Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा. दीपेन्द्र पाण्डे
२०७७ कार्तिक ७ शुक्रबार ०७:२२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यौनअपराधीलाई सजाय : ‘केमिकल कास्ट्रेसन’

अपराधीको बाँच्न पाउने हकको सम्मान र पीडित पक्षले न्यायको अनुभूति एकैसाथ गर्न सक्छन्

Read Time : > 3 मिनेट
डा. दीपेन्द्र पाण्डे
२०७७ कार्तिक ७ शुक्रबार ०७:२२:००

समाजमा दिनानुदिन धेरै अपराध घट्छन् । त्यस्ता अपराधमध्ये यौनसित जोडिएका अपराधले जनमानसमा सधैँ आक्रोशको ज्वाला उठाउने गर्छ । जब पीडित स्वयं नाबालिग हुन्छन्, त्यो आक्रोशको स्वर अझ बढी हुन्छ । यौनअपराधपछि हुने हत्या त दानवताको पराकाष्ठा मानिन्छ । यौनअपराधका परिणामस्वरूप आक्रोशित जनता उद्वेलित हुन्छन् ।

यता, पीडित आफैँ र आफन्तले यौनअपराधीविरुद्ध विद्यमान आपराधिक न्याय प्रणालीमा रहेको सबैभन्दा कठोर सजायका लागि माग गर्ने गर्छन् भने आमनागिरक पनि त्यसैको पक्षपाती देखिन्छन् । नेपालको कानुनमा मृत्युदण्डको सजाय नभएकाले यस्ता यौनअपराधीलाई एउटा बेग्लै खालको सजायको कानुन निर्माणका लागि आवाज उठ्न थालेको छ र त्यो सजाय हो, यौनअपराधीको पुंसत्वहरण । मान्छेलाई नपुंसक बनाउने यस्तो प्रक्रिया वा विधिलाई चिकित्सकीय भाषामा ‘कास्ट्रेसन’ भनिन्छ ।


कास्ट्रेसन भनेको शल्यक्रिया वा औषधिमार्फत व्यक्तिको अण्डकोषलाई उपयोगविहीन बनाउनु हो । सर्जिकल कास्ट्रेसनमा शल्यक्रियाबाट पुरुषको दुईवटै अन्डकोष निकालिन्छ । त्यसपछि पनि औषधिउपचार निरन्तर र लामो अवधिसम्म गर्नुपर्ने हुन्छ । त्यस्तै, केमिकल कास्ट्रेसनमा भने कामेच्छा कम गर्नका लागि हार्मोनल औषधि को प्रयोग गरिन्छ । यसको उपचार कम्तीमा पनि तीनदेखि पाँच वर्षसम्म चल्ने गर्छ ।

केमिकल क्यास्ट्रेसनमा उपयोग गरिने औषधि मेड्रोक्सिप्रोजेस्टेरोन (डेपो प्रोवेरा), साइप्रोटेरोन र ल्युप्रोरेलिन हो । पुरुषमा टेस्टोस्टेरोन कामेच्छा र यौनक्रियासँग जोडिएको प्रमुख हार्मोन हो । कैयौँ अध्ययनले हिंस्रक यौनअपराधीको शरीरमा अहिंस्रक यौनअपराधीमा भन्दा बढी टेस्टोस्टेरोन हुने देखाएको छ । डेपो प्रोवेरा भनेको एक प्रकारको महिलामा हुने हार्मोनजस्तै औषधि हो, जसलाई पुरुषमा प्रयोग गरियो भने पुरुषको टेस्टोस्टेरोनको स्तर कम गरी पुरुष यौनअपराधीको यौन उत्तेजना कम गराउँछ । 

झट्ट सुन्दा यो ‘अमानवीय’ प्रयोग लाग्न सक्छ । तर, यसलाई समर्थन गर्नेले भने यो यौनअपराधको सजायस्वरूप जेलबाट छुटिसकेका मानिसबाट समाजमा सुरक्षा सुनिश्चित गर्ने एक मात्र विकल्पको रूपमा लिन थालेका छन् । नेपालमा पनि हाल यौनअपराधीविरुद्ध कडाभन्दा कडा सजायका लागि चर्को आवाज उठिरहेको छ । यस सन्दर्भमा यो आलेखले कास्ट्रेसनबारेको बहसलाई तथ्यमा आधारित बनाउन सहयोग पुग्नेछ । 

