मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नमस्तेलाल ‘भूमि’ श्रेष्ठ
२०७७ कार्तिक ४ मंगलबार १७:१०:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

प्रधानमन्त्रीलाई सरसफाइ अभियन्ताको पत्र

Read Time : > 3 मिनेट
नमस्तेलाल ‘भूमि’ श्रेष्ठ
२०७७ कार्तिक ४ मंगलबार १७:१०:००

सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू
नमस्कार
सर्वप्रथम ‘समृद्ध नेपाल, सुखी नेपाली’को मार्गदर्शन लिएर देशको विकास र जनताको खुसीका लागि ठूलो सपना देख्नुभएकोमा म एउटा सामाजिक तथा सरसफाइ अभियन्ताको नाताले हार्दिक धन्यवाद तथा आभार प्रकट गर्छु । मैले जीवनमा ३६ वर्ष सरसफाइ र ४६ वर्ष सामाजिक सेवामा निस्वार्थ भएर दिल, दिमाग र देह समर्पित गरेको छु । देशको उन्नतिमै मेरो अथक प्रयत्न निरन्तर जारी छ । यस अर्थमा पनि यहाँले बोक्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरा लागि गौरवको नारा हो । 

खानेपानी र सरसफाइकै लागि जीवनको ऊर्जाशील समय लगानी गरेको मैले देश खुला दिसामुक्त घोषणा हुँदाको क्षण आफूलाई भयानक युद्ध जितेर विजयोत्सव मनाइरहेको सिपाहीझैँ ठानिरहेको थिएँ । सरकार र दाताहरूको सहयोगमा आमनागरिकसँग हातेसाङ्लो बनाउँदै हामी अभियन्ताले गरेको संघर्षको प्रतिफल थियो, खुला दिसामुक्त घोषणा । र, यहाँकै बाहुली र वचनबाट ०७६ असोजमा देश खुला दिसामुक्त घोषणा हुँदा हामी सबै अति हर्षित एवं गौरवान्वित हुन पायौँ । 

खानेपानी र सरसफाइको लामो अभियानबाट हामीले सिकेको कुरा– सकारात्मक सोचले मात्र पुग्दो रहेनछ, खोजतिर पनि लाग्नुपर्दो रहेछ । अझ अहिलेको सन्दर्भमा खोज नै मुख्य रहेछ । खोज अर्थात् कार्यान्वयनमै बढी जोड लगाउनुपर्ने । र कार्यान्वयनका लागि सरकारकै भूमिका रहन्छ । अझ, देशको कार्यकारी प्रमुख भएकाले प्रधानमन्त्रीको भूमिका प्रमुख रहन्छ ।

विश्वसँगै देशमा निम्तिएका महामारी र महाविनाशले हामीलाई दर्दनाक पाठ सिकाएका छन् । तर, समस्याको समाधान पनि त छ । मैले जोड्न खोजेको खानेपानी र सरसफाइकै कुरा हो । यी दुईलाई एक–अर्काबाट छुट्याएर सकारात्मक परिणाम सोच्न सकिँदैन । त्यसैले माथि उल्लेख गरिएका ‘महा’हरूसँग जुध्न खानेपानी र सरसफाइलाई साथसाथ अगाडि बढाऔँ । विगतमा खानेपानी तथा सरसफाइ मन्त्रालय रहेकोमा अहिले खानेपानी मन्त्रालय मात्रै बनाइएको छ । त्यसैले पुरानै खानेपानी तथा सरसफाइ मन्त्रालय नामकरण गरी देशमा खानेपानी र सरसफाइका योजना सँगसँगै तीव्रताका साथ अगाडि बढाउन र दिगो बनाउन जरुरी छ । यो महत्वपूर्ण चासोमा प्रधानमन्त्रीको सहयोग पुग्ने पूर्णविश्वास लिँदै, आवश्यकताको कारण र पृष्ठभूमि राख्न चाहन्छु– 

–देश र विश्वभरि कोरोनाको बिगबिगी छ । साबुनपानीले हात धुनुपर्ने र सरसफाइलाई मुख्य प्राथमिकता दिनुपर्ने अवस्था छ । साबुनपानीले हात धुनुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने समान पक्ष हुन् । त्यसैले यी दुवै सँगसँगै हुनुपर्ने स्पष्ट नै छ । 

–खानेपानी र सरसफाइ ‘एक रथका दुई पांग्रा’ हुन् । यी दुवैलाई सँगसँगै राखेर योजना कार्यान्वयन गर्दा प्रभावकारी प्रगति हुन्छ । व्यवहारतः खानेपानी र सरसफाइका योजनाको अनुगमन पनि सँगसँगै हुनुपर्छ । यसो गर्न सजिलो पनि हुन्छ । 

–संघीयस्तरमा सरकार आफैँले खानेपानी र सरसफाइको योजना तर्जुमा गरेको छ । दुवैको अध्यादेशसमेत प्रस्तुत भएर अगाडि बढेको अवस्था छ । संघ, प्रदेश र स्थानीय, तीनवटै तहमा सँगसँगै बजेट परिचालन र काम भइरहेको छ । यस्तो अवस्थामा खानेपानीबाट सरसफाइलाई छुटाउनु कसरी सान्दर्भिक होला ? 

