संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँका पहिरो विस्थापितलाई वासको चिन्ता अहिले पनि उत्तिकै छ ।
तीन महिनाअघि गएको पहिरोबाट विस्थापित भएका पीडित परिवारहरू सहयोगका आसमा अझै टेन्टमा बस्न बाध्य भएका छन् ।
पहिरोले घरवास बगाएको तीन महिनासम्म पनि सरकारले पहिरो विस्थापितका लागि स्थायी पुनर्वासको व्यवस्थापन गर्न सकेको छैन ।
पहिरोबाट विस्थापित भएका व्यक्ति कहिले आफ्नै घरमा बस्न पाइने हो भन्ने चिन्ता लागेको उनीहरूले बताउने गरेका छन् ।
प्लाष्टिकको टेन्टमा बस्दा कहिले घामले पोलेर गर्मी हुने त कहिले पानीको बाछिटा आउने र भुइँबाट चिसो आउने गरेको टेन्टमा बसिरहेका पहिरो विस्थापित स्थानीय हिरालाल राईले गुनासो सुनाए ।
‘खानका लागि चामल, दाल र तेल पाएका छौँ, तर बस्ने वास आफ्नै घरजस्तो छैन । कति दिन यो टेन्टमा बस्नुपर्ने हो थाहा छैन,’ हिरालालले भने, ‘यहाँ बुधबारेका अस्थायी वासस्थानमा मात्रै २९ घरका करिब एक सय २० जनाभन्दा धेरै मानिस बसोवास गरिरहेका छौँ । धेरैजना भएकाले बिहान शौचालय जान झन् समस्या छ । पुरुषहरू नजिकै खोलाखोल्सीतिर जाने गरेका छौँ, तर महिला दिदीबैनीलाई पालो कुर्नु नै समस्या हुन्छ ।’
हिरालालजस्तै अर्की पहिरो विस्थापित प्रमिला राईले पनि धेरैजना एकैठाउँमा बस्नुपर्दा खानपान र शौचालयलगायतका धेरै समस्या भोग्नु परिरहेको बताइन् ।
‘एकैठाउँमा २९ घरपरिवार बसेका छौँ । भात पकाउने ठाउँ तीनवटा मात्रै चुलाे छ । तीन–चार घर मिलेर एकैठाउँ भात पकाएर खान्छौँ । पालैपाले पकाउनुपर्छ । पानी परेको वेला र बेलुकीचाहिँ निकै समस्या हुन्छ,’ प्रमिलाले भनिन् ।
अस्थायी वासमा बसिरहेका अर्का धीरज राईले स्थानीय सरकारले चाँडै आफूहरूलाई सुरक्षित स्थानमा स्थायी पुनर्वास गरिदिओस् भन्ने अपेक्षा रहेको बताए ।
‘यो ठाउँको कुनै पनि भूगोल बलियो छैन । जुनसुकै समयमा पहिरो जान सक्छ । त्यसैले हामी जानीजानी पहिरोमा फेरि हाम्रो आफन्तहरू गुमाउनुभन्दा पहिले नै सुरक्षित स्थानमा सारिदिए राम्रो हुन्छ,’ राईले भने ।
यति लामो समयसम्म अस्थायी टन्टमा बस्नुपर्दा विभिन्न समस्या हुने गरेको विस्थापितहरूले गुनासो गरेका छन् ।
पहिरो विस्थापितहरूलाई कसरी चाँडै स्थायी पुनर्वासमा सार्ने भनेर गम्भीर भएर लागिपरेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङको दाबी छ ।
उनले स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा पहिरो विस्थापित एक सय ६ घरपरिवारलाई तीन ठाउँमा अस्थायी वासस्थान तयार गरेर राखिएको बताउँदै सरकारी बजेटबाट जग्गा खरिद गर्न नपाउने भएकाले समस्या भएकाले दाताहरूबाट संकलन रकमले जग्गा खरिद गर्ने योजना रहेको बताए ।
अध्यक्ष कुलुङले भने, ‘हालसम्म विभिन्न दाताहरूबाट ४५ लाख रुपैयाँ संकलन भइसकेको छ । छिट्टै जग्गा व्यवस्थापन गरेर विस्थापित परिवारलाई सार्ने काम हुन्छ ।’
गएको असार २७ गते राति पहिरो जाँदा सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँका नौ घर बगाउनुका साथै ११ जना बेपत्ता बनाएको थियो । त्यसपछि उद्धार गर्ने क्रममा स्थानीय २५ वर्षीय मदन राईको हृदयाघातको कारण मृत्यु भएको थियो ।
पहिरोले जमिन सबै चिराचिरा भएर बस्न खतरा भएपछि बेसिन्दा गाउँका ८६ घरपरिवार र चप्चेवाका २० घरपरिवार गरी एक सय ६ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् ।
विस्थापितलाई गाउँपालिकाले तत्कालका लागि सिलिचोङ गाउँपालिका– १ को चित्रेमा ५७ घर, पौखमटारमा २० घर र बुधबारेमा २९ घरपरिवारलाई अस्थायी टेन्टमा राखेको छ ।
यसअघि पनि २०६७ सालमा सिलिचोङ गाउँपालिकाको नै सिकदिममा पहिरो जाँदा १३ जना बेपत्ता बनेका थिए ।