१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बलात्कारीलाई मृत्युदण्ड माग गर्दै १९ असोजमा जनकपुरमा प्रदर्शनमा उत्रिएका युवा ।
हदिश खुद्दार जनकपुरधाम
२०७७ कार्तिक ७ शुक्रबार ०८:५८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई महिनामा प्रदेश–२ मा बलात्कारका ८७ घटना

Read Time : > 4 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ कार्तिक ७ शुक्रबार ०८:५८:००

बलात्कारजस्तो जघन्य अपराध मिलाउन मधेसका पञ्चायतहरू सक्रिय,  ‘पोलपोलमा सरकार, टोलटोलमा बलात्कार’ नारासहित विरोध प्रदर्शन

१४ असोज साँझ महोत्तरी भंगहा नगरपालिकाकी एक दलित महिला हरिमरी बजारबाट बाँसको ढकिया बेचेर घर फर्किँदै थिइन् । सोही नगरपालिकाका–९ का सचिव मिथिलेश यादवले बीचबाटोमै उनलाई रोकेर पोखरीनजिक लगी लछापछार गर्दै बलात्कार गरे । उनीविरुद्ध मुद्दा दर्ता गर्न नदिन आर्थिक प्रलोभन र धम्की दिइयो । त्यसका बाबजुद पीडितले १५ असोजमा जिल्ला प्रहरी कार्यालयमा सचिव यादवविरुद्ध उजुरी दर्ता गरिन् । लगत्तै प्रहरीले यादवलाई पक्राउ गर्‍यो ।

यादव पक्राउ परेपछि स्थानीय जनप्रतिनिधि र गाउँका अगुवाले मुद्दा फिर्ता लिन पीडितलाई आर्थिक प्रलोभन र दबाब दिइरहेका छन् । ‘जनप्रतिनिधि र गाउँका अगुवा भन्नेहरूले मुद्दा फिर्ता लिन प्रलोभन देखाए, फिर्ता नलिए ज्यान मार्ने धम्की दिइरहेका छन्,’ पीडित भन्छिन्, ‘तर, म कुनै हालतमा मुद्दा फिर्ता लिन्नँ । मेरो अस्मिता लुटिएको छ, पैसाले इज्जत फर्केर आउँदैन । मलाई न्याय चाहिएको छ ।’ आफूसहित परिवारको सुरक्षा जिम्मा राज्यले लिनुपर्ने उनको माग छ ।

पञ्च बसेर अपराध ढाकछोप प्रयास

१२ असोजमा सिराहा विष्णुपुर नगरपालिकाकी १६ वर्षीया किशोरी खेतमा घाँस काट्न गएकी थिइन् । साँझ ५ बजे स्थानीय २० वर्षीय मुकेश साहले जबर्जस्ती करणी गरे । घटनापछि गाउँका भद्रभलादमी घटना ढाकछोप गर्न सक्रिय भए । प्रहरीमा गए बदनामी हुने भन्दै पीडकका आफन्तले पीडित परिवारलाई गाउँमै मिलाउन विभिन्न प्रलोभन देखाई रोकिरहे । चार दिनपछि गाउँमै पञ्चायत बसेर पीडकलाई पाँच लाख जरिवाना तोकियो । तर, पीडकसँग तत्काल पाँच लाख रुपैयाँ नभएपछि पीडकका आफन्तले दुईवटा कपाली तसमुक बनाए । एउटामा धनी रामगुलाम यादव र ऋणी सिंहेश्वर साह तथा अर्कोमा धनी लक्षुमण यादव र ऋणी शत्रुधन साह भई पाँच लाखको कपाली तमसुक बनाइयो । दुवै तमसुक स्थानीय जगवीर यादवको जिम्मामा राखियो । घटना सार्वजनिक भएपछि प्रहरीले जगवीरको घर खानतलासी ग¥यो । उनको कोटाबाट दुवै तमसुक बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिराहाका डिएसपी शालिग्राम पौडेल बताउँछन् ।

प्रहरीले बलात्कारजस्तो जघन्य अपराध ढाकछोप गर्न मतियार बनेका स्थानीय आठजनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका गाउँका पञ्चहरू हुन्– सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उद्गार यादव, जगवीर यादव, राजकुमार यादव र श्यामसुन्दर यादव ।