–विगतमा खानेपानी तथा सरसफाइ मन्त्रालय छँदा खानेपानी र सरसफाइका योजना उदाहरणीय रूपमा सञ्चालन र सफल भएका थिए । काम गर्न सहज भएको थियो । त्यसैको प्रतिफल देश खुला दिसामुक्त घोषणा गर्न सफल भएका थियौँ । 

–‘सरसफाइ सबैका लागि र सबै सरसफाइका लागि’ भएकाले सरसफाइले स्वास्थ्य, पोषण, शिक्षा, पर्यटन, वातावरण एवं देशको समष्टिगत विकासका लागि मार्गदर्शन गर्छ । यसकारण पनि यसलाई प्रतिनिधित्व गर्न संघमा खानेपानीसँगै जोडेर सरसफाइ मन्त्रालय आवश्यक छ ।

–देशका सबै तहमा खानेपानी तथा सरसफाइ समन्वय समितिहरू (Washcc) स्थापित छन् । खानेपानी र सरसफाइका कार्यक्रमहरू एकसाथ चलिरहेका छन् । त्यसैले कामअनुसार नाम र नामअनुसार कामलाई चरितार्थ गर्न पनि खानेपानी तथा सरसफाइ मन्त्रालयको अत्यावश्यकता महसुस हुन्छ । तर, नामविनाको पहिचान त कसरी हुन सक्छ र ? 

–सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी दातृ निकायहरू र स्थानीय तहमा भएका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू सबैमा खानेपानी र सरसफाइका शाखा, उपशाखा एकैसाथ छन् । यो आजको कुरा पनि होइन, विगत ५० वर्षअघिदेखि चल्दै आएको हो । यस्तो बेजोड समन्वयलाई बिगार्नुहुँदैन । 

–गाँस, वास र कपासपछि जनताले चौथो प्राथमिकता वास (Wash) अर्थात् सरसफाइलाई लिएका छन् । पानीविनाको सरसफाइ कल्पना गर्ने कुरै भएन । एउटा हुने, अर्को नहुने भए न त स्वच्छ पानी प्राप्त हुन्छ, न त सरसफाइ गर्न नै सकिन्छ । त्यसैले, ‘पानी जीवन हो, सरसफाइ जीवनको पद्धति हो र स्वच्छता (साबुपानीले हात धुने) सबैभन्दा अपरिहार्य’ हो भन्ने मन्त्रलाई मनन गर्नु अनिवार्य हुन्छ । 

–हरेक वर्ष २२ मार्चमा वल्र्ड वाटर डे (WWD), १५ अक्टुबरमा ग्लोबल ह्यान्डवासिङ डे (GHD), १९ नोभेम्बरमा वल्र्ड ट्वाइलेट डे ( WTD), ५–११ जुनमा नेसनल सेनिटेसन एक्सन विक मनाइन्छ । यी सबैमा पानी र सरसफाइ दुवैलाई महत्व दिएर कार्यक्रम हुन्छ । 

–सहस्राब्दी लक्ष्यपछिको दिगो विकास लक्ष्य (SDG) २०३० प्राप्त गर्न सरकारले प्रतिबद्धता जनाइसकेको छ । विश्वभर चलेको खानेपानी तथा सरसफाइलाई सँगसँगै लगेर यो लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता जनाएकाले सरकारले यी दुई पक्षलाई एक–आपसमा छुटाउन मिल्दैन । 

–अर्को महत्वपूर्ण पाटो– खानेपानी र सरसफाइका कार्यक्रम सञ्चालनमा विविधता हुँदा पनि समस्या भएको छ । संघमा खानेपानी र सरसफाइका योजना खानेपानी मन्त्रालयअन्तर्गत रहेर सञ्चालन भएका छन् । प्रदेशमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा खुला दिसामुक्त अभियान स्वास्थ्यअन्तर्गत भइरहेको छ । छरिएर काम हुँदा प्रभाकवकारी नहुने जोखिम बढेको छ । त्यसैले एकरूपता आवश्यक छ । 

त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँकै अग्रणी भूमिकामा खानेपानी मात्र नभई फेरि पनि ‘खानेपानी तथा सरसफाइ मन्त्रालय’ स्थापना गरी देशलाई मार्गदर्शन गराउँदा अभियानहरू सहज रूपमा सञ्चालन हुनेछन् र सफलता मिल्नेछ भन्ने विश्वास लिएका छौँ । र व्यक्तिगत रूपमा म सकारात्मक सोच, खोज र रोजमा निरन्तर अगाडि बढिरहने प्रण गर्दछु । 
धन्यवाद ।