मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी
२०७५ माघ २३ बुधबार ०६:३०:००
Read Time : > 1 मिनेट
समाचार

माल्दिभ्स जान नपाएपछि बालिकाको अपहरण 

Read Time : > 1 मिनेट
टेकराज थामी
२०७५ माघ २३ बुधबार ०६:३०:००

माल्दिभ्स जान नपाएको झोकमा थापाथलीको प्रसूतिगृहकी डा.बबिता साहकी दुई वर्षीया छोरी सन्दिज्ञको अपहरण भएको खुलेको छ । प्रहरीले अपहरणका मुख्य योजनाकार धनुषा जनकपुर–४ का ३७ वर्षीय मनीषकुमार गुप्तालाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । 

प्रहरीका अनुसार दुई वर्षअघि आकर्षक रोजगारीमा माल्दिभ्स लैजान्छु भनेपछि मनीषले वीरगन्जका बब्लु श्रेष्ठलाई दुई लाख ५० हजार रुपैयाँ दिएका थिए । जमानी भने बालिका सन्दिज्ञका बाबु सन्तोषदत्त कर्ण बसेका थिए । तर, निर्धारित समयमा माल्दिभ्स नलगेपछि मनीषले बब्लुसँग पैसा फिर्ता मागे । तर, बब्लुले सबै रकम सन्दिज्ञकी बाबु सन्तोषलाई फिर्ता दिएकाले उसैसँग माग्न भने । मनीष रकम माग्न सन्तोषकहाँ पटक–पटक धाए । काठमाडौंको कोटेश्वरस्थित घरमै आए । तर, दुई वर्षसम्म पनि रकम नपाएपछि मनीषले सन्तोषकी छोरीको अपहरण गरे । अपहरणमा संलग्न मनीष विपन्न परिवारका हुन् । माल्दिभ्स जान उनले साढे दुई लाख रुपैयाँ ऋण काढेका थिए । 

कोटेश्वरबाट अपहरण गरी तिलगंगामा छाडेर फरार
मनीषले सन्दिज्ञलाई कोटेश्वरबाट ११ माघ बिहान ८ः३० बजे अपहरण गरेका थिए । एक लाख ५० हजार रुपैयाँ फिरौती रकम बुझाएपछि मनीषले बालिकालाई तिलगंगामा छाडेर फरार भएका थिए । तिलगंगाबाट जनकपुरको बस चढेर फरार भएका उनी बिहारको सितामाडीस्थित गाउँमा लुकेर बसेका थिए । सितामाडी महोत्तरीको भित्तामोडबाट करिब तीन घन्टाको पैदल यात्रापछि पुगिन्छ । उनी लुकेर बसेको सुराकी प्राप्त भएपछि भारतीय प्रहरीको सहयोगमा काठमाडौं परिसरका प्रहरी टोली पुगेर मनीषलाई पक्राउ गरेको हो । फिरौती रकम असुल गरेको अभियोगमा प्रहरीले मनीषकी श्रीमती अर्जनाकुमारी गुप्तालाई पनि पक्राउ गरेको छ ।

आर्थिक लेनदेनका कारण अपहरण
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बालिका अपहरणको पछाडि आर्थिक लेनदेन विवाद रहेको जानकारी दिए । ‘१० दिनअघि अपहरणमा परेकी बालिकाको फिरौती असुलपछि सकुशल उद्धार भयो । यसको पछाडि दुई पक्षबीच लेनदेनको विवाद रहेको देखिन्छ,’ उनले भने, ‘कारण जे जस्तो भए पनि बालिका अपहरण जघन्य अपराध हो । दोषीलाई कानुनअनुसार कारबाही हुन्छ ।’