यसको प्रयोग
हार्मोनको हेरफेर गरी यौन दुव्र्यवहार हटाउने काम पहिलोपटक सन् १९४४ मा भएको थियो । पहिलोचोटि डायथाइलस्टिलबेस्ट्रोल भन्ने औषधि सुईको रूपमा टेस्टोस्टेरोनको स्तर कम गर्नका लागि दिइएको थियो । अमेरिका, क्यानडा र केही युरोपीय देशमा यौनअपराध कम गर्ने उद्देश्यले पुरुषमा यौनकल्पना र यौनआवेग कम गर्नका लागि मेड्रोक्सिप्रोजेस्टेरोन र सिप्रोटेरोनजस्ता औषधि प्रयोग गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया कानुनी रूपमा यो प्रविधि प्रयोग गर्ने पहिलो राज्य बन्यो । त्यहाँ सजायस्वरूप सन् १९९६ मा जेलको बसाइ सकेर समुदाय फर्कन लागेका केही यौनअपराधीमा रासायनिक र सर्जिकल कास्ट्रेसन गर्नका लागि मान्यता दिइएको थियो । त्यसपछि प्रचलनमा आएको यस उपायको कार्यान्वयन र मापदण्ड देशअनुसार फरक–फरक रहँदै आएको छ । यता, जर्मनीमा यौनदुराचारीलाई उसको स्वीकृतिपश्चात् सर्जिकल कास्ट्रेसन गर्ने कानुन बनेको छ भने बेलायतमा पनि कास्ट्रेसन स्वैच्छिक नै छ, तर जर्मनीभन्दा उल्टो त्यहाँ यौनअपराधीलाई केमिकल कास्ट्रेसन गर्ने कानुन बनेको छ ।

एसियाको सन्दर्भमा भने कास्ट्रेसनको पहिलो प्रयोग जुलाई २०११ मा कोरियाले यौनअपराधीमा गरेको थियो । त्यहाँको विद्यमान कानुनअनुसार १६ वर्षमुनिका नाबालिगविरुद्ध यौनअपराध गर्ने अपराधीलाई ‘केमिकल कास्ट्रेसन’ गर्ने गरिन्छ । त्यस्तै, भारतको दिल्लीमा सामूहिक बलात्कारको घटनापछि सरकारले अभियुक्तलाई बलात्कारविरोधी कानुनका रूपमा ३० वर्ष जेल सजायसहित केमिकल कास्ट्रेसन प्रस्ताव राखेको थियो । सो प्रस्तावपछि अहिले भारतमा विस्तृत कानुन निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

केमिकल कास्ट्रेसन गरिएका व्यक्तिमा हड्डी मक्किने ओस्टिओपोरोसिस रोग, मुटुरोग, मधुमेह र कोलेस्ट्रोलसँग सम्बन्धित दीर्घरोगका साथै मस्तिष्कमा पनि गम्भीर असर गर्न सक्छ

त्यस्तै, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसै प्रसंगमा बोल्दै एक पत्रकारसँगको वार्तामा भनेका थिए– ‘नाबालिगलाई बलात्कार गर्ने र बालयौनशोषण गर्नेलाई सार्वजनिक रूपमा फाँसी दिने प्रावधान ल्याउन मन छ, तर भविष्यमा केही पनि गर्न नसक्ने गरी अभियुक्तलाई केमिकल कास्ट्रेसन वा सर्जरी दिनु नै उचित हुनेछ ।’

मृत्युदण्डको विकल्प
मृत्युदण्ड उन्मूलनबारे छलफल चलिरहेको अवस्थामा विश्वभर केमिकल कास्ट्रेसनको प्रयोग बढ्दो छ । मृत्युदण्डको तुलनामा यसका केही सकारात्मक पक्ष पनि छन् । पहिलो, अपराधीको बाँच्न पाउने हकको सम्मान र पीडित पक्षले न्यायको अनुभूति एकैसाथ गर्न सक्छन् । दोस्रो, यसले वास्तविक रूपमा भइरहने घटनाको दरलाई घटाउँछ । विभिन्न अध्ययनले देखाएअनुसार केमिकल कास्ट्रेसनले दोहोरिएर हुने घटना अर्थात् पुनरावृत्तिको दरमा कमी ल्याएको छ ।

