मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ७ शुक्रबार ०८:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भुटानी शरणार्थी शिविरका बालबालिकाको बिचल्ली

Read Time : > 2 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार ०८:२६:००

धेरैका घरमा दसैँ आयो, तर अभिभावकविहीन यी बालबालिकाले नयाँ लुगा नफेरेको धेरै भयो

दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका सात वर्षीय बालक अर्विन माझीकी आमा हराएको एक वर्ष भयो । आमा हराएपछि बुबा पनि वेलावेला मात्र घर आउँछन् । उनीमाथि एक बहिनी र एउटा भाइको पालनपोषणको जिम्मेवारी छ । 

आठ वर्षीया उनकी दिदीलाई शरणार्थीको पहलमा मामाघर पठाइयो । अहिले उनीहरू तीनजना शरणार्थी शिविरमा छन् । काम केही गर्न सक्दैनन् । शरणार्थी शिविरका अरूकोमा के पाक्छ त्यही माग्न पुग्छन्, उनी । ‘कहिलेकाहीँ बुबाले ल्याउनुहुन्छ । त्यही खान्छौँ । तर, बुबा त धेरैजस्तो मातेरै आउनुहुन्छ, कसैले चामल दिएको छ भने पनि बेचेर जानुहुन्छ,’ उनी भन्छन्, ‘हामी त अरूको घरमा जान्छुम् । कहिले दिनुहुन्छ । कहिले बोकै बस्छौँ ।’

उनले लुगाकपडा नफेरेको वर्षौँ भयो । अरूले दिएको थोत्रो लुगामा उनीहरूको जीवन चलेको छ । अरू शरणार्थीले छोराछोरीलाई दसैँमा नयाँ लुगा किनिदिन थालेका छन् । तर, यी बालबालिकाको यसपटकको दसैँ खल्लो हुने निश्चित छ । ‘दसैँमा अरूले त लुगा किने । हामीलाई त बुबाले नकिनिदिने रे,’ अर्विन भन्छन् । उनीहरू पहिला त शरणार्थी शिविरमा रहेको विद्यालय जान्थे । शिविरको विद्यालय पनि बन्द भयो । शरणार्थी बालबालिकालाई बाहिरकै विद्यालय पढ्ने व्यवस्था गरियो । उनीहरूको घरमा खाने पनि नभएपछि विद्यालय जान पनि छाडे उनीहरूले । 

‘उनीहरू त जे भेट्यो त्यही खान्छन् । कहिलेकाहीँ म पनि खाना दिन्छु उनीहरूलाई । मैले पनि केही असहाय बालबालिका पालेको छु । आयस्रोत छैन । सधैँ दिन सक्दिनँ,’ उनकी छिमेकी सीता गुरुङ भन्छिन्, ‘घरमा केही छैन । जे भेट्यो त्यही खान बाध्य छन् ।’ 

बाबु जेलमा, आमाले छाडिन् 

भुटानी शरणार्थी शिविर पथरी शनिश्चरे, मोरङमा बस्दै आएकी ११ वर्षीया अल्सिबा राईको त्यस्तै बिचल्ली छ । बाबु जेलमा छन् । आमा घर छाडेर दोस्रो विवाह गरेर गइन् । उनी अहिले शिविरमा एक्लै बस्दै आएकी छिन् । अभिभावकविहीन उनको गुजारा अर्काकै भरमा चलेको छ । ‘बुबा जेलमा हुनुहुन्छ । आमा त हराउनुभयो । शिविरकै दाइ–दिदीहरूले सहयोग गर्नुहुन्छ,’ उनले भनिन् । 

शरणार्थी शिविर बेलडाँगीकी १४ वर्षीया असहाय बालिका दृष्टि राईलाई अभिभावकविहीन हुनुको पीडा राम्रैसँग थाहा छ । उनी सानै हुँदा आमा हराइन् । बुबा जेल परे । सानै उमेरबाट उनको काँधमा दुईजना भाइ र एकजना बहिनीको जिम्मेवारी थपियो । अहिले उनी र उनका भाइबहिनीले अभिभावक पाएका छन् । शरणार्थी शिविरमा असहायको पक्षमा काम गरिरहेका युवराज राईले उनी र उनकी बहिनीको अभिभावकत्व लिएका छन् । सीता गुरुङले दुई भाइको लालनपालनदेखि पढाइसम्मको व्यवस्था गरिदिएकी छिन् । 

३२ बालबालिका असहाय
शरणार्थी शिविर बेलडाँगी र शनिश्चरेमा गरी ३२ जना असहाय बालबालिका रहेको शरणार्थी अगुवा तथा फ्रेन्ड्स क्लब बिआरसीका अध्यक्ष युवराज राई बताउँछन् । उनीहरूको पालनपोषणमा नै समस्या भएको उनी बताउँछन् । ‘केहीलाई शिविरभित्र नै पाल्ने मान्छे खोजेर उनीहरूको जिम्मा लगाएका छौँ । तर, सबैलाई सम्भव भएको छैन,’ उनी भन्छन्, ‘उनीहरूको अवस्था भनिसध्य छैन । शब्दमा त के नै भन्ने र ! उनीहरूको अवस्था दर्दानक छ ।’ 

केही वर्ष पहिलासम्म त दातृ निकायले रासन दिँदै थियो । तर, पछिल्लो समय रासन कटौती गर्दा शिविरमा रहेका असहाय बालबालिका निकै अप्ठ्यारोमा परेको उनी बताउँछन् ।

उनीहरूको क्लबले गत वर्ष २१ जना बालबालिकालाई दाता खोजेर निजी विद्यालय भर्ना गरिदिएको थियो । अहिलेसम्म चारजनाले बीचमै विद्यालय छाडेको उनी बताउँछन् । ‘परिवारको अवस्था त्यस्तो छ । घरमा राम्रोसँग खान पनि पाउँदैनन् । स्कुल हालेर मात्र नहुने रहेछ,’ उनी भन्छन्, ‘सातजनाले छाडिसके । अरू पनि घरमा पेटभरि खान पाएको दिन जान्छन् । अरू वेला जाँदैनन् ।’ 

लकडाउनमा दीर्घरोगी वृद्धवृद्धाको उपचारका लागि सहयोग गरेको फ्रेन्ड्स क्लब बिआरसीले दसैँमा बालबालिकाका लागि पनि सहयोगका लागि स्रोत खोजिरहेको छ । अध्यक्ष राईका अनुसार खासगरी तेस्रो मुलुक पुनर्वास भएका शरणार्थीसँग सहयोग मागिएको छ । ‘दसैँ त हाम्रो ठूलो पर्व हो । हामीले त नमाने पनि हुन्छ । तर, केटाकेटीलाई त रहर हुन्छ नि !’, उनी भन्छन्, ‘उनीहरूको दसैँ खल्लो नहोस्, एक छाक मीठो र एक जोर राम्रो लुगा लगाउन पाऊन् भन्ने हाम्रो लक्ष्य हो । हामीसँग त केही छैन । तर, तेस्रो देश गएका दाजुभाइ, दिदीबहिनीसँग सहयोग मागिरहेका छौँ ।’