मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०७:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोनाविरुद्धको खोप आपूर्तिको  नेतृत्व अर्थ मन्त्रालयले गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०७:५१:००

आवश्यक आइसियू, भेन्टिलेटरलगायत उपकरण खरिदलाई स्रोत कमी हुन नदिने, स्वास्थ्य मन्त्रालयले खरिद अघि बढाउने

नेपालमा कोरोना भाइरसविरुद्धको खोप आपूर्तिको नेतृत्व अर्थ मन्त्रालयले गर्ने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उचारमा समन्वय गर्न सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहितका पदाधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

‘कोभिड–१९ रोकथामका लागि भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवशयक कूटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा अगाडि बढाउनेछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कोभिड–१९ को विरुद्ध विकास हुने खोपलगायत अन्य आपत्कालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्ब प्रक्रिया अगाडि बढाउने निर्णयसमेत भएको छ ।’ 

सबै स्थानीय तहको अस्पताल मंसिरमा शिलान्यास गरिने
सरकारले स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति लिएको छ । सोही नीतिअनुसार चालू आवमा बजेटसमेत विनियोजन गरिएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विकासका लागि अर्थ मन्त्रालयले रकम उपलब्ध गराइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूको डिजाइन तयार गरी स्थानीय तहलाई उपलब्ध गराउने कार्य जारी छ । अब सबै स्थानीय तहमा स्थापना हुने ती ५ देखि १५ शैय्याका अस्पतालको एकैपटक शिलान्यास गरिने भएको छ । दुई मन्त्रालयका पदाधिकारीबीचको सोमबारको बैठले आगामी १५ मंसिरमा एकैसाथ सबै स्थानीय तहका अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको हो ।

स्वास्थ्य उपकरण खरिद अघि बढाइने 
बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद तत्काल अघि बढाउने निर्णय गरेको छ । आवश्यक आइसियू, एचडियू, भेन्टिलेटरलगायत मेसिन उपकरण तत्काल खरिद गर्न स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने र स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने निर्णय भएको हो ।