मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०६:३१:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना महामारीमा पनि १५ हजार श्रमिकले लिए श्रम स्वीकृत

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०६:३१:००

कोरोना महामारीले विश्व आक्रान्त बनिरहँदा पनि वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको संख्यामा कमी आएको छैन । महामारीकै बीच १५ हजार ९५ जना श्रमिकले विभिन्न मुलुकमा रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । कार्यालयका अनुसार गत असारमा २ हजार ४ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, साउनमा २ हजार ९ सय ७९ र भदौमा १५ सय २५ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, असोजमा ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

कोरोना संक्रमण सुरु भएपछि गत २९ फागुनदेखि सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरेको थियो । तर, रोजगारीबाट बिदामा आएका श्रमिकहरूलाई सम्बन्धित मुलुकले प्रवेश खुला गरेपछि १८ असारबाट पुनः श्रम स्वीकृति र १४ भदौबाट नयाँ श्रम स्वीकृतिसमेत खोल्ने निर्णय गरेको होे । 

कोरोना संक्रमणको समयमा साउदी अरबमा रोजगारीका लागि सबैभन्दा धेरै श्रमिकले श्रम स्वीकृति लिएका छन् । गत असोजमा साउदी अरब जानका लागि २ हजार ८ सय ३१ जनाले श्रम स्वीकृति लिए । जसमध्ये ४ जना महिला छन् । युएईका लागि २ हजार ६ सय ५१ श्रमिकले श्रम स्वीकृति लिएका छन् । जसमा महिला श्रमिकको संख्या २ सय २५ रहेको छ । कतारका लागि १२ महिलासहित १ हजार ३ सय ५१ जना, युरोपियन मुलुक क्रोएसियाका लागि ३४ महिलासहित १ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै, अफगानिस्तानका लागि ७३ जना, बहराइनका लागि ७ महिलासहित १ सय १३ जना, इजिप्टका लागि ३० जना, जापानका लागि २ महिलासहित ६३ जना, कुवेतका लागि ११ महिलासहित १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसियाका लागि पनि २ महिलासहित १ सय ३ जनाले श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।

माल्दिभ्सका लागि २३ जना महिलासहित १ सय ६ जना, ओमानका लागि पनि ५ जना महिलासहित १ सय ६ जना, पोल्यान्डका लागि ३८ जना, पोर्चुगलका लागि ३६ जना, टर्कीका लागि ७१ जना महिलासहित १ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत भदौ महिनामा भने ५८ मुलुकका ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३ हजार ४ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए । 

कतारका लागि १ हजार ३ सय ५३ जनाले श्रम स्वीकृति लिएका थिए । मलेसियाका लागि ६ सय ३९ जना, जापानका लागि ३ सय ८३ जना, साउदी अरेबियाका लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए । कुवेतका लागि २ सय १७ जना, ओमानका लागि १ सय ३५ जना, बहराइनका लागि १ सय ४९ जना, माल्दिभ्सका लागि ७१, पोल्यान्डका लागि ७० जनाले श्रम स्वीकृति लिएका थिए । अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगललगायत अन्य देशहरूमा रोजगारीमा जानका लागि पनि श्रमिकहरूले श्रम स्वीकृति लिएका छन् । 

कार्यालयका अनुसार व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएर ३२ देश, वैधानीकरण गरेर ३० देश र पुनः श्रम स्वीकृति लिएर विश्वका विभिन्न ३० देशका लागि श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत, वैधानीकरण गरेर, पुनः श्रम स्वीकृति लिएर विदेश जाने क्रम बढे पनि अझै पनि संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जान सहज अवस्था रहेको छैन । 

पूर्वस्वीकृति अझै खुलेन
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अन्तिम श्रम स्वीकृति खुला गरे पनि पूर्वस्वीकृति खुलाएको छैन । विदेशस्थित नेपाली दूतावासहरूले अझै पनि मागपत्र प्रमाणीकरण सेवा सुरु नगरेका कारण विभागले अन्तिम श्रम स्वीकृति नखुलाएको हो । लकडाउनअगाडि आएको डिमान्डलाई मात्रै विभागले अहिले अन्तिम स्वीकृति दिएको हो । 

नेपालबाट वैदेशिक रोजगारीका लागि अधिकांश श्रमिक मलेसिया र खाडी मुलुक जाने गर्छन् । कोरोना संक्रमणका कारण ती मुलुकहरू पनि संकटमा छन् । संक्रमण नियन्त्रणमा भएका केही मुलुकले मात्रै श्रमिकलाई प्रवेश गराएका छन् ।

साउदी अरब, दुबई, ओमान, बहराइनले मात्रै आप्रवासी श्रमिकलाई खुला गरेको छ । तर, मलेसिया, कतार, युएईलगायतका मुलुकले भने अझै पनि नयाँ श्रमिकका लागि पनि प्रवेश खुला नगरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । तर, सो मुलुकमा बिदामा आएर फर्कने श्रमिकले भने प्रवेश पाएका छन् । महासचिव श्रेष्ठका अनुसार यतिवेला दुबई, साउदी अरब, रोमानिया, पोल्यान्ड, पोर्चुगल, क्रोएसियालगायतका मुलुकबाट नयाँ डिमान्डसमेत आउन थालेको छ । 

साउदी अरबबाट ४० हजार मागपत्र आए पनि प्रमाणीकरण नभएको संघका महासचिव श्रेष्ठले बताए । युएईबाट सर्भिस सेक्टरको मागपत्र न्यून छ । निर्माण क्षेत्र, अर्धसरकारी र फ्री जोनका डिमान्ड आएका छन् । तर, प्रमाणीकरण भएको छैन । दसैँ बिदालगत्तै मागपत्र प्रमाणीकरण नभए नेपाल आउने डिमान्ड अन्य देशमा जाने अवस्था आउने उनको भनाइ छ । नेपालमा धेरै कागजपत्रको माग गरेर अनावश्यक दुःख दिइने गरेका कारण रोजगारदाताको रोजाइमा नेपाल छैन । त्यसैले यसमा सरकार सचेत हुनुपर्ने उनले बताए ।

सवा लाख नेपाली फर्किए विदेशबाट
कोरोना संक्रमण सुरु भएपछि करिब सवा लाख नेपाली विदेशबाट नेपाल फर्किएका छन् । कोभिड संक्रमण व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार ५ कात्तिकसम्म विभिन्न मुलुकबाट १ लाख १७ हजार ८ सय ४८ नेपाली स्वदेश फर्किएका छन् । केन्द्रको तथ्यांकअनुसार गत असोज महिनामा सबैभन्दा धेरै ४५ हजार २ सय ३० जना नेपाल फर्किएका थिए । भदौमा १४ हजार ८ सय ७८, साउनमा २३ हजार ३ सय १६ र असारमा २८ हजार १ सय २५ जना नेपाल फर्किएका थिए । 

मलेसिया र खाडीलगायतका मुलुकमा रहेका नेपाली श्रमिक संकटमा परेपछि सरकारले जेठ ३२ गतेदेखि चार्टर्ड उडानको सुरुवात गरेको हो । चार्टर्ड उडानमार्फत १६ भदौसम्म ५५ हजार ४ सय १० श्रमिक नेपाल फर्किएको कोरोना संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ । चार्टर्ड उडानले मात्रै श्रमिकहरू नेपाल फर्काउन ढिलाइ भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले भदौ १७ गतेदेखि मलेसिया, युएई, जापान, चीन, हङकङ, टर्की, कोरियाबाट नियमित उडानसमेत सुरु गरेको थियो ।