मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ कार्तिक ५ बुधबार ११:१३:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एकैदिन पुनर्वासका तीन स्थानमा बिओपी उद्घाटन 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ कार्तिक ५ बुधबार ११:१३:००

भारतसँग सीमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका तीन स्थानमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरीले एकैदिन पुनर्वास नगरका तीन स्थानमा सीमा सुरक्षा बल बिओपो उद्घाटन गरेको छ । 

सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले पुनर्वास नगरपालिका– ४ आपताल, ११ डोकेबजार र ६ खड्डाकंगडमा स्थापना भएका बिओपीको उद्घाटन गरेका छन् । 

तीनै बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले बिओपीमार्फत सीमा सुरक्षा, सीमा चोरी, तस्करी एवं अपराध नियन्त्रण गरिने प्रतिबद्धता जाहेर गरे । ‘बजारमा बसेर सीमा सुरक्षा र अपराध रोकिँदैन,’ उनले भने, ‘मातृभूमिको रक्षा र सीमा अपराध रोक्नका लागि सीमामै उपस्थित हुनुपर्छ ।’ 

आपताल (जहाँदेखि दक्षिण) सीमा सुरक्षार्थ नेपाली नागरिक गोविन्द गौतम मारिएका थिए । त्यसयता सो क्षेत्रमा अस्थायी सशस्त्र प्रहरी बलको पोस्ट थियो । अहिले सो क्षेत्रमा स्थायी बिओपी स्थापना गरिएको छ । 

उक्त बिओपीको उद्घाटन सहिद गोविन्द गौतमका आमाबाबु खेमलाल गौतम र आमा हरिदेवी गौतमसहित प्रहरी नायब महानिरीक्षक बुढाथोकीले गरेका थिए । सहिदका आमाबाबु खेमलाल र हरिदेवीले छोराको सीमा सुरक्षा गर्ने धोकाे सशस्त्र प्रहरीले गर्नुपर्नेमा बताए । 

पुनर्वासका थपिएका तीन बिओपीसँगै हालसम्म ६ बिओपी भएका छन् । यसअघि बिचफाँटा र दोदापुलमा बिओपी स्थापना गरिएका थिए । सीमा अतिक्रमण विवादसँगै चोरी तस्करी, सीमा अपराध मानव बेचबिखन एवं अवैध गतिविधि हुने पुनर्वास सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उपस्थिति बढाएसँगै सीमा सुरक्षा र अपराध न्यूनीकरण हुने अपेक्षा गरिएको छ । 

पुनर्वास नगरपालिका– ४ का वडाध्यक्ष प्रेम बस्नेतले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थितिसँगै सक्रियता हुनुपर्नेमा जोड दिए । ‘पहिले पुनर्वासमा सशस्त्र प्रहरीका एक पनि बिओपी थिएनन्,’ अध्यक्ष बस्नेतले भने, ‘अहिले ६ बिओपी भएका छन्, केही थप्नुपर्छ ।’ 

सीमामा सुरक्षाकर्मी नहुँदा गोविन्दले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले बिओपी गैरकानुनी गतिविधिमा सक्रिय हुनुपर्ने सुझाब दिए । पुनर्वास नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण तामाङले सीमा क्षेत्रमा बिओपी स्थापनासँगै नागरिक सुरक्षित र मातृभूमिको सुरक्षा हुने अपेक्षा राखे । 

उनले बिओपीमार्फत तस्कर तह लाग्ने बताए । ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बढेसँगै तस्कर तनावमा हुनेछन्,’ उनले भने, ‘समाजसेवी खुसी हुनेछन् । सीमा क्षेत्रमा उपस्थिति वृद्धिसँगै तस्कर तह लगाउनुपर्ने स्थानीयको सुझाब छ ।’

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरेन्द्र ऐरले सरकारको सीमा सुरक्षाका लागि योजनाअनुरूप कञ्चनपुरमा समेत बिओपी विस्तार भएको बताए । उनका अनुसार अन्य सीमा क्षेत्रमा थप बिओपी विस्तार हुनेछन् । यसअघि कञ्चनपुरमा ११ बिओपी स्थापना भइसकेका छन् ।