वडाध्यक्षबाटै बालिका बलात्कार सामसुम पार्ने प्रयास

१ असोजमा बारा सुवर्ण गाउँपालिकाकी एक १२ वर्षीया बालिका साँझ खाना खान भाइलाई बोलाउन घरबाट निस्केकी थिइन् । छरछिमेकमा भाइलाई खोजिरहेकी उनलाई स्थानीय २६ वर्षीय शिवपूजन यादवले हात समातेर सडकछेउमा लगे । र, मुखमा सलले बाँधेर बलात्कार गरे ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय कृष्ण यादवले तत्काल किशोरीका बाबुलाई घटनाबारे जानकारी दिए । बालिकासँग सोधपुछ गर्दागर्दै शिवपूजन फरार भइसकेका थिए । पीडकको  परिवार र केही छिमेकीले बदनामी हुने बताउँदै घटना ढाकछोप गर्न दबाब दिए । तर, पीडितका बाबुले मानेनन् र न्यायका लागि वडाध्यक्ष रामएकवाल साहलाई घटनाबारे जानकारी दिए ।

न्याय माग्न गएका उनलाई उल्टै वडाध्यक्षसमेत मिलेर मिल्न दबाब दिइयो । सोही राति वडाध्यक्ष साहसहित पीडक पक्षधरहरू पीडितको घरमै आएर डेढ लाख रुपैयाँ लिएर मिल्न प्रलोभन दिए । तर, पीडितका बाबुले अस्वीकार गरे । ‘तिम्रो इज्जत जान्छ, बदनामी भएपछि छोरीको बिहेमा पनि समस्या हुन्छ, मिलेनौ भने तिमीलाई पनि अरू घटनामा फसाइदिन्छौँ भन्दै धम्क्याए,’ पीडितका बाबु भन्छन्, ‘गरिबको पनि इज्जत हुन्छ, छोरीको इज्जत लुट्नेलाई पैसा लिएर छोड्दैनौँ, हामीलाई न्याय चाहिएको छ ।’

उजुरी दर्ता भएपछि पनि घटना मिलाउन तीन लाख दिन्छौँ भन्दै प्रलोेभन दिइरहेको उनी बताउँछन् । पीडितले वडाध्यक्षले पनि घटना मिलाउन दबाब दिएको बताइरहँदा वडाध्यक्ष साहले भने आफूले नै घटनाका विषयमा प्रहरीमा जानकारी गराएको दाबी गर्छन् ।

  • सिराहा विष्णुपर नगरपालिकामा १२ असोजमा भएको बलात्कारको मुद्दा पीडितलाई आर्थिक प्रलोभन र डरत्रास देखाई ढाकछोप गर्न खोजेको आरोपमा पक्राउ परेका मतियार ।

सामूहिक बलात्कार ढाकछोप गराउँदा आत्महत्या

२८ भदौमा सप्तरी डाक्नेश्वर नगरपालिकाकी १७ वर्षीया संगीता मण्डल खेतमा काम गर्न जाँदै थिइन् । बाटोमा चार युवाले पछाडिबाट समाते र उनलाई खेतमा पु¥याए । चारजना यौन पिपासुबाट इज्जत बचाउन उनी असफल भइन् । उनलाई एकपछि अर्को गर्दै चारैजनाले बलात्कार गरे । उनी बेहोस भइन् । होस आएपछि रुँदै कराउँदै घर आइन् । छोरी एकनासले रोइरहेपछि आमाले जिज्ञासा राखिन् । र, उनले घटनाबारे बताइन् । पीडितकी आमाले गाउँका भद्रभलादमीलाई घटनाबारे जानकारी दिइन् । उनीहरूले प्रहरीमा गए बदनामी हुने भन्दै पञ्चायत बसाउन सुझाए ।

प्रहरीका अनुसार पञ्चायतले बलात्कार आरोपितबाट जनही ५५ हजारका दरले पैसा लिएर घटना ढाकछोप गर्ने प्रयास मात्र गरेन, पञ्चायतको फैसला नमानी प्रहरीमा उजुरी दिए सामाजिक बहिस्कार गर्ने धम्की पनि दियो । बाध्य भएर किशोरीले आत्महत्या गरिन् । त्यसपछि मात्र प्रहरीले घटनाबारे जानकारी पायो । अहिले घटनाका अभियुक्त र ढाकछोप गर्ने तीनजना मतियारलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंह बताउँछन् ।

दाजुभाइलाई बन्धक बनाएर सामूहिक बलात्कार

१ भदौमा धनुषा सबैला नगरपालिकाकी एक किशोरी दुई दाजुभाइसँग धनुषाधाम नगरपालिकास्थित दिदीको घरमा भोज खाएर साँझ घर फर्कँदै थिइन् । बीच बाटौमै ६ युवाले उनका दाजुभाइलाई कुटपिट गर्दै बन्धक बनाए । र, किशोरीलाई तीन किलोमिटर टाढा पुर्‍याएर बलात्कार गरे । जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी मकेन्द्र मिश्रका अनुसार बलात्कारको भिडियोसमेत बनाएर उनीहरूले घटनाबारे कसैलाई जानकारी दिएमा भिडियो फेसबुकमा सार्वजनिक गरिदिने धम्की दिएको खुलेको छ ।

