मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७७ कार्तिक ३ सोमबार १६:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टी परित्यागको घोषणा गर्दै नेता पासवानले भने– दलित समुदायको बलिदानीमा मधेसी दलले गरे रजाइँ

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ कार्तिक ३ सोमबार १६:१०:००

मधेसका जनताको अधिकार र समृद्धिको नारा लगाएका मधेसकेन्द्रित दल, पद र पैसाको पछि लागेको तत्कालीन राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव राजाराम पासवानले आरोप लगाएका छन् । 

नेता पासवानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरे । 

पछिल्लो समय मधेसमा लगातार दलित समुदायमा युवा, युवती, बालिकामाथि भइरहेको बलात्कार र हत्याजस्तो जघन्य अपराधको घटनामा समेत मधेसकेन्द्रित दल चुपचाप रहनुले उनीहरूको नियत स्पष्ट भएको नेता पासवानको ठहर छ । 

‘मधेसी समुदायको मसिहा ठान्ने तर दलित तथा विपन्न समुदायलाई भोट बैँक मात्र सम्झने र जनतामाथि घृणाको व्यवहार गर्ने पार्टिमा रहिरहनु न्याय संगत नरहेको कारण आजको मितिबाट पार्टिको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेको छु,’ नेता पासवानले प्रेस विज्ञप्तिमा उल्लेख छ । 

मधेसी दल मधेसमा विपन्न जनताको भन्दा पनि आफ्ना र आफन्तको उत्थानमा लागेका उनको आरोप छ । 

मधेसका हरेक परिवर्तनकारी आन्दोलनमा बलिदानी गरेका मधेसका विपन्न र दलित परिवार आज पनि आफ्नो दैनिकी कसरी चलाउने भन्ने चिन्तामा रहेका उनको भनाइ छ । 

‘विपन्न र दलितको अवस्था समृद्ध बनाउन लडेर ज्यान गुमाएका परिवार आज पनि न्यायको पक्षमा आवाज उठाइरहेका छन्,’ उनले  भने, ‘तर यहाँ आवाज सुन्ने तहमा पुगेका राजनीतिक दलका नेताहरू जनताका आवाज दबाउन लागिपरेका छन् ।’  

मधेसका जनताको भाग खोसेर आफ्ना आफन्त पोस्ने खेलमा लागेका मधेसी दलले दलित समुदायको समानुपातिक ढंगले पाउनुपर्ने अधिकारसमेत खोसेका उनको आरोप छ ।

‘जनसंख्याको आधारमा प्रदेश सांसदमा ७६ जनाको सहभागी हुनुपर्ने हो,’ उनले भने, ‘तर ३३ जनालाई मात्र स्थान दिएको छ, त्यो पनि पहुँचका आधारमा ।’ 

प्रतिनिधिसभामा समेत ३८ जनाको सहभागिता हुनुपर्नेमा २६ जनालाई मात्र स्थान दिएको उनले बताए ।

सदभावना पार्टी हुँदै राजनीतिमा लागेका पासवान राष्ट्रिय जनता पार्टीको केन्द्रीय सचिव हुँदै हाल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीमा आबद्ध थिए ।