मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश योङहाङ
२०७७ कार्तिक ६ बिहीबार ०६:१९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालमा लोकतन्त्रको चौथो लहर

Read Time : > 2 मिनेट
रमेश योङहाङ
२०७७ कार्तिक ६ बिहीबार ०६:१९:००

विज्ञानको परिभाषामा परिवर्तन र त्यसको वेगलाई रोकेर राख्न खोज्ने वस्तुको अन्तर्निहित विशेषतालाई इनर्सिया भनिन्छ । समाजको चरित्र पनि अरू वस्तुहरूको झैँ परिवर्तनशील हुन्छ र त्यो परिवर्तन रोक्न खोज्ने शक्तिलाई राजनीतिक विज्ञानमा सोसियल इनर्सिया वा सामाजिक जड भनिन्छ । त्यो समाज परिवर्तनको वेगलाई ब्रेक हान्न वेला–वेला झुल्कने गर्छ ।

वर्तमान विश्वमा सामाजिक जडका रूपमा दक्षिणपन्थी शक्तिहरूको उदय भएको छ । उदाहरणका लागि नेपालका केपी ओली, भारतका मोदी, अमेरिकाका ट्रम्प वा बेलायतका जोनसन आदिलाई लिन सकिन्छ । अधिकांश युरोप, अमेरिकी महाद्वीपका साथै दक्षिण एसियालाई पनि दक्षिणपन्थी लहरले छोएको प्रस्टै देखिन्छ ।


इतिहासमा पनि अन्धराष्ट्रवादको नारा बोकेर हिटलर, मुसोलिनी, नेपोलियनजस्ता फासिस्ट दक्षिणपन्थी शासकको जन्म भएको थियो । परिवर्तनको स्वाभाविक गति रोक्नका लागि यिनै पात्रले युरोपलाई ठूला–ठूला युद्धमा होमिदिएका थिए । यस्ता शक्ति वेला–वेला उदाउने र लोकतान्त्रिक लहर आएपछि तुरुन्तै समाप्त हुने गरेको इतिहासले देखाउँछ ।

सन् १८२८ देखि १९२६ को अवधिमा पहिलो र सबैभन्दा लामो लोकतान्त्रिक लहर आएको मानिन्छ । यो लहर पश्चिम युरोपबाट सुरु भएर अमेरिका हुँदै अस्ट्रेलियासम्म पुगेको थियो । तर, कतिपय देशमा दक्षिणपन्थी शक्तिको पुनरोदय पनि भएको थियो । 

यसलाई अमेरिकी राजनीतिशास्त्री स्यामुयल पी. हन्टिङटनले ‘रिभर्स वेभ’ भनेका छन् । लोकतन्त्रको दोस्रो लहर सन् १९४५ देखि १९६२ मा चलेको मानिएको छ । यो लहरले अफ्रिका र एसियाका अधिकांश मुलुकमा पश्चिमा मोडेलको लोकतन्त्र स्थापित गर्‍यो । हिटलर र मुसोलिनीको पतनसँगै यो लहरले इटाली, पश्चिम जर्मनीलगायतलाई पनि छोएको थियो । यही अवधिमा युरोपेली साम्राज्यको अन्त्य र उपनिवेशवादबाट अफ्रिका र एसियाका धेरै मुलुक स्वतन्त्र भएका थिए ।

नेपालमा राणाशासनको समाप्ति पनि यही वेला भयो । यो लहर जापान, इजरायललगायतमा पनि फैलियो । फेरि सन् १९५४ देखि १९७५ सम्म धेरै देशमा रिभर्स वेभ पनि चलेको थियो । यसैवेला नेपालमा राजा महेन्द्रले लोकतन्त्र मासेर सत्ता हातमा लिए । नेपालमा जस्तै धेरै देशमा यो अवधिमा तानाशाही स्थापना भएका थिए ।

लोकतान्त्रीकरणको तेस्रो लहर सन् १९७४ देखि १९९० सम्म भएको मानिन्छ । यो लहरले पूर्वी युरोपका धेरै देशबाट साम्यवादी शासनको अन्त्य र दक्षिण युरोपका देशबाट दक्षिणपन्थीको अन्त्य गरेको थियो । नेपालजस्तै दक्षिण अमेरिकी देशमा पनि यही वेला बहुदलीय लोकतन्त्र बहाली भएको थियो । रेन्सके र डोरेन्टजस्ता केही विद्वान्हरू सन् १९९० पछि लगातार लोकतन्त्रको चौथो लहर चलिरहेको मान्छन् ।

