मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक अधिकारी काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०९:३५:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७७ कार्तिक ७ शुक्रबार ०९:३५:००

दसैँमा मासु खानुलाई संस्कृतिका रूपमा लिइन्छ । घरघरमा मासुका लागि खसी, राँगा वा बंगुर काट्नु सामान्य रूपमा लिइन्छ । दसैँ अवधिभरि खानाका अधिकांश परिकार मासुबाट बन्ने गर्छन् । दसैँको समयमा घरमा अनिवार्य मासु खानुपर्ने बाध्यताजस्तै बनेको छ, साथै आर्थिक अवस्था कमजोर भएका परिवारका लागि आर्थिक भार थपिने माध्यम पनि बन्छ ।

उपयुक्त भण्डारण नहुँदा र नियमित मासुले सेवनले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ । चिकित्सकहरूका अनुसार मुटु र डायबेटिजको समस्या भएका व्यक्तिका अत्यधिक मासु सेवन राम्रो मानिँदैन । दसैँको रमाइलो खानपानमा निर्भर गर्ने हुँदा, अत्यधिक मासुको सेवन गर्नुभन्दा माछा पनि प्रयोगमा ल्याउन सकिन्छ ।

नेपालमा मासुको तुलनामा माछाको खपत एकदमै कम हुने गर्छ । तर, मासुभन्दा माछा निकै स्वस्थ्यवद्र्धक मानिन्छ । माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले शरीरमा रगतलाई पातलो बनाउने र मस्तिष्क शक्ति तीव्र बनाउने गर्छ । पछिल्लो समय कोरोनाले निम्त्याएको असामान्य परिस्थितिले शरीरमा पनि प्रत्यक्ष प्रभाव पारेको छ ।

यस्तो अवस्थामा पचाउन नसकिने गरी मासुको सेवनले स्वास्थ्यलाई हानि गर्न सक्छ । दसैँमा माछालाई मासुको विकल्पका रूपमा समावेश गर्न सकिन्छ । नेपाली समाजमा माछाको परिकारबारे धेरै ज्ञान भएको पाइँदैन । भान्सामा माछालाई फ्राई र करीमा मात्र माछालाई सीमित राखिन्छ । तर, माछालाई विभिन्न परिकारमा तयार गर्न सकिन्छ । माछामा काँडा हुने भएकाले पनि अधिकांशले माछा प्रयोग नगरेको पाइन्छ । बजारमा हिजोआज बोनसेल गरेको माछा पनि उपलब्ध हुन्छ । 

माछाको के–के परिकार बनाउन सकिन्छ ?
फिस बिरियानी
फिस बिरियानीका लागि काटेको माछा, मिक्स होल गरम मसला, तेल, प्याज, जिरा, धनियाँ पाउडर, खुर्सानीको धुलो, घ्यु, हरियो धनियाँ, काजु, ब्राउन अनियन, नुन स्वादअनुसार, बासमती चामल, आवश्यकताअनुुसार पानी, राइता, अदुवा लसुन पेस्ट, केसर, रोज वाटर, दही, गरम मसलाजस्ता सामान चाहिन्छन् । आवश्यकताअनुसार सामग्री मिलाएर फिस बिरियानीका लागि तयारी गर्न सकिन्छ । 
पकाउने विधि 
माछालाई डाइस काटेर राख्नुस् र माथि दिइएकोमध्ये करिब ७ ग्राम गरम मसलालाई तातो तेलमा फुराउनुहोस् । अदुवा, लसुन, प्याज हालेर ब्राउन बनाउनुहोस् र काटेको माछा हालिदिनुहोस् र केहीबेर पकाइसकेपछि सम्पूर्ण मसला राखेर एकछिन पकाएर धनियाँ राख्नुपर्छ । 

अर्को भाँडोमा आवश्यकताअनुसार पानी तताएर गरम मसला र नुन राखेर उमाल्नुहोस् । भिजाएको चामल खनाएर करिब ७५ प्रतिशत पाक्न दिएपछि छान्नुपर्छ । पहिले तयार गरिएको माछा र चामललाई मिसाएर तीन तहमा राख्नुपर्छ । यसको बीचबीचमा घ्यु, पुदिना, ब्राउन अनियन, केसर, रोज वाटर र घ्युमा भुटेको काजु राखेर भाँडा छोप्नुहोस् । जसलाई करिब १५ मिनेटसम्म पकाउनुहोस् । अन्तमा काँक्रो, दही, चाट मसला, हरियो खुर्सानी, क्रास रोस्ट जिरा, कालो नुन, कागती हालेर बनाइएको राइता सलादका साथमा राखेर खान सकिन्छ । 

फिस चिल्ली 
फिस चिल्लीका लागि काटेको माछा आधा केजी, तेल दुई चम्चा, अदुवा लसुन एक चम्चा, कर्न फ्लोर एक चम्चा, सोग सस आधा चम्चा, नुन स्वादअनुसार, सेतो मरिच, सेलरी चप, भेडे खुर्सानी, प्याज गोलभेंडा, हरियो खुर्सानी, धनियाँ, हरियो प्याज तिलको तेल, अन्डा फिटेको अदुवा, लसुन, टिमुर र चिल्ली पेस्ट आधा चम्चा तयार पार्नुपर्छ । 

पकाउने विधि
काटेको माछा, अदुवा, लसुन, सोय सस, नुन, मरिच, अन्डा, चिल्ली पेस्ट, कनै फ्लोर, मैदा राखेर मजाले मोल्नुहोस् र झुरुमझुरुम हुने गरी तातो तेलमा फ्राई गर्नुहोस् । अर्को भाँडोमा तेल तताएर काटेको अदुवा, लसुन, सेलरी हालेर ब्राउन गर्नुपर्छ । साथै, सोय सस, केचपमा पानी राखेर थिकनेस बनाउनुपर्छ । त्यसपछि फ्राई गरेको माछा र डाइस कट काटेको मिक्स भेज हालेर हाई हिटमा पकाउनुपर्छ । अन्तिममा तेल, सेचवान ओइल, हरियो प्याज, धनियाँ राखेर खाना तयार पार्न सकिन्छ ।

फ्री चिल्लीजस्तै प्राउन चिल्ली पनि बनाउन सकिन्छ । योसँगै माछाबाट तावा फिस, फिस अमृतसरी, फिस बल, फिस फिंगर, फिस करी, पकौडा, गोल्डेन फ्राई, हुनान गरी विभिन्न परिकार बनाउन सकिन्छ ।