदै छौँ,’ उनले भने । 

जग्गादाता श्रेष्ठ दाजुभाइलाई मन्त्री श्रेष्ठ र गोलबजार नगरपालिका प्रमुख देवनाथ साहले सम्मानपत्र प्रदान गरेका थिए । 

शिलान्यास समारोहमा गोलबजार– ७ का ज्येष्ठ, महिला तथा अपांगता भएका नागरिकहरूलाई सम्मान तथा लाठीसमेत वितरण गरिएको थियो ।