मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तीर्थराज बस्नेत
२०७५ माघ २३ बुधबार ०७:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

धरहरा र ताहचलको माटो तथा बर्दिबासको काठले बन्दै छ काष्ठमण्डप

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत
२०७५ माघ २३ बुधबार ०७:०४:००

०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप धरहराको जग खन्दा निस्किएको र ताहचलको माटो प्रयोग गरेर पुनर्निर्माण भइरहेको छ । पुरानो काष्ठमण्डपमा प्रयोग गरेको माटोसँग परीक्षण गर्दा धरहरा र ताहचलको माटो उपयुक्त देखिएपछि मिसाएर प्रयोग गरिएको पुनर्निर्माण समितिका संयोजक प्रदेश ३ का सांसद राजेश शाक्यले बताए । दक्षिणकाली, सितापाइलालगायत स्थानको माटो परीक्षण गरे पनि ताहचलको जस्तो गुणस्तरीय नभेटिएको उनले बताए । काष्ठमण्डपमा सिमेन्ट प्रयोग नहुने भएकाले गाह्रो काँचो इँटा र माटोबाट बनाइँदै छ ।

काठ भने बर्दिबासको साल (अग्राख) प्रयोग हुने भएको छ । युनेस्कोले उपलब्ध गराएको उपकरणले रेसिस्टोग्राफ परीक्षण गर्दा पुराना काठ १०–१५ प्रतिशत मात्रै पुनः प्रयोग गर्न सकिने देखिएपछि समितिले बर्दिबासबाट काठ ल्याउने निर्णय गरेको हो । नेपाल टिम्बर कर्पोरेसनमार्फत सो काठ आयात गरिएको छ । 

विश्वसम्पदा सूचीमा सूचीकृत काष्ठमण्डप ठेक्का प्रक्रियाबाट गर्न नहुने सुझाब सरोकारवालाले दिएपछि काठमाडौं महानगरपालिकाले नै पुनर्निर्माण गरिरहेको छ । प्रदेश ३ का सांसद राजेश शाक्यको नेतृत्वमा महानगरले गठन गरेको पुनर्निर्माण समितिले २२ कात्तिकबाट काम थालेको थियो । तीन महिनामा १० प्रतिशत काम सकिएको छ । महानगरपालिकाले साढे पाँच करोड निकासा गरिसकेको छ । निर्माण सम्पन्न गर्न करिब १८ करोड लाग्ने अनुमान छ । तीन वर्षभित्र काष्ठमण्डप तयार हुने शाक्यले बताए । 

सातौँ शताब्दीको काठ पनि प्रयोग हुने 
पुरातत्व  विभागको अनुरोधमा बेलायतको लरहाम विश्वविद्यालयको टोलीले काष्ठमण्डपको जग उत्खनन गरेको थियो । त्यसक्रममा भेटिएको सातौँ शताब्दीको काठ ‘मेथ’ पुनः प्रयोग हुने भएको छ । सोही उत्खननपछि नै काष्ठमाण्डप सातौँ शताब्दीताका बनेको पत्ता लागेको थियो । त्यसअघि ११औँ शताब्दीताका काष्ठमाण्डप बनेको कथन थियो । 

‘उत्खननका क्रममा भेटिएको मेथ (थाम र निदालको सपोर्टमा प्रयोग हुने काठ) पुनः प्रयोग हुनेछ । परीक्षणका क्रममा बलियो देखिएकाले पुनः प्रयोग गर्न लागेका हौँ,’ शाक्यले भने । उनका अनुसार काष्ठमण्डपको पुनारा चार मूल थाममध्ये दुई प्रयोगयोग्य नभएको र एकको परीक्षण भइरहेको छ । यस्तै चार मूल निदाल पुरानो प्रयोग नहुने र १६ मूल मेथमध्ये १० वटा मात्र पुनः प्रयोग गर्न सकिने अवस्थामा छन् ।

 मुख्य थाम उठाइए असारसम्म पहिलो तला
काष्ठमण्डपका मुख्य चार थाम उठाउने काम सकिएको छ । असार मसान्तसम्म पहिलो तला बनाइसक्ने योजना छ । ‘लक्ष्यअनुसार काम सक्ने गरी अघि बढेका छौँ,’ पुनर्निर्माण समितिका संयोजक तथा सांसद राजेश शाक्यले भने, ‘निर्धारित समयभित्र हामी काम सक्छौँ ।’ काष्ठमण्डपको अनुगमन पुरातत्वविद्हरूको विज्ञ समूहले गरिरहेको छ ।
 १७ हजार क्युफिट  काठ र २ लाख इँटा लाग्ने 
काष्ठमण्डप बनाउन १७ हजार ५८ क्युफिट काठ लाग्ने अनुमान पुनर्निर्माण समितिले गरेको छ । कर्पोरेसनले हालसम्म ८१४.५२ क्युफिट काठ उपलब्ध गराइसकेको छ । यस्तै, काँचो इँटा (माःआप्पा) ठूलो ९० हजार र सानो १ लाख १० हजार लाग्ने अनुमान गरिएको छ । काष्ठमण्डपमा प्रयोग भएको इँटा अहिले बजारमा उपलब्ध भएकोभन्दा भिन्न आकारको रहेकाले विशेष अर्डर गरिएको समितिले जनाएको छ । यो जिम्मा दक्षिण बाराही इँटा उद्योगले पाएको छ । उसले अहिलेसम्म १६ हजार ६ सय ७६ इँटा उपलब्ध गराएको छ ।