मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ५ बुधबार १०:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना कहर : सुनसान बाग्लुङकाे कालिका मन्दिर

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ५ बुधबार १०:००:००

विगतमा दसैँको नवदुर्गा सुरु भएसँगै नेपालकै ऐतिहासिक प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको बाग्लुङकाे कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्थ्यो । देशका विभिन्न स्थानबाट मन्दिर दर्शनका लागि हजारौँको संख्यामा दर्शनार्थी आउने गर्दथे । तर, यस वर्ष कोरोना कहरका कारण यतिवेला बाग्लुङ कालिका मन्दिर परिसर सुनसान छ । 

गृह मन्त्रालले दसैँंको वेला  देशभरका मठमन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्नबाहेक भक्तजनका लागि खुला नगर्न आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङले पनि सोही निर्देशनबमोजिम जिल्लाका सबै शक्तिपीठमा भक्तजनका लागि निषेधाज्ञा जारी गरेको छ । निशेषाज्ञा जारी गएपछि घटस्थापनाको दिनदेखि नै बाग्लुङ कालिका मन्दिर सुनसान भएको हो । 

जिल्लामा कोरोना संक्रमणको जोखिम झनै बढेको भन्दै प्रशासनले गत शनिबारदेखि अष्टमीको रातिसम्मका लागि मठमन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा लगाएको छ । कालिका भगवती मन्दिरमा पनि निषेधाज्ञा भएका कारण सर्वसाधारण गेटबाहिरबाटै दर्शन गरेर फर्कन बाध्य भएका छन् । 

लकडाउनकै क्रममा पनि मन्दिरको नियमित पूजापाठ भने भएको थियो । लकडाउन खुकुलो भएपछि मन्दिर व्यवस्थापन समितिले नवदुर्गाका लागि भनी मन्दिर परिसर सरसफाइ गर्नुका साथै भौतिक दूरी कायम गरी पूजाका लागि व्यवस्थापको पनि तयारी गरेको थियो ।

‘पहिले सरकारले कात्तिक १ गतेदेखि बन्द रहेका मठमन्दिर खुल्ने भनेपछि हामी सबै तयारी गर्‍यौँ,’ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने, ‘तर पछि गृह मन्त्रालयको पुनः अर्को निर्देशन आयो । अहिले मन्दिरमा निषेधाज्ञा छ, मन्दिर सुनसान  छ । बजार, यातायात क्षेत्र र हवाई उडान पनि खुलेको वेला मन्दिरमा पनि स्वास्थ्यका मापदण्ड अपनाएर सर्वसाधारणलाई खुल्ला गरेको भए राम्रो हुने थियो ।’ 

बडादसैँ र चैतेदसैँमा बाग्लुङ कालिका मन्दिरमा हजारौँ भक्तजन आउने गर्छन् । यो समयमा ६ लाखभन्दा बढी दर्शनाथीले दर्शन गर्ने गरेको अध्यक्ष खड्काले बताए ।