मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ४ मंगलबार ०५:२५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

अस्पतालमा बेड अभाव, होम आइसोलेसनमा संक्रमितको ज्यान जाँदै

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार ०५:२५:००

सुनसरीको धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेसनमै मृत्यु भयो । परिवारका सदस्यले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड सोध्दासोध्दै उनको ज्यान गएको हो । 

बुधबार राति नै धरान– ९ का ५८ वर्षीय पुरुषको पनि मृत्यु भयो । प्रतिष्ठानमा अक्सिजन बेड खाली नभएपछि अक्सिजन सिलिन्डर किनेर उनलाई घरमै राखिएको थियो । तर, स्वास्थ्य थप खराब भएपछि राति ११ बजे अस्पताल पुर्‍याउनेबित्तिकै उनको ज्यान गएको वडाध्यक्ष रत्न कटवालले बताए । 

त्यसअघि, गत सोमबार धरान– २ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको थियो । अस्पतालमा भेन्टिलेटर अभाव भएपछि परिवारले उनलाई घरमै राखेको थियो । एक साताअघि धरान– ८ का ५२ वर्षीय पुरुषको पनि ज्यान गयो । निमोनियाका कारण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर अभाव हुँदा ज्यान गएको थियो ।

यसरी पछिल्ला दिन उपचार अभावमा ज्यान गुमाउनको संख्या बढ्दै गएको छ । धरानमा मात्र अस्पताल जान नपाई पाँचजनाको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । बिपी प्रतिष्ठानको तथ्यांकअनुसार कोरोना संक्रमणबाट ५८ जना संक्रमितको मृत्यु भइसकेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा मृत्यु हुनेको संख्या एक सय २२ पुगेको छ । 

प्रदेश सरकारले २ जेठमा हजार शय्याको आइसोलेसन वार्ड बनाउने घोषणा गरेको थियो । तर, अहिलेसम्म अत्तोपत्तो छैन । यति मात्र होइन, प्रत्येक स्थानीय तहमा १५ शय्याको आइसोलेसनसहितकोे अस्पताल निर्माण गर्ने घोषणा पनि पूरा हुन सकेको छैन । 

पछिल्ला दिन बिरामीको चाप बढिरहेको छ । धरानको बिपी प्रतिष्ठान प्रशासनले बिरामीको चाप थेग्न नसक्ने भन्दै समन्वय गरेर मात्र बिरामी ल्याउन सूचना नै जारी गरेको छ । अस्पतालले धान्न नसकेको भन्दै अस्पताल प्रशासनले स्थानीय तहहरूलाई लकडाउन गर्नसमेत सुझाब दिएको छ । 

पिसिआर परीक्षणको दायरा घटाइएको भए पनि संक्रमितको दर भने बढेर गएको छ । दसैँका लागि किनमेल गर्नेले स्वास्थ्य प्रोटोकल बेवास्ता गर्दै भिडभाडयुक्त ठाउँमा जाने क्रम बढेकाले स्थिति अझ भयावह हुन सक्ने चिकित्सकहरूले चेतावनी दिइरहेका छन् । तर, नागरिकदेखि प्रदेश सरकार र स्थानीय तहहरूले चासो दिएका छैनन् । 

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले लक्षणसहितका बिरामी बढ्दो क्रममा रहेको र मृत्यु संख्यासमेत बढेकाले आगामी दिन थप सतर्कता आवश्यक रहेको बताए । ‘अबको अवस्थामा धेरै संक्रमितको भेन्टिलेटर नपाएर मृत्यु हुने सम्भावना बढेको छ । प्रतिष्ठानमा भेन्टिलेटरको आवश्यकता छ । तर, स्रोत–साधनको अभाव छ,’ प्रा.डा. साहले नयाँ पत्रिकासँग भने । 

प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानमा १० वटा भेन्टिलेटर राखिएको थियो । तर, ६ वटाले जडानकै समयमा काम नदिएपछि बनाउनका लागि ठेकेदार कम्पनीलाई फिर्ता गरिएको थियो । तर, ती बनेर आएका छैनन् । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि पछिल्लो समय लक्षणसहितका संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेको बताए ।