केमिकल कास्ट्रेसन गरिएको व्यक्तिबाट अपराध दोहोरिने सम्भावना न्यून हुन्छ । उपलब्ध तथ्यअनुसार त्यस्ता व्यक्तिबाट यौनअपराधको घटना २ प्रतिशतमा घटेको देखिएको छ । जबकि, यो नहुँदा यस्ता गतिविधि अझै ४० प्रतिशतभन्दा बढी रहेको थियो । यसैकारण पनि विश्वमा यस प्रविधिलाई नीति नियममा समावेश गर्ने क्रम बढ्दो छ ।

तीन, यो यौनजन्य आपराधिक घटना रोक्नका निम्ति भरपर्दाे माध्यम हो । यसले पुरुषमा यौनेच्छा पैदा गर्ने टेस्टोस्टेरोन हार्माेनको उत्पादन प्रक्रियामा ह्रास आउँछ, जसले गर्दा पुरुषको यौनेच्छामा स्वतः कमी आउँछ । तथापि, कास्ट्रेसनपछि पनि त्यस्ता पुरुषले यौन सम्बन्ध कायम गर्न नसक्ने भने होइन । त्यस्ता पुरुषले यौन सम्बन्ध कायम गर्न सक्ने भए पनि उनीहरू यस्तो सम्बन्ध स्थापित गर्नमा खासै रुचि राख्दैनन् । 

बेफाइदा
विभिन्न फाइदाका बाबजुद केमिकल कास्ट्रेसनका केही बेफाइदा पनि छन् । यसले व्यक्तिको शरीरमा हार्मोनको गडबडी उत्पन्न गराउँछ । जसले गर्दा व्यक्तिमा मानसिक अवसादको समस्या देखिने अधिक सम्भावना रहन्छ । साथै, वेला–वेलामा अस्वाभाविक रूपमा रातोपिरो हुने अवस्था आउन सक्छ । बाँझोपन हुने र रक्तअल्पतालगायतका अन्य समस्या देखा पर्ने हुन सक्छ ।

शारीरिक रूपमा पनि यसले विभिन्न अंग र प्रक्रियामा असर गर्न सक्छ । केमिकल कास्ट्रेसनको उपचार एकपटक गरेर सकिएपछि पनि यसको असर व्यक्तिमा जीवनभर देखिन सक्छ । केमिकल कास्ट्रेसनमा प्रयोग गरिने ‘डेपो प्रोभेरा’ जस्ता औषधिले सेरम टेस्टोस्टेरोनमा मात्र नभई एस्ट्राडियोलमा पनि महत्वपूर्ण गिरावट ल्याउँछ । जसले पुरुषको मनोविज्ञानमा महत्वपूर्ण भूमिका खेल्छ । केमिकल कास्ट्रेसन गरिएका व्यक्तिमा हड्डी मक्किने ओस्टिओपोरोसिस रोग, मुटुरोग, मधुमेह र कोलेस्ट्रोलसँग सम्बन्धित दीर्घरोगका साथै मस्तिष्कमा पनि गम्भीर असर गर्न सक्छ ।

बहसको विषय
समाजमा बीभत्स रूपमा निरन्तर भइरहेका बलात्कार र हिंसाका कारण व्यक्तिदेखि समुदाय हुँदै संसद्सम्म मृत्युदण्डका बारेमा कुरा उठ्न थालेको छ । यस अवस्थामा अन्तर्राष्ट्रिय अनुबन्ध र हाम्रो संविधानको भावनालाई सम्मान गर्दै विकल्पमा कास्ट्रेसनको कानुनी व्यवस्था हुनुपर्ने बहस चलाउन सकिन्छ । अर्कोतर्फ, कास्ट्रेसनका आलोचक भने यौनअपराध कडा यौनआवेगको सट्टा व्यक्तिका आक्रामक स्वभावद्वारा सञ्चालित हुने तर्क गर्छन् ।

अपराधीले मानसिक सन्तुष्टिका लागि यौनहिंसामा सामेल हुने हुनाले कास्ट्रेसनमार्फत यौन उत्तेजनालाई वशमा पार्दैमा यौनअपराधमा कमी नआउने उनीहरूको धारणा व्यक्त गर्छन् । व्यक्तिको आफ्नो अनुमतिविना कुनै पनि औषधिद्वारा उनीहरूको मानवअधिकारमाथि खेलबाड गर्न नमिल्ने उनीहरूको तर्क रहेको छ ।