मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जायश्वर जैसी
२०७७ कार्तिक ५ बुधबार ०७:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दुईतिहाइको सरकार र समाजवादको हल्ला

Read Time : > 2 मिनेट
जायश्वर जैसी
२०७७ कार्तिक ५ बुधबार ०७:००:००

हिजोआज नेपालमा समाजवाद र समृद्धिको मिठो गफ बडो मजाले चलाइएको छ । दुईतिहाइको सरकारले समाजवाद ल्याउँछ भनिएको छ । समाजवादमा के हुन्छ भन्ने स्पष्ट मार्गचित्र नै प्रस्तुत नगरी समाजवादको डंका पिटिएको छ । संविधानमै समाजवादउन्मुख राष्ट्र भन्ने लेख्न कुनै कन्जुस्याइँ गरिएको छैन । लेखेर र भनेर समाजवादउन्मुख हुने वा त्यसका लागि समाजवादी कार्यक्रम बनाई लागू गर्नुपर्ने हो ? गम्भीर बहसको खाँचो छ ।

समाजवाद ल्याउनका लागि शासकको मानसिकता पनि समाजवादी हुनुपर्छ । समाजवादका लागि राज्यका संयन्त्र इमान र नैतिकतामा बाँधिनुपर्छ । तर, राज्यको संयन्त्र पूरै भ्रष्ट र लुट मच्चाउने व्यक्तिवादी अराजक खालको छ । शासक, समाजवादको त कुरै छाडौँ, पुँजीवादी मानसिकताका पनि छैनन् । शासकको चरित्र दलाल पुँजीवादको मतियारझैँ लाग्छ । 

अहिले समाजवादको व्याख्या प्रजातान्त्रिक र कम्युनिस्ट भन्नेहरूका बीच आ–आफ्नै प्रकारको छ । वास्तविक रूपमा आमजनताका लागि समाजवाद प्रजातन्त्रवादीको भन्दा कम्युनिस्टहरूकै उत्तम हुन्छ भन्नेमा कुनै शंका छैन । तर, नेपालमा डेमोक्रेट र लेफ्ट भन्ने दुवै थरीले समाजवादलाई एकै ठाउँमा गोलमटोल पारी जनताका आँखामा छारो हाल्न खोजेको जस्तो देखिन्छ ।

कम्युनिस्टहरूकै बीचमा समाजवादबारे एउटै बुझाइ छैन भने कम्युनिस्ट र प्रजातन्त्रवादीका बीचको खिचडीबाट कसरी र कस्तो समाजवाद आउँछ ? समाजवादी व्यवस्था जनताका लागि उत्तम व्यवस्था हो भन्नेमा कुनै दुईमत राख्न जरुरी छैन । समाजवादको अनिवार्यताप्रति आममानव समुदाय पूर्णतः विश्वस्त हुनुपर्छ ।

नेपालमा मात्रै होइन, दुनियाँमा एकपटक समाजवाद अनिवार्य प्रवेश गर्नेछ भन्नेमा दलाल पुँजीको मातले उन्मत्तबाहेकका ज्ञानी र सचेत मानिस सहमत नै छन् । नेपालमा आज जुन किसिमले समृद्धि र समाजवादको हल्ला गरिएको छ, त्यसरी समाजवादी व्यवस्थामा प्रवेश गर्न सकिँदैन । शासन सत्ताको चरित्र नै समाजवादी छैन । सरकारको चरित्र नै समाजवादी छैन । राज्यको संरचना नै समाजवादी छैन भने यो हल्लाबाहेक केही हुन सक्दैन ।

आजको राजनीतिक परिदृश्यलाई गहिरो गरी नियाल्दा राम्रा संकेत देखिएका छैनन् । पुँजीको सामूहिकीकरण र राष्ट्रियकरणको कुनै गुञ्जायस छैन । व्यक्तिगत पुँजी र निजीकरणले सारा मान्छेको मस्तिष्क दूषित भइसकेको छ । अस्थिर सरकारका कारण देशको समृद्धि र विकास भएन, त्यसैले स्थिर सरकार चाहिन्छ भनियो । स्थिर हुनका लागि दुईतिहाइ बहुमत चाहिन्छ, त्यो मत जनताले दिनुपर्छ भनियो ।