सन् २०११ मा ट्युनिसियाबाट सुरु भएको अरब स्प्रिङले मध्यएसियाका धेरै मुलुकलाई छोएको पनि हो । हालसालै अमेरिकामा सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनले अमेरिका, बेलायत हुँदै न्युजिल्यान्डसम्म पुगेर कोलम्बस, चर्चिल, ह्यामिल्टनजस्ता आधुनिक राज्य निर्माण गर्ने नायकको मूर्ति ढालिदिएको छ । अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचनले पनि दक्षिणपन्थी सामाजिक जड भत्काउने सम्भावनानजिक ल्याएको देखिन्छ ।

सिएनएन, सिबिएसलगायतले गरेको मत सर्वेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम्प आसन्न निर्वाचनमा पराजित हुने प्रक्षेपण गरेका छन् । कोरोना विश्वव्याधिसँग सामना गर्ने मामलामा पूर्णतः असफल रहेको र आफैँ संक्रमित हुँदासमेत गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको सन्दर्भमा ट्रम्पको व्यापक आलोचना भएको छ ।

अमेरिकामा ट्रम्पको हारको अर्थ निकै ठूलो हुनेछ । संसारबाटै सामाजिक जडताको अन्त्य र लोकतन्त्रको चौथो लहरको विस्तारका निम्ति यो कोसेढुंगा हुन सक्छ । परिवर्तनकारी शक्तिलाई संगठित र सक्रिय हुन ट्रम्पको हारले बाटो खोलिदिनेछ ।
 

यसबीच, अमेरिकी अर्थतन्त्रमा ३१.४५ प्रतिशतसम्म गिरावट आएको छ भने अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकी भूमिका खुम्चिएको छ । त्यसैगरी, गोरा नश्लवादी र नवनाजी संगठनहरूलाई उक्साएको हुनाले लोकतन्त्रप्रेमी अमेरिकी, आप्रवासी तथा अफ्रिकी–अमेरिकी समुदायले उनलाई अस्वीकार गर्ने स्थिति छ । 

अमेरिकामा ट्रम्पको हारको अर्थ निकै ठूलो हुनेछ । संसारबाटै सामाजिक जडताको अन्त्य र लोकतन्त्रको चौथो लहरको विस्तारका निम्ति यो कोसेढुंगा हुन सक्छ । परिवर्तनकारी शक्तिहरूलाई संगठित र सक्रिय हुन ट्रम्पको हारले बाटो खोलिदिनेछ । त्यसको प्रभाव युरोप हुँदै एसियासम्म आइपुग्न धेरै बेर लाग्दैन । ब्रेक्जिटको चक्रव्यूहमा फसेका जोनसनले बेलायतको सत्ताबाट हात धुनुपर्ने अवस्था पनि नजिकै देखिन्छ ।

अनुदारवादी र राष्ट्रवादी दक्षिणपन्थीको हारको विश्वव्यापी लहर सुरु भयो भने त्यो भारत हुँदै नेपालमा पनि तुरुन्तै आइपुग्नेछ । भारतमा नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादले पहिल्यै त्यहाँको राजनीति, जीवन र अर्थतन्त्रलाई धराशायी पारिसकेको छ । नेपालको सन्दर्भमा दक्षिणपन्थी सामाजिक जडतालाई प्रधानमन्त्री ओलीले धानेर राख्न सक्ने अवस्था देखिँदैन ।

उनी जनताको बीचमा प्रशस्त अलोकप्रिय र बदनाम भइसकेका छन् । आफ्नै स्वार्थसमूहलाई पनि बाँधेर राख्न नसक्ने गरी कमजोर भइसकेका ओलीको सामाजिक जडतालाई भत्काउन पार्टीभित्रैबाट प्रचण्डले एउटा ध्रुव खडा गरिसकेको देखिन्छ । सबै शक्ति आफ्नै हातमा केन्द्रित गर्न चाहने ओलीको डिजाइनका कारण पूर्वएमाले गुट पनि खण्डित भएर प्रचण्डतिरै ध्रुवीकृत भइरहेकाले परिवर्तनको धारलाई ओलीको जडले धेरै समय धान्न सक्दैन ।

हाल रोकिएको परिवर्तनको प्रवाहलाई अघि बढाउन प्रगतिशील मुद्दालाई जनताको आधार संरचनामा पुर्‍याएर धक्का दिन जसपाले सक्छ कि सक्दैन भन्ने प्रश्न त्यतिवेला महत्वपूर्ण हुनेछ । त्यसका निम्ति जबर्जस्त संघर्षको रणनीति विकास गर्न सक्नुपर्छ । जसपाकै प्रभावशाली नेता डा. बाबुराम भट्टराई आलोचनात्मक आधुनिकताको अवधारणालाई अघि बढाएका छन् । नेपालको अधुरो लोकतान्त्रीकरणको प्रक्रियालाई अघि बढाउन कुन वैचारिक लाइन सफल हुन्छ भन्नेमा अबको बहस अघि बढ्ने देखिन्छ ।