मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दसैंको समयमा पनि नयाँ बसपार्कमा छैन भीड । तस्बिर : दीपेन्द्र ढुंगाना
केदार दाहाल काठमाडाैं
भोजराज भण्डारी
२०७७ कार्तिक ३ सोमबार ०८:३७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

यातायातमा छैन दसैँको रौनक ८० प्रतिशत यात्रु घटे

विगतका वर्षहरूमा दसैँका वेला काठमाडौंबाट २५ देखि २७ लाख यात्रु बाहिरिन्थे, टिकट व्यवस्थापन गर्न सकस हुन्थ्यो, यातायात व्यवसायीहरूको सबैभन्दा धेरै कमाइ यसैवेला हुन्थ्यो, तर यसपटक बसपार्क खाली छ, व्यवसायी फुर्सदमा

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडाैं
भोजराज भण्डारी
२०७७ कार्तिक ३ सोमबार ०८:३७:००

कोरोना भाइरसको जोखिम नहुँदो त दसैँ सुरु भइसकेको अहिलेको अवस्थामा सहरबाट घर फर्कनेको लर्को लागिरहेको हुन्थ्यो । टिकट बुकिङका लागि बसपार्कका काउन्टरहरूमा घन्टौँ लाइन बस्नुपथ्र्यो । व्यवसायीलाई नयाँ बस थप्न र यात्रुको चाप धान्न मुस्किल पथ्र्यो । यात्रुको मागअनुसार टिकट व्यवस्थापन गर्न व्यवसायीहरूलाई हम्मे–हम्मे पथ्र्यो । यातायात व्यवसायीको मुख्य कमाइ हुने सिजन हो, दसैँ । तर, यो वर्षको दसैँमा काठमाडौंबाट घर फर्कने यात्रु कम भएपछि यातायात व्यवसायी मात्रै होइन, मजदुरसमेत चिन्तित छन् । 

बसपार्कमा पनि यात्रुले सहजै टिकट पाइरहेका छन् । काठमाडाैंबाट सबैभन्दा बढी लामो दूरीका सवारीसाधन छुट्ने नयाँ बसपार्कमा यात्रुको चलपहल नै छैन । गत वर्षको तुलनामा यसपटक २० प्रतिशत यात्रु पनि नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन् । उनी भन्छन्, ‘यात्रु नभएका कारण तेल हाल्न पनि समस्या पर्ने अवस्था आएको छ ।’ नयाँ गाडी थप्नुपर्ने अवस्था पनि छैन, अग्रिम टिकट खोल्नुपर्ने अवस्था रहेन । दसैँ आएको अनुभव नै भएको छैन । जोखिम हुने डरले पनि यस वर्ष यात्रु छैनन् ।’

कर्माचार्यका अनुसार करिब २० लाख मानिसहरू लकडाउनका कारण पहिला नै उपत्यकाबाहिर गइसकेका छन् । यसपटक दसैँमा काठमाडौं छोड्न नचाहनेको संख्या पनि ठूलो छ । सोही कारण पनि दसैँको समयमा ५ देखि ७ लाख मात्रै यात्रु उपत्यकाबाट बाहिरिने उनको भनाइ छ ।   

 असोजमा उपत्यकाबाट साढे ६ लाख बाहिरिए, ५ लाख ५४ हजार भित्रिए  
दसैँ नवरात्रि सुरु भइसक्दा पनि उपत्यकाबाट बाहिरिनेको संख्या गत वर्षको तुलनामा कम रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लामो सवारीसाधन सञ्चालनमा आएको १ असोजदेखि १ कात्तिकसम्म ६ लाख ५५ हजार उपत्यकाबाट बाहिरिएका छन् । 

त्यस्तै, घटस्थापनाका दिन २१ हजार ४ सय ७८ जना उपत्यकाबाट बाहिरिएका छन् भने भित्रिनेको संख्या १६ हजार ६ सय ४९ रहेको छ । यो गत वर्षको तुलनामा निकै कम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रामेश्वरप्रसाद यादव बताउँछन् । गत वर्ष नवरात्रि लागेसँगै यात्रुको संख्यामा वृद्धि हुन्थ्यो, तर यसपटक एक महिनामा ६ लाख मात्र बाहिरिएको एसपी यादवले बताए ।

गत वर्षको तुलनामा यो वर्ष आधाभन्दा बढी यात्रु घटेको साझा यातायातका प्रवक्ता महेन्द्रराज पाण्डे बताउँछन् । उनका अनुसार हाल साझा यातायातले लामो रुटमा ३० देखि ४० प्रतिशतको हाराहारीमा यात्रु बोकिरहेको छ । ‘गत वर्ष नवरात्रि प्रारम्भपछि यात्रुको चाप थामिनसक्नुहुथ्यो, यसपटक अन्य सवारीसाधनको जस्तै अवस्था छ,’ पाण्डेले भने । साझाले भने सरकारको निर्णयअनुसार पूरा सिट राखेर पुरानै भाडादर कार्यान्वयनमा ल्याएको उनले बताए । 

 सिटभरि यात्रु राखेर पनि थप भाडा असुल्दै व्यवसायी 
गत २६ असोजमा बसेको मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक सवारीसाधनका सम्पूर्ण सिटमा यात्रु राख्न पाइने निर्णय भयो । सोसँगै पुरानै भाडादरमा यात्रुलाई सेवा दिन सरकारले निर्देशन दिएको छ । यसअघि कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सरकारले आधा सिट मात्र यात्रु राख्नुपर्ने तथा भाडादर पनि ५० प्रतिशतसम्म बढी लिन पाइने मापदण्ड बनाएको थियो ।

तर, व्यवसायीहरूले हवाई क्षेत्रमा पूर्ण सिट राख्न पाउने, तर बसमा किन नपाउने भन्दै विरोध जनाएपछि सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गत सोमबारबाट आधा सिट मात्र यात्रु राख्ने प्रावधान हटाएको थियो । तर, व्यवसायीले सिटभरि यात्रु राख्न थालिसके पनि ५० प्रतिशत थप गरिएको भाडा घटाएका छैनन् । सरकारको निर्णय भएको एक साता बितिसक्दा पनि बस व्यवसायीहरूले सिटभरि यात्रु राखेर थप ५० प्रतिशत भाडा लिइरहेका छन् ।

यातायात विभागबाट भाडाको विषयमा कुनै निर्णय नआएकाले सरकारको निर्देशनअनुसार नै भाडा लिइरहेको अध्यक्ष कर्माचार्य बताउँछन् । उनी भन्छन्, ‘हामीलाई विभागबाट कुनै पनि लिखित जानकारी आएको छैन । सम्बन्धित ठाउँबाट जानकारी नभएसम्म यात्रु पनि आधा राखेका छौँ, भाडा पनि ५० प्रतिशत बढी लिएका छौँ ।’ कर्माचार्यले आधा यात्रु राखेको दाबी गरे पनि गत २७ असोजदेखि नै सिटभरि यात्रु राखेर सवारीसाधन चलिरहेका छन् । यस विषयमा विभागका निर्देशक लोकनाथ भुसाललाई जिज्ञासा राख्दा उनी भन्छन्, ‘मन्त्रिपरिषद्बाट निर्णय भएको थाहा छ, लिखित जानकारी नआईकन केही गर्न सकिँदैन, सायद सोमबारसम्ममा आउन सक्छ ।’