मत आएमा देशको कायापलट हुन्छ भनियो । समाजवादका लागि बहुमत भनियो । तर, आज समृद्धि र समाजवादको प्रचार फगत प्रचारबाजी भएको छ । समाजवाद कसरी आउँछ ? कुनै खाका कोरिएको छैन । विश्वमा वास्तविक समाजवादी मुलुक भनेर कुनैलाई भन्न सकिने अवस्था छैन । सारमा सबै पुँजीवादमा विलिन हुन पुगेका छन् । नेपालमा पनि खासमा संसद्वादी कम्युनिस्टको सरकार छ । आफूलाई कम्युनिस्ट भन्दै व्यक्तिगत सम्पत्ति थुपार्न लालायित हुनेहरूको सरकार छ । 

समग्रमा भन्दा सबै छ, तर समाजवादी सरकार छैन । जनताको सरकार छैन । बेरोजगारहरूको सरकार छैन । बिदेसिएका लाखौँलाख युवाको सरकार छैन । किसान–मजदुरको सरकार छैन । इमानदार र स्वाभिमानीको सरकार छैन । बस्, नेपालमा दुईतिहाइको सरकार छ । दुईतिहाइको सरकार आएपछि समाजवाद आउने हल्ला गरिएको थियो । जबकि दुईतिहाइ र समाजवाद त भिन्न विषय हुन् ।

बेरोजगारको सरकार छैन । बिदेसिएका लाखौँलाख युवाको सरकार छैन । किसान–मजदुरको सरकार छैन । इमानदार र स्वाभिमानीको सरकार छैन । बस्, नेपालमा दुईतिहाइको सरकार छ ।

अहिले नेपालीलाई चाहिएको दुईतिहाइको सरकारभन्दा पनि जनताको सरकार हो, जसले जनताको पक्षमा काम गरोस् । जनताका पीर, मर्का र समस्या बुझी समाधान गरिदेओस् । जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापारको वस्तु बनाइन्छ, त्यो देशमा समाजवाद हल्ला मात्रै हुन्छ । देश स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचारका अनेकौँ काण्ड व्याप्त छन् । यस्तोमा कसरी आउँछ समाजवाद ? र, कसले ल्याउँछ समृद्धि ?

शासकले उद्योगधन्दाको विकास एवं सामूहिक पुँजीको विकासमा ध्यान दिन सक्दैनन् भने कसरी आउँछ समाजवाद ? देशका राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मले जीवनभर कुनै उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको लेबी र चन्दाको भरमा यश, आरामको जीवन व्यतीत गर्नुलाई कसरी समाजवादी भन्न सकिन्छ ।

देशका शासकले शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सेना–प्रहरी र न्यायालयलाई राजनीतिक भागबन्डाका आधारमा जनशक्ति व्यवस्थापन गर्छन्, अनि सरकारी कार्यालयमा विभिन्न दलनिकटका भातृ संगठनका झन्डा झुन्ड्याएर जनताको सेवा होइन ट्रेड  युनियनको नाममा राजनीति गर्न छुट दिन्छन् भने त्यो शासकले के गरी ल्याउँछ समाजवाद ? शासक संसदीय राजनीतिको विकासलाई संस्थागत गर्न तल्लीन हुन्छ भने कुन बाटोबाट आउने हो समाजवाद ?

राज्यको संयन्त्र जबसम्म समाजवादी हुन सक्दैन, समाजवादको अभ्यास गर्न सहज हुनेछैन । राज्य संयन्त्रको काम गर्ने पद्धतिमा आमूल परिवर्तनविना न समृद्धि आउँछ, न समाजवाद नै । समाजवाद कागज र भाषणमा होइन, जनताको जीवनमा चाहिएको छ । सही पद्धतिको विकासविना परिवर्तन असम्भव छ । समाजवादी व्यवस्थामा जाने नै हो भने शिक्षा र स्वास्थ्यलाई पूर्ण सरकारी र गुणस्तरीय बनाउनुपर्छ । संस्थागत र नीतिगत भ्रष्टाचारको अन्त्य गरिनुपर्छ ।

जनता र युवालाई उत्पादनमा जोड्नुपर्छ । समाजवादी क्रान्तिमार्फत समाजवादी नीति र कार्यक्रम बनाई लागू गर्नुपर्छ । सबैको पहुँच पुग्ने अस्पताल देशका विभिन्न स्थानमा स्थापना गरिनुपर्छ । रेमिट्यान्सलाई उद्योगधन्दा र विकासमा लागाउनुपर्छ । सरकारी निकायमा दलको राजनीतिलाई निस्तेज गरिनुपर्छ ।