घटनाका अभियुक्त धनुषाधाम–२ धर्मपुरका श्याम यादवलाई बचाउन उनका बाबु सत्यनारायणले पीडित परिवारलाई १२ लाख दिने प्रलोभन दिएका थिए । गाउँनजिक विद्यालयमा स्थानीय भद्रभलादमीले पञ्चायती गरी पीडितका बाबुआमालाई १२ लाखमा घटना मिलाउन दबाब दिए । तर, उनीहरूले मानेनन् र प्रहरीमा उजुरी दिए । प्रहरीले घटनाका दुई अभियुक्तलाई पक्राउ गरेको छ, अन्य चारजना अझै फरार छन् । घटना ढाकछोप गर्न मतियार बनेका सत्यनारायण यादवलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको डिएसपी मिश्रले जानकारी दिए ।

दुई महिनामा ८७ घटना

पछिल्ला दुई महिनामा प्रदेश–२ मा मात्रै  ८७ वटा बलात्कारका घटना भएका छन् । प्रदेश–२ प्रहरी कार्यालयका अनुसार १५ साउनदेखि १५ असोजसम्म उक्त संख्यामा बलात्कारका उजुरी दर्ता भएका हुन् । तीमध्ये ७६ वटा घटनाका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ । बाँकी घटनामा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस अवधिमा महोत्तरीमा १६, सिराहामा १५, धनुषामा १२, सप्तरीमा १२, रौतहटमा ११, सर्लाहीमा नौ, पर्सामा सात र बारामा पाँचवटा उजुरी दर्ता भएका छन् । यस्तै, जबर्जस्ती करणी उद्योगमा २१ वटा उजुरी दर्ता भएका छन् ।

‘पोलपोलमा सरकार, टोलटोलमा बलात्कार’

‘पोलपोलमा सरकार, टोलटोलमा बलात्कार’ नारा लगाउँदै जनकपुरका युवाले १९ असोजमा विरोध प्रदर्शन गरे । धनुषासहित देशभर बलात्कारका घटना बढिरहँदा सरकार भने आत्मप्रशंसामा रमाइरहेको बताउँदै उनीहरूले विरोध जनाए । बलात्कारका दोषीलाई संविधान संशोधन गरी मृत्युदण्डसम्मको व्यवस्था हुनुपर्ने उनीहरूले माग गरे ।

बलात्कारविरुद्ध युवा संगठन (युथ एलाइन्स अगेन्स्ट रेप)को अगुवाइमा प्रदर्शन भएको हो । पीडकलाई मृत्युदण्डसम्मको व्यवस्था भएमा बलात्कारका घटना नियन्त्रणमा आउने संगठनका सदस्य सरोजकुमार मिश्र बताउँछन् । ‘बलात्कारीलाई कडा सजाय व्यवस्था नभएसम्म महिलाहरू सुरक्षित हुँदैनन्,’ उनी भन्छन् ।

बलात्कारजस्तो जघन्य अपराध गाउँसमाजमै मिलाउने प्रवृत्तिले धेरै घटना सार्वजनिक हुन नसकिरहेको महिला अधिकारकर्मी गुन्जा राय बताउँछिन् । ‘केही घटना इज्जत जाने डरले पीडितको परिवारले नै ढाकछोप गरेका हुन्छन्,’ उनी भन्छिन्, ‘तर, अधिकांश घटनामा पीडकले आर्थिक प्रलोभन र त्रास देखाउँदै सामसुम पार्ने प्रयास गर्छन् ।’

बलात्कारलाई अन्तर्राष्ट्रिय कानुनले पनि माफी दिन नसकिने अपराध मानेको अधिवक्ता रेखा झा बताउँछिन् । ‘पीडकलाई राजनीतिक संरक्षण, अशिक्षा र जनचेतना अभावमा यस्ता घटना बढिरहेका छन्,’ उनी भन्छिन्, ‘गाउँसमाजमा पञ्चायत बसेर बलात्कारीलाई उन्मुक्ति दिने काम बन्द नभएसम्म यस्ता घटना रोकिँदैनन् ।’

बलात्कारी र यस्तो जघन्य अपराध ढाकछोप गर्ने मतियारहरूलाई कानुनी दायरमा ल्याई कारबाही गरिने प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंह बताउँछन् । उनका अनुसार सिराहाबाट आठ, धनुषामा एक र सप्तरीमा तीन गरी बलात्कारका घटना ढाकछोप गर्ने १२ जना मतियारलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ ।

महिला हिंसा र बलात्कार न्यूनीकरणका लागि ‘सुरक्षित बेटी अभियान’ र ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव बताउँछन् ।