मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ कार्तिक ५ बुधबार १४:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना फैलन नदिन निषेधाज्ञा गरेपछि प्रदेश १ को राजधानी विराटनगरमा छैन दसैँको चहलपहल

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ कार्तिक ५ बुधबार १४:३३:००

हरेक वर्षको दसैँमा झिलिमिली बिजुली बत्ती, रंगीचंगी स्वागत गेटले झकिझकाउले सजिने प्रदेश १ को राजधानी विराटनगरको जलजला मोडस्थित काली मन्दिरमा यसपालि कुनै रौनक आउन सकेन । 

अघिल्ला वर्षहरूमा घटस्थापनाको ३ बजे रातिदेखि नै दर्शन गर्न लामो लाइनमा बस्ने सयौँ भक्तजन पनि यसपालि छैनन् । 

कोरोना भाइरसको संक्रमण फैलन डरले मोरङमा निषेधाज्ञा जारी गरेपछि दर्शनका लागि मन्दिरमा भक्तालु आउन सकेका छैनन् । 

भक्तालु नआएपछि यो साल सुरक्षा प्रदान गर्न हम्मेहम्मे पर्ने प्रहरी र स्वयंसेवक दलहरूलाई पनि कुनै धपेडी छैन । बेलुन, मुरली, खेलौना र मिठाइका सामग्री बिक्री गर्न लाग्ने भिडमभिड मेला पनि लागेको छैन । 

यसपालिको दसैँमा न त मन्दिरमा निरन्तर घन्टी नै बजेको छ  न त माइकमा भजनहरू नै बजाइएका छन् । 

प्रशासनको निर्देशनअनुसार मन्दिरको मूल ढोका खुलेकै छैन । पुजारीहरूले आन्तरिक रूपमा विधि पुऱ्याउन मात्र पूजाआजा गरिरहेका छन् ।

यस वर्षको दसैँमा कालीमन्दिरकै जस्तो अवस्था विराटनगरका अन्य मन्दिर र शक्तिपीठहरूमा पनि छ । 

यसपालि विराटनगरको कलेज रोड, ट्राफिक चौक, शिव मन्दिर, अतिथि सदन, हाटखोला, रानी मिल्स एरिया, तिनपैनी, पुष्पलाल  चौक, सिद्धार्थ चौक कतै पनि देवी र दानवको मूर्ति बनाएर विजयादशमी झल्काउने भव्य मूर्ति पूजा समारोह आयोजना भएका छैनन् । 

अगरबत्ती र धुपध्वाँरको सुगन्ध नफैलिएकोले यसपालि शक्तिपीठ र पूजा समारोह आयोजना हुने स्थलहरू पनि उराठलाग्दा देखिएका छन् ।  

हरेक वर्ष ब्रह्मणहरूले साँझ–बिहान दसैँमा वाचन गर्ने मन्त्र पनि कतै सुनिँदैन । न त मन्दिरमा साँझ–बिहान भजन टोलीहरूले भजन नै गाएका छन् । 

अघिल्लो वर्ष सयौँ बोकाको बलि दिने काली मन्दिरमा मन्दिर बन्द भएकाले यसपालि कसैले पनि बलि दिन पाउने छैनन् । 

ट्राफिक चौक, अतिथि सदन, तिनपैनीको दुर्गाचौकलगायतमा लाखौँ खर्च गरेर बनाइँदै आएको दसैँको प्रतीक देवी र दानवका अग्ला र आकर्षक मूर्ति पूजा समारोह पनि आयोजना भएका छैनन् । 

जसले गर्दा घटस्थापनादेखि नै रमाइलो चहलपहल हुने विराटनगरमा यसपालि दसैँको कुनै रौनक देखिएको छैन । 

कोरोना संक्रमणले गर्दा मोरङमा प्रशासनले दसैँमा हुने भिडभाड रोक्न ३ देखि १५ कात्तिकसम्म निषेधाज्ञा जारी गरेको छ । 
ट्राफिक चोकमा रहेको दुर्गा पूजा समारोह समितिका अध्यक्ष अशोक बगडिया कोरोनाले गर्दा भारतको काेलकाताबाट मूर्ति बनाउने कलाकार पनि आउन नपाएको र प्रशासनले पनि अनुमति नदिएकोले पूजा समारोह आयोजना नगरेको बताउँछन् । 

जारी निषेधाज्ञाअनुसार १५ कात्तिकसम्म साँझ ८ देखि बिहान ५ बजेसम्म लामो दूरीबाहेकका सवारी आवतजावत गर्न पाउने छैनन् ।

रंगेलीमा फूलपाती बढाइँ नहुने  
हरेक वर्ष हर्षबढाइँसहित फूलपाती भित्र्याइने मोरङको रंगेलीस्थित संसारिमाईस्थान मन्दिरमा पनि कुनै उत्सव हुने छैन । प्रदेश १ सरकारले गत वर्षदेखि प्रदेशकै दसैँ हर्षबढाइँसहित आयोजना गर्न थालेको फूलपाती उत्सव यसपालि आयोजना नहुने रंगेली नगरपालिका प्रमुख दिलीप बगडियाले बताए । 

रंगेलीमा सेना, नेपाल प्रहरी र नागरिक समाज र सर्वसाधारणको भव्य सांस्कृतिक ऱ्यालीले बाजागाजा र नाचागानसहित सलामी दिएर फूलपाती भित्र्याउने परम्परा छ । 

नगर प्रमुख बगडियाका अनुसार यो साल मन्दिरका पुजारी र पदाधिकारीहरूले मात्र विधि पुऱ्याउन फूलपाती भित्र्याउने छन् ।